तामाङ घेदुङले काठमाडौमा विविध कार्यक्रम सहित एकहप्ता सम्म ल्होछार मनाउने

काठमाडाैं । तामाङहरूको महान चाड सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङले एक हप्ते कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार राजधानीको रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी अायोजक घेदुङका महासचिव बाबु घिसिङले एक हप्तामा साहित्यिक, सांस्कृतिक लगायत तामाङ पहिचान झल्काउने विविध कार्यक्रम हुने जानकारी दिए ।
बाँदर वर्षको विदाइ र चरा वर्षको स्वगतको अवसरमा यसपटक ल्होछार महोत्सव भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने घेदुङ प्रचार प्रसार समितिका संयोजक जगत दोङले बताए ।
यसपटक ल्होछार मुल समारोह समितिले ‘तामाङ भाषा, धर्म र संस्कृित प्रवर्द्धनका लागि सोनाम ल्होछार-२८५३ घरघरमा मनाअाैं, ताम्सालिङसहितको संविधान संशोधनका लागि गाउँगाउँबाट जनदबाव सिर्जना गराैं’ भन्ने नारा तय गरेको छ ।
१४ गते तामाङ पत्रकार र विद्यार्थीबिच मैत्रिपुर्ण फुटबल, सेलो नृत्यु प्रतियोगिता र टुँडिखेलमा ल्होछार इभ आयोजना गरिनेछ ।
ल्होछारको मुख्य दिन १५ गते बृहत सांस्कृतिक झाँकीसहितको र्याली, प्रधानमन्त्रीद्धारा मुलसमारोह कार्यक्रमको उद्घाटन तथा महोत्सव गरिनेछ । यस्तै १६ गते ख्याति प्राप्त कलाकारहरुबाट सांगेतिक प्रस्तुति, खाना, भेषभुषा तथा मौलिक संस्कृति झल्कने वस्तुको प्रदर्शनी गर्ने तयारी गरिएको मुल समारोह समितीले जनाएको छ । त्यसअघि कविता प्रतियोगिता, ल्होछार सम्बन्धि र ताम्सालिङ आन्दोलनका विषयमा अन्तरकृया तथा गोष्ठिहरु सन्चालन गरिने आयोजकले जनाएको छ ।
प्रत्येक वर्ष एक एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ल्हो अथवा वर्ग फेरिनुलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । यो वर्ष बाँदर वर्गलाई विदाइ गरी चरा वा ज्या वर्गलाई स्वागत गरिँदैछ । तामाङ समुदायलाई हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सरकाले २०५१ सालदेखि सार्वजानिक विदा दिदै आएको छ । यो वर्ष सोनाम ल्होछार माघ १५ गते पर्दछ ।
पत्रकार सम्मेलन ल्होछार मुल समारोहका सह-संयोजक वीरबहादुर योञ्जनको सभापतित्वमा सम्पन्न भएको थियो । @ एभेरेष्टटाइमन्यूज