नेपाल परिवार दलको जिल्ला कार्यसमिति नै नयाँ शक्तिमा

भैरहवा – ‘अबको निकास आर्थिक विकास, सम्भव छ सम्बृद्धि हाम्रै पालामा’ भन्ने मूल नारा लिएर अगाडि बढेको नयाँ शक्ति पार्टीमा धु्रवीकरणको लहर तीव्र रुपमा बढिरहेको छ । शनिबार रुपन्देहीको भैरहवामा भएको पार्टी प्रवेश कार्यक्रममा सिंगो पार्टीको जिल्ला कार्यसमितिसहित सयौं क्रियाशील नेता कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
नयाँ शक्ति जिल्ला परिषद् रुपन्देहीले आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा रुपन्देहीमा रहेर सक्रिय राजनीति गरेका नेपाल परिवारदलका जिल्ला कार्यसमितिका पदाधिकारीसहित नयाँ शक्ति पार्टीमा प्रवेश गरेका हुन् । त्यस्तै बहुजन समाजवादी पार्टीका पूर्व अञ्चल संयोजक किस्मत वि.क. जिल्ला उपाध्यक्ष, संघीय समाजवादी, नेकपा मसाल, नेपाली कांग्रेस, अखण्ड पार्टी, माओवादी केन्द्रका सदस्य गरी करिब ४०० जना नेता कार्यकर्ता नयाँशक्तिमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अबको समय आर्थिक क्रान्तिको समय भएकोले मुलुकलाई जातीय, वर्गीय, क्षेत्रीय सबै प्रकारको भेदभावबाट मुक्त गरी आर्थिक समृद्धितिर लैजानुपर्ने बताउनुभएको छ । ‘हामी सबै प्रकारका जातीय, वर्गीय, हिमाली, मधेशी र पहाडी भनेर गरिने सबै भेद्भाव अन्त्य गर्छांै’ उहाँले भन्नुभयो –‘यस प्रकारको उत्पीडनको अन्त्य नहुँदासम्म देशमा आर्थिक विकास र समृद्धि हासिल हुन सक्दैन ।’
नेपाली जनताले परिवर्तन खोजेकोले वैज्ञानिक विचारको शक्ति देशमा खाँचो भएको र परनिर्भरताले नेपालीको इज्जत नहुने बताउँदै डा. भट्टराईले नेपालीको पहिचान बचाउन नयाँ शक्ति पार्टी अगाडि बढेको हुँदा जनताले अब नयाँ शक्ति पार्टीलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिलाई व्यवसायिक पेशा बनाएर ६÷६ महिनामा सरकार परिवर्तन गरी दलहरुले देशलाई दुर्घटनातिर धकेली आपसमा झगडाको वातावरण सिर्जना हुँदा छिमेकीले हेप्ने प्रवृत्ति हाबी भएको भन्दै त्यस्तो कार्यलाई रोक्न नयाँ शक्तिले प्रत्यक्ष कार्यकारी प्रमुख चुन्नको लागि हस्ताक्षर अभियान चालाउन थालेको बताउनुभयो ।
संयोजक भट्टराईले नयाँ शक्तिले सरकारको नेतृत्व गरेका दलहरुलाई १ वर्ष भित्रै तीन तहका चुनाव गर्न दवाव दिने र सो निर्वाचनबाट नयाँ शक्तिलाई पहिलो पार्टी बनाउने कार्यमा लागेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बहुजन समाजवादीका अञ्चल संयोजक किस्मत विकले देशका ठूला विभिन्न पार्टीको पंक्तिमा रहेर राजनीति गरेर नेता बनाउँदा सत्तामा पुगेपछि आफूहरुको बेवास्ता गरेकोले संविधान सभाको चुनावमा आफूहरुले नेपाल परिवार दल नामको पार्टी खोली चुनावमा भाग लिएको र लुम्बिनी अञ्चलमा मात्रै १७ हजार मतदाता रहेको पार्टी अहिले नयाँ शक्तिमा प्रवेश गरेको बताए । ‘पार्टीले पसिना बगाए आफूहरु रगत बगाउन पनि पछाडी नहट्ने छैनौ’ संयोजक विकले भन्नुभयो ।
समयको मागअनुसार देशको विकास गर्नमा नयाँ शक्ति लागेकोले आफूहरुले पूरै जिल्लाको पार्टी कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेको नेपाल परिवार दल रुपन्देहीका अध्यक्ष गणेशमान बरालले बताउनुभयो ।
मजदुरहरुको हकहितका लागि नयाँ शक्तिले मुख्य एजेण्डा बनाएको र आफूलाई त्यसको सह संयोजकको जिम्मेवारी दिएकाले नयाँ शक्तिमा प्रवेश गरेको नेपाल एम्बुलेन्स महासंघका महासचिव मुक्ति काफ्लेले बताउनुभयो ।
पार्टीलाई संगठित गरी एकताबद्ध बनाएर अघि बढ्ने र आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन सबै कार्यकर्ता लाग्नु पर्ने नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले बताउनुभयो । सोही अवसरमा बहुलजन समाजवादीकी महिला नेतृ दुर्गा विक, नयाँ शक्तिको ५ नम्बर प्रदेश संयोजक दान बहादुर चौधरी, जिल्ला संयोजक देवेन्द्र पाण्डे, केन्द्रीय परिषद् सदस्य ओम प्रकाश विक, यज्ञ पोखरेल, सुन्दर हरिजन लगायतले मन्तव्य राख्नुभएको थियो ।