जनताका घरघरमा पुग्दैछ नयाँ शक्ति

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालले देशभर संगठन विस्तारको अभियानलाई तीव्रता दिएको छ । गत मंसिरको पहिलो साता ललितपुरको धोवीघाटमा बसेको केन्द्रीय कार्यकारी समितिको बैठकले पार्टीको सांगठनिक विस्तारको लागि ‘घरघरमा नयाँ शक्ति अभियान २०७३’ संचालन गर्ने निर्णय गरेको थियो । कार्यकारी समितिको सोही निर्णयलाई कार्यान्वयन गर्दै नयाँ शक्तिले माघ महिनाभर आफ्ना एजेण्डा लिएर जनताका प्रत्येक घरमा पुग्नेछ ।
विदेशदेखि देशको कुना काप्चा एवं दूर दराजसम्म पुगेर नयाँ शक्तिको एजेण्डा, नीति तथा कार्यक्रमबारे जनतालाई सुसुचित गराउने लक्ष्यसँगै नयाँ शक्तिले आक्रमक रुपमा संगठन विस्तारलाई अघि बढाएको छ । अहिले जारी रहेको घरघरमा नयाँ शक्ति अभियानलाई सफल बनाउन भन्दै नयाँ शक्तिले पुस महिनाभर आन्तरिक तयारी गरेको छ ।
‘हामीले पुस महिनाभर आन्तरिक तयारीहरु सक्यौं, अब माघ १ गतेबाट केन्द्रदेखि स्थानीयतह हुँदै जनताका प्रत्येक घरमा पुगेर नयाँ शक्तिको बारेमा जनतालाई बुझाउनेछौं’ पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बताउनुभयो ।
पुस महिनाभर आन्तरिक तयारीमा लागेको नयाँ शक्तिले अहिलेसम्म देशका ७५ वटै जिल्ला र ३० गैरभौगोलिक जिल्ला गरी १०५ जिल्ला संगठनहरु र २६ देशहरुमा पार्टीले संगठन विस्तार गरिसकेको पार्टीको संगठन विभाग पौडेलले जानकारी दिनुभयो ।
आन्तरिक तयारीको क्रममा सबै प्रदेश, जिल्ला कमिटीका बैठकहरु सकेर १ गतेदेखि पर्चासहित हरेक घरघरमा पुगेर जानकारी गराउने र जनताबाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रमुखको आवश्यकताको बारेमा जनतालाई सुसूचित गर्ने योजना नयाँ शक्तिले बनाएको छ ।
त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि जनदबाब सिर्जना गर्न देशभरबाट १० लाख हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई बुझाउने पौडेलले जानकारी दिनुभयो ।
नयाँ शक्तिले संविधान कार्यान्वयनसँगै मुलुकलाई अगाडि बढाउन समृद्धि–उन्मुख शैली, संस्कार, सोंच र दृष्टिकोणसहितको नयाँ राजनीतिक संगठन बनाउनु पर्ने आवश्यकता महशुस गरेर स्थानीय तहबाटै पार्टीलाई सुसंगठित गर्ने उद्देश्यका साथ संगठन विस्तारकेन्द्रीत अभियान सुरु गर्न लागेको हो ।
नयाँ शक्तिले यो अवधिमा पार्टीको कूल सदस्य संख्या बढाएर तीन लाख पुर्याउने लक्ष्य निर्धारण गरेको छ । देशमा आसन्न स्थानीय निकाय निर्वाचनलाई मध्यनजर गर्दै नगरपालिका/गाँउपालिकाकेन्द्रित निर्वाचनमुखी कार्यक्रम, जनपरिचालन, राजनीतिक मोर्चा निर्माण र शक्ति सन्तुलनमा हस्तक्षेप बढाउँदै निर्वाचनमा पार्टीको राजनीतिक प्रभावकारिता बढाउन रणनीति बनाएर कार्यान्वयनमा जाने नयाँ शक्तिको योजना रहेको छ ।
त्यसैगरी महंगीले आक्रान्त जनतालाई सहुलियत दिन रासनकार्डको ब्यवस्थाको माग गर्ने, विकराल बन्दै गइरहेको बेरोजगारी समस्याको विरुद्ध युवाहरुको नेतृत्वमा सशक्त देशव्यापी आन्दोलन सिर्जना गर्ने र भ्रष्टाचारमा शून्य सहनशिलतासहितको सेवा प्रवाहमा सुधारका भ्रष्टाचारविरुद्ध जनता परिचालन गर्ने अभियानहरू केन्द्र, जिल्ला र स्थानीय तहमा संचालन गर्ने जनाएको छ ।
सरकारी सेवा क्षेत्रलाई जनमैत्री र समृद्धि उन्मुख बनाउन युवाहरूलाई सरकारी सेवामा आकर्षित गर्न र रोजगारीका अवसरहरू सृजना गर्न माग गर्ने तथा
भूकम्प, बाढीपहिरो, डुवानकटान जस्ता विपत्तिहरूबाट प्रभावितहरूलाई सरकारले छिटो र प्रभावकारी राहत, पुनःस्थापना र पुनःनिर्माण/नवनिर्माणको व्यवस्था गर्न जनदबाबमूलक अभियान संचालन गर्ने जनाएको छ ।