युवतीलाई श्रीमान भन्दा कुकुर प्यारो लागेपछि…

भारतको बेंगलुरु घर भएकी एक युवतीले आफ्नो प्यारो कुकुरका लागि हुनेवाला श्रीमानलाई समेत त्यागेकी छिन् । करिश्मा वालिया गुडगाँवमा डेलोइट इन्डिया नामक कम्पनीमा काम गर्छिन् र उनको बिहा दिल्लीमा बस्ने एक धनी परिवारको छोरोसँग हुने तय भएको थियो ।
उनी आफ्नो कुकुर लुसीलाई विवाहपछि पनि सँगै राख्न चाहन्थिन् । तर हुनेवाला श्रीमानले कुकुर राख्न नचाहेपछि करिश्माले ऊसँग विवाह गर्न इन्कार गरिन् ।
अहिले करिश्माकी आमाले उनलाई सम्झाइबुझाइ गरिरहेको भएपनि करिश्मा आफ्नो अडानमा कायम छिन् । एउटा कुकुरका लागि विवाह नै तोड्ने काम ठीक होइन भनी उनका परिवारले मनोवैज्ञानिक दबाब दिइरहेका छन् ।
उता हुनेवाला दुलाहा पनि करिश्मालाई यो निर्णयमाथि पुनर्विचार गर्न लगाइरहेका छन् । करिश्माले आफू र हुनेवाला श्रीमानबीच ह्वाट्सएपमा भएको कुराकानी समेत सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
बिहापछि करीयर छोडेर घरधन्धामा लाग्नुपर्ने भनी केटोले बताएको करिश्माको दाबी छ । बिहा गरेपछि महिलाको स्वतन्त्रता खोस्न खोज्ने यस्तो पुरुष प्रवृत्तिको विरोधमा आफू उत्रेको करिश्मा बताउँछिन् । उनको यो कदमलाई युवावर्गले प्रशंसा गरिरहेको छ ।