तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

तामाङअनलाइन – नेपालको विभिन्न राष्ट्रिय चाड पर्वहरु दशैं, तिहार, छट, साकेला, लोसार , ल्होछार जस्तै तमू (गुरुङ) हरुको महान पर्व ‘ल्होसार’ परम्परागतरुपमा मनाउँदै आईरहेको तमु संस्कृतिमा आधारित पर्व हो। तमु ल्होसार बिशेष गरी नेपाली पात्रोअनुसार पुष १५ का दिन मनाउने चलन छ। तमू भाषामा ल्हो (बर्ग) र सार (नयाँ पालुव फुल्नु/फेर्नु ) भन्ने जनाउँदछ। पुरानो बर्गलाई बिदाई गर्दै नयाँ ल्हो (बर्ग) को आगमनको उपलक्ष्यमा नयाँ बर्षको रुपमा यो चाड मनाईन्छ।
तमूहरुको यस महान चाड ल्होसारको उपलक्ष्यमा तमूहरुले एक अर्काप्रति “आँशिमाला” (शुभकामना) आदानप्रदान गर्ने चलन छ। तमुहरुमा कुन सालमा जन्मेको भन्दा पनि कुन ल्हो हो भन्ने कुरामा उमेरको गन्ति गर्दछ साथै बिबाह, शुभ कामहरुको थालनी गर्दा पनि प्रायजसो ल्हो नै हेराएर गरिन्छ।
ग्रह, राशि, तिथि, नक्षेत्र आदिमा ज्योतिषशाश्त्र आधारित भए जस्तै सांकेतिक रुपमा बाह्र थरिका विभिन्न पशुपन्छीको नाउँबाट नामकरण गरिएको तमू बर्गचक्र (ल्होकोर) मा तमू क्यालेन्डर आधारित छ । १२ बर्षमा एक बर्गचक्र पुरा हुन्छ। १२ ल्होहरु गरुड-गिद्ध (मुप्रील्हो), सर्प (सप्रील्हो), घोडा (तल्हो), भेंडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा (च्यल्हो), कुकुर (खिल्हो), म्रिग (फोल्हो), मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो) र बिरालो (ह्यूल्हो) बर्ग छन्।
तमू क्यालेन्डरअनुसार प्रत्येक बर्ष पौष १५ मा वर्ग परिबर्तन हुन्छ। तमूहरु समूदायमा बस्ने र प्राकृतिक स्वाभावको भएकोले ल्होसार पनि सामुहिक रुपमा मिलेर मनाउँछन्। बिशेष गरि पौष १४, १५ र १६ तिन दिनसम्म समाजघर अथवा कुनै फराकिलो ठाउँमा सामुहिक रुपमा खाना खाने, तमू मौलिक सांस्कृतिक नाँचगान, खेलकूद गर्ने, समाजका मान्यजनहरुबाट आशिर्बाद लिने, समाजका युवाबर्गलाई हौसला बढाउँने साथै समाज र राष्ट्रप्रति योगदान पुर्याउँने व्यक्तिहरुलाई राम्रो कामको प्रसंसा गर्दै सम्मान गरिन्छ।
यस बर्ष तमु जातीको चरा (च्यल्हो) ल्होसार हो | बाँदर (प्रह्ल्हो) बर्षलाई बिदाई गर्दै चरा (च्यल्हो) लाई भव्य स्वागत गर्दै तमु ल्होछार स्वदेश तथा बिदेशमा भव्यताको साथ मनाउने गरिन्छ |
भोलि पौष १५ गते परेको तमु ल्होछारको हार्दिक मंगलमय शुभकामना !