घेदुङको संयोजकत्वमा सोनाम ल्होछार भब्यताको साथ मनाउने तयारी

-सन्चु ब्लोन तामाङ
याम्बु – तामाङ समुदायले २८५३ औं सोनाम ज्या÷नामे ल्होछार काठमाडौंमा भब्यरुपमा मनाउने तयारी गरेका छन् । सोनाम ल्होछार मुल समारोह समितीको आइतबार बसेको बैठकले माघ ७ गते देखि १६ गते सम्म विभिन्न कार्यक्रम गरी ल्होछार भब्य बनाउने र तामाङहरुको सांस्कृतिक तथा राजनैतिक अधिकार प्राप्तिको आन्दोलनमा जोड दिदै मनाउने कार्यक्रम तय गरेको हो । ‘तामाङ भाषा, धर्म र संस्कृति प्रवद्र्धनका लागि सोनाम ल्होछार २८५३ घरघरमा मनाउ, ताम्सालिङसहितको संविधान संशोधनका लागि गाउँगाँबाट जनदबाब सिर्जना गरौं’ भन्ने नारा तय गर्दै नेपाल तामाङ घेदुङको संयोजकत्वमा बनेको एक सय भन्दा बढि संघसंस्थाहरुको ल्होछार मुल समारोह समितीको पुतलीसडकमा बसेको बैठकले काठमाडौंमा बृहत झाँकिसहितको र्याली, ल्होछार सांस्कृतिक महोत्सव, ताम्सालिङ तथा ल्होछारका बारेमा रहेका भ्रमहरु चिर्न अन्तरकृया, खेलकुद, कविता प्रतियोगितालगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
कार्यक्रमहरुमा माघ ७ गते पत्रकार सम्मेलन, ८ गतेदेखि ११ गते सम्म ब्याडमिन्टन प्रतियोगिता, ११ गते ताम्सालिङको विषयमा अन्तरकृया तथा विद्यार्थी घेदुङको चियापान, १२ गते तामाङ कविता प्रतियोगिता र १३ गते ल्होछारको विषयमा गोष्ठि कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै माघ १४ गते टुँडिखेलमा तामाङ सेलो नृत्य प्रतियोगिता, टुँडिखेल, बौद्ध, स्वयंभुलगायत स्थानहरुमा ल्होछार इभ मनाउने, मुख्य ल्होछारको दिन माघ १५ गते काठमाडौको शान्तिबाटिकाबाट बृहत सांस्कृतिक झाँकिसहितको र्याली, त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा मुल समारोह कार्यक्रम टुँडिखेलमा हुने र विविध सास्कृतिक प्रस्तुतिहरु पस्कने कार्यक्रम तय भएको घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिनुभयो । यस्तै १६ गते टुँडिखेलमै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति एव सांस्कृतिक महोत्सव हुने मुल समारोह समितले जनाएको छ ।
कार्यक्रम ब्यवस्थित बनाउन विभिन्न १० वटा उपसमितीहरु पनि गठन गरिएको छ । प्रचारप्रसार, झाँकि तथा र्याली ब्यवस्थापन, स्वयसेवक परिचालन, खेल तथा कविता प्रतियोगिता, मन्च ब्यवस्थापनलगायतका १० वटा उपसमिती बनाइको हो ।