ग्याल्बो ल्होसार र तामाङ समाज

माघ शुक्ल प्रतिपदामा मनाइने सोनाम ल्होछार तामाङ समुदायमा महान् एकता एवं तामाङ पहिचानको महान् पर्वको रुपमा विकास भइरहेको अवस्था छ । ल्होछारको कारणले तामाङ समाजमा आज ठूलो साँस्कृतिक जागरण पैदा भएको छ । आफ्नो जाति, संस्कृति र सभ्यतामाथि गर्व सुरु भएको छ ।
तर अहिले आएर केही तामाङ लामा गुरुहरु ग्याल्बो ल्होसार मनाउनुपर्छ भनेर लागेको देखिन्छ । ती लामा गुरुहरु तिब्बती लामा गुरुहरुबाटै दिक्षित हुनुभएको छ । किनकि ग्याल्बो ल्होसार तिब्बतमा युद्धपछि १३ औं शताब्दीमा त्यहाँको तत्कालीन दरबार, सम्भ्रान्त बर्ग र लामा गुरुहरुले मान्ने पर्वको रुपमा विकास भएको थियो । त्यस अर्थमा ग्याल्बो ल्होछारको हामी सम्मान गर्छौ । तर तामाङ समाजको विश्वास र उसको प्राचिन सभ्यता अनुसारको ल्होछार यो होइन । हामीले तिब्बतबाट धर्म सिक्नुको अर्थ यो होइन कि हामीले तिब्बती संस्कृति नै अपनाउनु पर्दछ । हामीले आफ्नो समुदायको संस्कृति, सभ्यता, विश्वास र पहिचान (अस्तित्व) बचाएर मात्र धर्मलाई अगाडि बढाउनु पर्दछ । हाम्रो हजारौं बर्ष पुरानो अलग भाषा, संस्कृति, सभ्यता, मान्यता र विश्वास छ । ताम्बा, बोन्बो र लामा सभ्यता मिलेर तामाङ समाज बनेको हो । यी तीनै सभ्यता अन्ततः ल्हो परम्पराबाटै चल्दछन् । हाम्रो आफ्नो विशिष्ट पहिचान र मौलिकता छ । त्यसलाई बचाएर मात्र हामी तामाङ भएर गर्वका साथ बाँच्न सक्छौ । आज भइरहेको पहिचानको सङ्घर्ष यसैका लागि हो ।
मञ्जुश्री सम्वतमा आधारित तामाङ पात्रोबारे ः
ग्याल्बो ल्होसार मान्नुपर्छ भन्ने लामा गुरुहरुले सोनाम ल्होछारको पात्रो नभएको तर्क गरेका छन् । पहिलो कुरा, पात्रो भनेको आ–आफ्नो सम्वत् अनुसार बन्ने बनाउने कुरा हो । कुनै चाड पर्वका आधारमा पात्रो बन्दैन । दशैं तिहारका आधारमा विक्रम सम्वत्को पात्रो बनेको होइन । विक्रम सम्वत् मान्नेले त्यही अनुसार बैशाख, नेवा सम्वत् मान्नेले त्यही अनुसार कात्तिक–असोज, इस्वी सम्वत् मान्नेले पुषको बीचबाट पात्रो बनाउँदछन् । पात्रो भनेको आफ्नो सम्वत्को विश्वास अनुसार पहिलो महिना र पहिलो दिनलाई आधार मानेर बर्षभरिको तिथि मिति मिलाउने कुरा हो । त्यसकारण देश र समाज पिच्छे दुनियाँमा अलग अलग पात्रो बनेका छन् । तर त्यसको मुख्य आधार चन्द्रमा र सूर्यको गति नै हो । पात्रोको कारणले तिथि अर्थात औशी÷पूर्णिमामा भिन्नता आउँदैन । किनकि चन्द्र र सूर्यको गति कसैको पात्रोको कारणले बदलिने होइन । बरु त्यसैको गतिका आधारमा तिथि तय हुने हो । पात्रोका कारण सम्वत् अनुसार मितिमा मात्र भिन्नता आउने हो, तिथिमा भिन्नता हुने होइन । अतः पात्रोको कारणले तिथि अर्थात औशी पूर्णिमामा भिन्नता नआउने भएपछि पात्रोको अड्को थाप्नुको कुनै अर्थ हुँदैन ।
दोस्रो कुरा, मञ्जुश्री सम्वत् अनुसार नेपाल तामाङ घेदुङ, बुद्धिष्ट टिचिङ एण्ड मेडिटेसन सेन्टरका खेन्पो धर्म गुरु तथा ज्योतिषाचार्य सोनाम ग्युर्मे, ज्योतिषशाास्त्रका अन्वेशक अजितमान तामाङ, लामा गुरु स्व. धर्मराज तामाङद्वारा सम्पादित सोनाम ल्होछारको पात्रो बर्षौदेखि विभिन्न संघ÷संस्थाले प्रकाशन गर्दै आएको कुरा पनि सर्वविदितै छ । यसैगरी लाखौं तामाङहरु बसोबास गर्दै आएको छिमेकी मुलुक भारतका प्रतिनिधिमुलक संस्थाहरु अखिल भातरीय तामाङ बौद्ध संघ र सिक्किम तामाङ बौद्ध संघले पनि सोनाम ल्होछारको आधारमा पात्रोहरु प्रकाशन गर्दै आएको छ । तर त्यसलाई पात्रो नमान्ने र अरुको पात्रोलाई तामाङको पात्रो भनेर भन्नु आफैंमा भ्रम पाल्नु मात्र हो ।
तेस्रो कुरा, ग्याल्बो ल्होसारको पात्रो छ भन्ने जुन कुरा छ, त्यो सही होइन । ग्याल्बो ल्होसारको कुनै छुट्टै पात्रो छैन, त्यो त तिब्बती पात्रो हो । तिब्बती पात्रोलाई ग्याल्बो ल्होसारको पात्रो भन्नु आफैमा एउटा भ्रम मात्र हो । सो कुरा ग्याल्बो ल्होसारको कुरा गर्ने लामा गुरुहरुले अहिले स्वीकार गरिसक्नु पनि भएको छ ।
चौथो कुरा, २१४४ कुन र कसको सम्वत् हो ? त्यसबारे पनि हामी प्रष्ट हुन जरुरी छ । सम्वत्को रुपमा लामा गुरुहरुले चलाइरहेको सम्वत् २१४४ तिब्बतको तत्कालीन कालचक्र तन्त्रपछिको पहिलो राजाको सम्वत् हो । त्यसबेला (इ.पु. १२७ बर्ष अघि) तिब्बतका राजा न्याठी छेन्पो थिए । तिनैको पालादेखि यो परम्परा सुरु भएकोले २१४४ लाई सम्वत्को रुपमा लिइँदै आएको हो । यथार्थमा त्यही सम्वत् अनुसार तिब्बती पात्रो बनेको हो । यो कुरालाई पनि उहाँहरुले स्वीकार गरिसक्नुभएको छ । तिब्बतका राजा र तिब्बती संस्कृति र सभ्यतासँग तामाङ समुदाय र सभ्यताको के साइनो छ ? अर्थात हामीले के आधारमा २१४४ लाई हाम्रो सम्वत् भनेर मान्नुपर्ने हो ? त्यो कुरा प्रष्ट हुन आवश्यक छ । बरु बुद्ध सम्वत् भनेको भए छलफलको विषय हुन सक्दथ्यो । हामी ग्याल्बो ल्होसारको विरोधी होइनौ, तर तामाङ समाजमा ग्याल्बो ल्होसारको कुरा गर्दा हाम्रो भिन्न पहिचान, मौलिक संस्कृति, आदिवासीपन र अस्तित्व ब्यक्त हुन्छ कि हुँदैन ? मुख्य कुरा यही हो । त्यसतर्फ सबैले सोच्नु आवश्यक छ ।
पाँचौ कुरा, केही मान्छेले बुद्ध जन्मेको २५०० बर्ष चानचुन मात्र भयो ? तर कसरी २८५३ सम्वत् हुन्छ ? भन्ने गरेको पनि सुन्न पाईन्छ । यो अहिलेको शाक्यमुनि बुद्धको कुरा मात्र हो । लामा बुद्ध धर्ममा यो भन्दा अघि नै हजारौ बुद्धहरु थिए भन्ने कथा पढ्न पाइन्छ । त्यो भन्दा पनि मुख्य कुरा बुद्ध धर्मको विकास हुनुभन्दा पहिले तामाङ समाज थियो कि थिएन ? भन्ने कुरा हो । बुद्ध धर्मको विकास हुनुभन्दा पहिले नै तामाङ समाजको विकास भएको कुरामा सम्भवतः कसैको पनि दुईमत हुन सक्दैन । बुद्धधर्मको विकासभन्दा धेरै पहिले तामाङ समाजको संस्कृति, सभ्यता र मान्यताको विकास भएको हो । त्यसकारण आज हाम्रो समाजमा ताम्बा र बोन्बोहरु पनि अभिन्न अंगको रुपमा रही आएको छ । ल्हो परम्परा हाम्रो समाजलाई चलाउने समाजिक संस्कृति थियो । हाम्रो समाज त्यही संस्कृतिबाट हजारौं बर्षदेखि परिचालित भएको कुरा आज पनि ल्हो र खामको गणना कुनाकुनाका गाउँ बस्तीहरुमा पनि हाम्रो समाजमा हुनुले पुष्टि गर्छ । अतः बुद्धधर्मपछि मात्र ल्होछार मानेको कुरा गर्नु आफ्नो समाजको प्राचीन संस्कृति र सभ्यतालाई नबुझ्नु मात्र हो ।
हामीले बुद्ध धर्म मान्नुको अर्थ आफ्नो मौलिक संस्कृति, सभ्यता र अस्तित्वलाई बचाएर हो, त्यसको अस्तित्व नामेट गरेर होइन र महायान बौद्ध धर्मले सिकाएको पनि त्यही हो । हाम्रा पुर्खाले विकास गरेको हजारौ बर्षदेखिको आफ्नै बिशिष्ट भाषा छ, संस्कृति छ, मान्यता र विश्वास छ । यसलाई भुलेर तिब्बती पात्रो र तिब्बती सम्वत्लाई हामी आफ्नो समुदायमा लागू गर्न सक्दैनौ । हाम्रो सङ्घर्ष केवल हिन्दूकरणका विरुद्ध मात्र होइन, हाम्रो संस्कृति र सभ्यतामाथि अतिक्रमण गर्ने सबैखाले सोच र साम्राज्यका विरुद्ध हो । यसले तामाङ जातिको पहिचान, तामाङ संस्कृति तथा सभ्यतामाथि नै प्रश्नचिन्ह खडा गर्छ भन्ने कुरा भुल्नु हुँदैन । अतः यो आफैमा आफ्नै मौलिक तामाङ अस्तित्व र पहिचानका विरुद्ध हुन्छ ।
त्यतिमात्रै होइन, स्थापित भइसकेको सोनाम ल्होछारको ठाउँमा अब आएर ग्याल्बो ल्होसार भन्नु भनेको हाम्रो समाजलाई फुटाउने, तामाङ संस्कृतिलाई स्थापित हुन नदिने र अन्ततः समाजलाई पहिचान विहीन बनाउने नै हो । यसबाट तामाङ समाज सतर्क हुन जरुरी छ । बिगार्न, भत्काउन सजिलै हुन्छ तर बनाउन र स्थापित गर्न सजिलो हुँदैन । यसलाई स्थापित गर्न तामाङ समाजका हजारौ अगुवा र अभियन्ताहरुले दुई दशकभन्दा बढी समय त्याग गर्नुभएको छ । यसको अवमूल्यन गरेर हामीले केही जित्दैनौ ।
(नेपाल तामाङ घेदुङद्वारा सोनाम ल्होछार–२८५१ ल्हुक ल्होको अवसरमा प्रकाशित ल्हो परम्परा र ल्होछार मान्ने तरिका पुस्तिकाबाट)