प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

काठमाडौं । शनिबार दिउँसो टुँडीखेलमा आयोजित सोनाम ल्होछार मनाउने कार्यक्रममा तामाङ भेषभुषा झल्कने टोपी लगाएर माओवादी नेताहरु प्रचण्ड, मोहन वैद्य र डा. बाबुराम भट्टराई तीनैजना मञ्चमा देखिए ।
कार्यक्रममा माओवादी नेता वैद्यले सांस्कृतिक पर्वको महत्वबारे चर्चा गर्नुबाहेक खासै राजनीतिक भाषण गरेनन् । केही पछाडि बोलेका डा. बाबुराम भट्टराईले चाँहि प्रधानमन्त्री प्रचण्डको नाम लिएरै भने-‘प्रधानमन्त्रीज्युलाई दबाव परेको जस्तो छ, एकथरिले संविधान संशोधन प्रस्ताव थन्क्याएर चुनावको मिति घोषणा गर्नुपर्छ भनिरहेका छन्, अर्काथरिले संविधान संशोधन नगरी चुनाव घोषणा गर्न पाइन्न भनिरहेका छन् ।’
नयाँ शक्तिका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले यसरी दुईखाले कुरा गरेर मुलुकलाई बन्धकमा राख्न नहुने बताए । उनले भने- ‘यसरी चल्नेवाला छैन, नेपाललाई यसरी बन्धक बनाएर राख्न पाइँदैन ।’
‘दायाँ रडि्कँदा पनि खुकुरी, बाँया पनि खुकुरी’
प्रधानमन्त्री प्रचण्डले चाँहि आफू दोधारमा भन्दा पनि खुकुरीकै धारमा रहेको औंल्याए । प्रधानमन्त्रीले ल्होछारको शुभकामना दिने क्रममा टुँडीखेलबाट भने- ‘अघि बाबुरामले भनेको जस्तो अप्ठ्याराहरु छन् । सजिलो छैन । थोरै दायाँ रडि्कँदा पनि खुकुरीको धार, बाँया पनि खुकुरीको धार छ ।’
तर, यस्तो खुकुरीको धारलाई सामना गरिने प्रधानमन्त्रीले बताए । उनले भने- ‘नेपालमा एकात्मकताको अन्त्य र संघीयताको स्थापना, समावेशी समानुपातिकको स्थापनाको नेतृत्व गर्ने हामी हौं, यी सबै चुनौती सामना गरिनेछ ।’
प्रधानमन्त्री प्रचण्डले भने- ‘संविधान कार्यान्वयनमा जटिलता छन्, त्यहाँ अवसर पनि हुन्छ । र, मैले भन्दै आएको छु कि मधेस पहाड, हिमाल मिलेर जानुपर्छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रमा सबैले अपेक्षा गरे अनुसार अधिकार प्राप्त भएको छैन भन्दै प्रधानमन्त्री प्रचण्डले अगाडि थपे- ‘मैले संविधानको स्वीकार्यता बढाउन संशोधनको प्रक्रिया अघि बढाएको छु र परिर्माजनका क्रममा तामाङ समुदायको अधिकार बढाउने विश्वास दिलाउन चाहन्छु ।’
उनले भने- ‘संविधानमा सीमा र कमजोरी छ । तर, गतिशील दस्तावेजका रुपमा परिमार्जन गर्दै जाने हो । र, यो दोस्रो संशोधनले स्वीकार्यता बढाउने र चुनावमा जाँदा सिंगो देश चुनावमा जाने विश्वास छ ।’ @ अनलाइनखबर |
………….
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने सोनाम ल्होछार पर्वको अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको प्रशंसा गरेका छन् ।
सरकारको सफलताका लागि कुलमानले गरेको कामको प्रशंसा गर्दै प्रचण्डले भने, ‘म प्रधानमन्त्री बन्ने बित्तिकै उहाँ (कुलमान) लाई विद्युत प्राधिकरणको प्रमुख बनाएकोमा गर्व अनुभूति गरेको छु, उहाँले सरकारको इच्छा अनुसार देशमा लोडसेडिङको अन्त्य गर्ने अभियानलाई सफल बनाउनु भएको छ ।’
प्रचण्डले आफू प्रधानमन्त्री हुनु अगाडिबाटै कुलमानलाई जिम्मेवारी दिने विषयमा सोचिरहेको समेत खुलासा गरे । ‘म दोस्रो पटक प्रधामन्त्री भएको समयमा देशलाई लोडसेडिङ मुक्त बनाउन सरकार सफल भएको छ, यसका लागि इमान्दारिताका साथ काम गर्ने कुलमानलाई मैले दुई वर्ष अघिदेखि नै हेर्दै आएको थिएँ ।’
प्रधानमन्त्री प्रचण्डले देश बहुजाति, बहुसांस्कृति र विविधताले भरिएको भन्ने कुरा सबैलाई थाहा भएको बताउर्दै संघीय गणतान्त्रिक नेपालमा सबैले अधिकार पाउने विश्वास व्यक्त गरे।
‘पछिल्लो चरणमा पुरानो राज्यद्वारा उत्पीडनमा पारिएका जाति, समुदाय, वर्ग, लिंग सबैको पहिचान स्थपित गरेर संघीय गणतान्त्रिक नेपालमा आइपुगेका छौँ,’ प्रचण्डले भने, ‘तर, पनि अपेक्षा गरे अनुसारको अधिकार सबैले पाएका छैनन्, संविधान संशोधनका क्रममा तामाङ जातिको अधिकार राज्यका सबै तहमा स्थापित गर्ने विश्वास दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति झल्कने तामाङ भवनका लागि सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेर आवश्यक रकम निकासा गर्ने आश्वासन समेत दिएका छन् । ‘तपाईंहरुले अपेक्षा गरेभन्दा राम्रो सहयोग सरकारले गर्ने कुरा घोषणा गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो भवन तामाङ संस्कृति झल्कने गरी निर्माण हुनेछ ।’ @ अन्नपूर्णपोस्ट |
(फोटो: कुमार ब्लोनको फेसबुक मार्फत)