यस्तो छ – मोबाइलबाटै नेपाली राहदानी फाराम भर्ने तरिका

काठमाडौँ – नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ ।
चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ ।
सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले त्यस्तो व्यवस्था गरेको हो । सूचना प्रविधिको उपयोग गर्दै विभागले विकास गरेको ‘मोबाइल एप्स नेपाल पासपोर्ट’ सेवाको आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले शुभारम्भ गरे ।
राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र भने सेवाग्राहीले भौतिकरुपमा विभागमा उपलब्ध गराउने बाहेकका सुविधा एप्स प्रयोगकर्ताले पाउने छन् । राहदानी लिन चाहनेले ती दस्ताबेजबाहेक अन्य सबै काम एप्सबाटै गर्न र हेर्न सक्नेछन् । राहदानीका निम्ति प्रत्यक्ष दर्ता प्रणालीमा जानुपूर्व सेवाग्राहीले त्यसो गर्नुपर्नेछ ।
एप्स प्रणालीको उपयोग गर्दा कम्प्युटरबाटमात्र आवेदन फाराम भर्न सकिने र फाराम अनिवार्य छाप्नुपर्ने व्यवस्थामा सुधार आउने छ भने रितपूर्वक फाराम भरी पठाएमा सेवाग्राहीले मोबाइलमा नै बारकोड प्राप्त गर्नेछन् ।
उक्त बारकोड लिएर सेवाग्राही राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र लिएर विभागमा राहदानी बनाउन जानसक्नेछन् । पहिलो चरणमा विभागले एप्सबाट आवेदनको व्यवस्था दोहा, रियाद, जेद्धा, आबुधाबी, लन्डन, कुवेत, वासिङ्टन डिसी, न्युयोर्क र हङकङस्थित नेपाली नियोग र कन्सुलरका साथै विभागमा गरेको छ ।