बौद्ध स्तुपाको कथा,लोसार र बोनधर्म – लामा थुप्तेन योन्जन तामाङ

– लामा थुप्तेन योन्जन तामाङ
पूर्व जन्मकी अप्सरा ज्याजिमाले धर्मसकेपछि साधारण कूलमा जन्म लिइन्। उनी कुखुरा व्यापारी थिइन् । उनकी ४ जना श्रीमान थिए । चारै जना घोडा व्यापारी , सुंगुर ब्यापारी , कुकुर ब्यापारी र कुखुरा ब्यापारी थिए। ति श्रीमानबाट प्रत्येकको १-१ जना छोराहरू जन्मिए । घोडा व्यापारीबाट ताजेब, सुंगुर व्यापारीबाट फजेबु, कुकुर व्यापारीबाट खिजेबु र कुखुरा व्यापारीबाट ज्याजेबु आदि यी चारै जना छोराहरू धर्ममा निकै मन गर्ने भएकाले एउटा विशाल छ्योर्तेन (स्तुपा) निर्माण गर्ने निर्णय गरे ।
जसको लागि आवश्यक जमिन ज्याजिमाले राजासंग उपलब्ध गराई दिन बिम्ती गरे । अनि राजाले स्तुपा बनाउनु त धेरै जमिन चाहिन्छ होला भनेर दिन अस्विकार गरे। तर पनि ज्याजिमाले एउटा गोरुको छाला भरिको जमिन चाहिएको भनी बिम्ती गरे | अनि गोरुकोको छाला भरी त रहेछ भनि राजाले जमिन दिन बोली वचन द्वारा स्वीकार गरे। पछि ज्याजिमाले चलाखी पुर्बक ती गोरुको छालालाई छेउबाट डोरी जस्तै गरि नचुट्टै काटेर लामो बनाए । अनि त्यो गोरुको छालाको डोरी तन्काएर जति सम्म भ्याउछ त्यतिसम्म जमिनलाई घेरा लाउनु भयो । त्यो देखेर राजाले गोरुको छाला भरी भनेको होइन ? यो त धेरै ठुलो जमिन भयो भनी सोध्यो। ज्याजिमाले यो गोरुको छाला भरी त होनि भनी भन्नू भयो। त्यसपछि राजाले आफ्नो मुखबाट हुन्छ भन्ने वचन फुत्केकोले अस्विकार गर्न सकेन । त्यसैले मुख फुत्केको वचन “खास्योर” भनेर नाम बसेको हो । खा भनेको मुख र स्योर भनेको फुत्केको हो । झ्या भनेको कुखुरा पालन गर्ने ब्यापारी ज्याजिमा थिए । त्यसैले झ्यारुङ खास्योर भनेर बौद्ध स्तुपाको नाम राखिएको कथन छ।
त्यसपछि हात्ती, घोडा र गधालाई माटो, ढुङ्गा, ईंटा बोकाएर स्तुपा निर्माण सुरु गरिन्। करिब ४ वर्षपछि ४ तल्ला सम्मको निर्माण भएपछि ज्याजिमाको देहान्त भयो । अरु ३ वर्षसम्म निरन्तर प्रयास गरेपछि ४ जना छोराहरूले ७ वर्षपछि बौद्ध स्तुपाको निर्माण पूरा गरे।
यस बौद्ध स्तुपामा सांगे, हुइसुमा शाक्य बुद्धको रिङसल र थुप्रै जिन्लबहरू सुङमा हाली राख्ने गर्दा हजार बुद्ध र स्वर्गका देवताहरू लामाको रूपमा आएको विश्वास गरिन्छ। राब्नेले गर्दा स्वर्गबाट बोधिसत्वको किरण सुङमा पसेको र आकाशमा पनि बाजा बजेको थियो भनिन्छ। बोधिसत्वको शक्तिहरू यस स्तुपाको सुरूङमा पसेकोले यसलाई (सांङ्गे थाम्जे दुइवे छ्योर्तेन्) भन्ने गरिन्छ।
बौद्ध स्तुपाको निर्माणपछि ताजेबुले अर्को जन्ममा धर्म प्रचार गर्न उत्तर दिशाको राजा हुन पाउँ भनि प्रार्थना गरेकाले ती पछि तिब्बतको राजा ठिचेन देबजन भए । फजेबुले पनि अर्को जुनीमा धर्म प्रचारकै लागि विद्वान लामा हुन पाऊँ भनी प्रार्थना गरेकोले पछि तिब्बतमा खेन्पो बोधिसत्वको रूपमा जन्म लिए।
खिजेबुले धर्म नष्ट गर्ने राक्षसहरूको दमन गरी धर्म रक्षाको लागि अर्को जुनीमा फूलको थुङ्गाबाट जन्म होस् भनि प्रार्थना गरेकाले उर्नेनयुल (कास्मिर) काे दक्षिण–पश्चिम कुनाको कुख्या दु्धकुण्डमा कमलको फूलमाथि असार दशमीको दिन गुरु रिन्पोछेको रूपमा अवतर लिए। उत्तरमा धर्म रक्षाको लागि मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि ज्याजेवुले प्रार्थना गरेकोले भामिटिसी मन्त्रीको रूपमा तिब्बतमा जन्म भयो । तर सबैले आ–आफ्नै लागि मात्र प्रार्थना गरेको तर ईँटा, माटो र ढुङ्गा बोक्ने पशुहरूको बारे प्रार्थना नगरेकाले पशुहरू रिसाएर ताजेबु (ठिचेन देचन)ले धर्म प्रचार गरेको देशमा धर्म नष्ट गर्न राक्षसको रूपमा जन्म होस् भनि हात्तीले प्रार्थना गरेकाले तिब्बतमा लाङ धर्मको रूपमा तिब्बतका राजा भए । त्यसै गरी गधाले पनि धर्म नष्ट गर्न मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि प्रार्थना गरेकाले अर्को जन्ममा दुईलोन मस्यात थोम्वेको नामले मन्त्रीको रूपमा तिब्बतमा जन्म भयो।
ती पशुहरूको प्रार्थना अचानक कागले सुनेकोले पवित्र धर्म नष्ट गर्ने राजालाई मारी धर्म जोगाउन मन्त्रीको रूपमा जन्म हुन सकुँ भनि बौद्ध स्तुपामा प्रार्थना गरेकोले तिब्बतमा मन्त्रीकै भाइ लालाङ पाल्दोरको रूपमा जन्म भयो। साथै उक्त धर्मको नास गर्ने राक्षसहरूलाई दमन गरी धर्म रक्षाको लागि पशु गोठालाहरूले प्रार्थना गरेकोले तिब्बतमा छ्योलेन गोही पेमाचेनको जन्म भयो। त्यसै गरी छोङपुर च्यान र सरमे दुई जना बाहुनले धर्म भएको देशमा धार्मिक पुस्तक लेख्नको लागि स्तुपामा प्रार्थना गरेकाले कावापाल्चेक र लुईग्याल्छेनको रूपमा जन्म भई भगवान बुद्धका हजारौं उपदेशरुलाई अनुवाद गरि उनीहरूले काङग्युर लेखे । साथै पुस्तक लेखि धर्म प्रचारमा सहयोग गर्न पाऊँ भनि नेपालका दुई राजकुमारीले प्रार्थना गरेकाले तिब्बतमा देनमा चेमाङ र लेजिक ङिमाको जन्म भएर धेरै पुस्तकहरू लेखे।
यसै क्रममा तिब्बतको तत्कालीन धर्म राजा ठिचेन देवचेनले हामीले पूर्व जन्ममा कुन र के संस्कार गरेकाले धर्म प्रचार गर्न पायौं भनि गुरु रिन्पोछेलाई प्रश्न गर्दा त्यसको व्याख्या र उत्तर दिंदा ज्यारुङ खस्योरको नामदार बनेको कुरा मानी कम्बु छ्योईमा उल्लेख गरिएको छ।
भगवान शाक्यमुनि बुद्ध निर्माण हुनु भएको केही वर्षपछि निर्माण भएको यस बौद्ध स्तुपा संसारकै सबैभन्दा ठूलो छ्योर्तेन हो । यहाँ हरेक १२ वर्षमा छ्योर्तेनको गुम्बामा पानी भरिन्छ। त्यहाँ हजारौं तोला सुनको जलप लगार्ईएको छ । १८ औं शताब्दीको अन्त्यमा चीन सरकारले विशेष लामाको नियुक्ति गरि बौद्ध छ्योर्तेनको रेखदेख, पूजापाठ र सुरक्षाको व्यवस्था गरेका थिए। उनै लामाका सन्तानलाई अझै चिनियाँ लामा भन्ने गरिन्छ। छ्योर्तेनको गुठी र छ्योर्तेन् उनै लामाको नेतृत्वमा सञ्चालन गर्दै आईरहेको छ।
राप्ने (प्राणप्रतिष्ठा) गर्दा स्वर्गबाट बोधिसत्वको किरण सुङमा पसेको र आकाशमा पनि बाजा बजेको थियो भनिन्छ। त्यसैकारणले यो स्तूपालाई साङ्गे थाम्जे दुइवे छ्योर्तेन् पनि भनिन्छ। तामाङ वंशावली अन्तर्गत ती चार दाजुभाई योन्जन, घिसिङ, वल र मोक्तान थरका तामाङ (पूर्खा) थिए। त्यसकारण तामाङहरूको मुख्य धार्मिक तिमाल जात्रा (पितृश्रद्धा पूजा) र प्रमुख तिर्थहरू नमोःबुद्ध, बौद्ध, नागार्जुन र स्वयम्भू पर्दछन्। अहिले पनि हामी तामाङले बौद्ध स्तुपामा लाग्ने तेमाल जात्रा हाम्रै हो भनी दावी गर्दै आईरहेको छ |
यस बौद्ध स्तुपाको कथन अनुसारले पनि हामी तामाङ जातीको चार योन्जन , घिसिङ ,बल र मोक्तान थरका दाजुभाइ नै हाम्रो पुर्खा तिब्बतको धर्मिक राजा र माहयाना बौद्ध धर्म गुरुहरुसंग सम्बन्धित भएको हुनाले हाम्रो पुर्खा हो भनेर बुझ्नुपर्ने हुन्छ। तिब्बतमा गुरु रिन्पोछे जानू भई बुद्ध धर्म फैलाएर पछि पनि ग्याल्पो लोसार मान्नु भएको गुरु रिन्पोछेको कथामा बुझ्न सक्न्नु हुनेछ। त्यसैले हामी तामाङ जातिले ग्याल्पो लोसार मान्नु पर्ने देखिन्छ।
जब तिब्बतमा ती पशुहरुले सबै धर्म नष्ट गर्न सकु भनेर प्रार्थना गरेकोले कुसंस्कार गर्ने धर्महरु फैलिएको थिए। र त्यसले बौद्ध धर्म फैलिनु दिएन। र त्यति बेला बोन धर्म पनि थियो। बोन पनि दुई थरीका कार बोन र नाकबोन थियो। कार बोन भनेको सेतो बोन र नाकबोन भनेको कालो बोन हुन। र जो सेतो बोन चाहिँ बौद्ध धर्मसंग मिल्थे र नाक बोन चाहिँ त्यसको बिपरित थिए । नाक बोनले बौद्ध धर्म फैलिनु नदिने, काट मार गरेर भोक चढाउने, खुन मासु खाने, र सबै शास्त्र हरु उल्टो पढ्ने, ङा उल्टो बजाउने यस्ता प्रकारका धर्म थिए ।
त्यसैले त्यो बौद्ध धर्म बिपरित भएकोले गुरु रिन्पोछे तिब्बतको राजाको अनुरोधमा तिब्बत जानु भई जो कर बोन धर्म थियो त्यसलाई अप्नाए र जो नक बोनले गर्ने कुधर्म लाई हटाइएर ती सबैलाई बौद्ध सुधर्ममा लगाउनु भयो । नमान्नेलाई भस्मा गर्नु भयो। त्यसै देखि बौद्ध धर्ममा ङा रोल्मो बजाउने चलन बसेको कथन छ।
हामी बौद्धधर्मले ङा (ढ्याङ्रो) बजाउदा अगाडी बाट बजाउने गर्छ भने जो नक बोन थियो तिब्बतमा त्यो पुरै नाश नभएकोले नै अहिले आएर हाम्रो समाजमा बोन्पो भनेर प्रख्यात हुनु आयो । उनीहरुले पढ्दा वा ङा ढ्याङ्रो बजाउदा अहिले पनि उल्टो नै बजाउछ र ङा बजाउने गजा (लठ्ठी) पनि उल्टोले नै बजाउछ | याद गर्नु होला ।
तिब्बतमा बौद्ध धर्मबाहेक अरु धर्महरु थिए | उनीहरुको कुधर्म गर्ने राक्षस रुपि थियो। गुरु रिन्पोछेले ती सबैलाई आफ्नो अधीनमा बनाउनु भयो। तिनीहरु सबैले अहिले हाम्रो धर्म रक्षा गर्नुहुन्छ। वहाँहरुलाई धर्मपाला (सुङ्मा) भनेर भनिन्छ। वहाँहरुले खुन,मासु मुटु खाने भएकोले र हाम्रो धर्ममा प्राणी बलि गरि खुन मासु मुटु चढाउने नभएकोले गर्दा खुन मासुको रुपमा चम्पाको सानो सानो तोर्म बनाई रातो रङ्ग लगाई हाम्रो प्रत्येक पुजा आजामा चढाउने गरिन्छ । खुनको रुपमा चियाको रङ , छ्याङ, रम , बियर, कोककोला र विभिन्न गेडा गुडीहरु चढाउने चलन छ।
त्यसैले अहिले पनि हाम्रो गाउँ घरमा दुख बिमारहुँदा बोन्पोहरुले मन्छाउनुको लागि विभिन्न प्राणीहरुको बलि दिने गर्छ। त्यो नै अधर्म र कुसंस्कार हो। त्यो सबै नरक जाने बाटो मात्रै हो । त्यसैले हामी बौद्ध धर्म भएपछि त्यस्ता अधर्मलाई त्याग्नु पर्छ। अनि मात्रै हामी बौद्ध भन्नू मिल्छ। दु:खु लाग्दो कुरा हाम्रो तामाङ जाती फेरि त्यही अधर्मको बाटो लाग्दैछ। बोन हाम्रो धर्म हो भन्दैछ। अब भन्नुहोस हामीले बोन धर्म मान्नु पर्छ कि छोडनुपर्छ ?