तमु ल्होछारको अवसरमा आठलाई तमू पत्रकारिता पुरस्कार

पुस १४, २०७३- तमु (गुरुङ) सञ्चारकर्मी संघले ‘तमु पत्रकारिता पुरस्कार’बाट कान्तिपुर दैनिकका अनलाईन ब्युरो प्रमुख खिम घले र वरिष्ठ उपसम्पादक गणेश राई पुरस्कृत गरेको छ । घले र राईलाई ‘पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशी जनही २० हजार एक रुपैयाँ रहको छ ।
तमु ल्होछारको अवसरमा संघले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । त्यसैगरी ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’ रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराकी समाचार सम्पादक शान्ति गुरुङलाई ‘लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार’ र ‘कास्की आवाज’ दैनिकका अध्यक्ष सरस्वती गुरुङलाई दिइएको छ । पुरस्कारको राशी जनही दश हजार एक रुपैयाँ रहेको छ ।
त्यस्तै, ‘इलाम’ एफएमका समाचार प्रमुख उमेश गुरुङ र बुटवल एफएमकी उमा गुरुङलाई ‘सुश्री भद्रकुमारी गुरुङ पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । साथै, फोटो पत्रकार नेत्र गुरुङलाई ‘सीआई टेकबहादुर गुरुङ तथा रसकुमारी गुरुङ पत्रकारिता पुरस्कार’ र दि हिमालयन टाइम्सका फोटो सम्पादक राजेश गुरुङलाई ‘तमु पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशी जनही पाँचहजार एक रुपैयाँ रहेको छ ।
राजधानीमा बिहीबार आयोजित समारोहमा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, संघका कार्यवाहक अध्यक्ष रबिन गुरुङ, पूर्वप्रधान सेनापति गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका हुन् । त्यस अवसरमा संघको वार्षिक प्रकाशन ‘गुरुङ न्यूज डटकम’ गुरुङ वर्ष पुस्तक लोकार्पण गरिएको थियो ।