हुण्डी कारोबार रोक्न चेतनामुलक कार्यक्रम

नेपाली दूतावास युएईले रेमिट्यान्सको सदुपयोग र हुण्डीको कारोबार रोक्न चेतनामुलक कार्यक्रम गर्ने भएको छ । माघ ७ गते शुक्रबार रसअलखेमामा रहेको म्यानग्रोभ होटलमा कार्यक्रम गर्न लागेको दूतावासले जनाएको छ । युएईमा कार्यरत कामदारले नेपाल पैसा पठाउने र त्यो पैसा कसरी सही ठाउँमा प्रयोग गर्न लगाउन सकिन्छ भन्ने बिषयमा पनि कार्यक्रममा छलफल हुनेछ ।
त्यस्तै त्यसरी पठाउने पैसा अवैध रुपमा आर्थिक कारोबार हुण्डी मार्फत गर्ने क्रम बढेको भन्ने विषयलाई पनि कार्यक्रममा समेटिने छ । हुण्डीमार्फत कारोबार गर्दा हुने बेफाइदाका बारेमा चर्चा हुने दूतावासले जनाएको छ । हुण्डी कारोबार हुँदा देशको अर्थतन्त्रमा नकरात्मक असर पर्ने भन्दै सरोकारवाला निकायले नेपाली दूतावास सँग चासो देखाएका छन् ।
दूतावासले गर्न लागेका यो कार्यक्रमका लागि आवश्यक तयारी गर्न दुतावासले यहाँ रहेका नेपाली बैंकका प्रतिनिधिसँग समेत छलफल गरिसकेको छ । बैंकका प्रतिनिधिहरुले पछिल्लो समय हुण्डी कारोबार बढेको र यसलाई रोक्न दूतावासले नेपाल राष्ट्र बैंकसँग समन्वय गरी विशेष कार्ययोजना ल्याउन पर्ने सुझाव दिएका छन् ।
त्यसैगरी रोजगारीमा आएका नेपालीले पठाउने पैसा अनावश्यक रुपमा खर्च हुने क्रम बढेको र कामदार नेपाल फर्कंदा रित्तो हात हुनुपरेको भन्दै सचेत गराउन पनि कार्यक्रम गर्न लागिएको उज्जयालोअनलाइनमा समाचार छ |