राज्यको असमान शिक्षा नीतिले जातिभेद र वर्गभेद उत्पन्न भइरहेको छ – सत्यमोहन जोशी

पुस १४, २०७३- त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित आजको यो भव्य बयालिसौं दीक्षान्त समारोहमा उपस्थित भई प्रमुख अतिथिको हैसियतले दीक्षन्त मन्तव्य दिने सुअवसर प्रदान गर्नुभएकोमा सर्वप्रथम म त्रिभुवन विश्वविद्यालय परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । प्राज्ञहरुको यो विशिष्ट सभामा मलाई प्रमुख अतिथि बनाइनुलाई मैले नेपाली भाषा, साहित्य र संस्कृति तथा ज्ञान–विज्ञानप्रतिको उचित सम्मान हो भन्ने ठनेको छु ।
विश्वविद्यालयको अध्ययनको समाप्तिपछि आआफ्ना विषयमा सफलतापूर्वक दीक्षित भई बाहिर कार्यक्षेत्रमा प्रवेश गर्न लाग्नुभएका यस दीक्षान्त सभामा एकीकृत हुनुभएका सकल छात्र–छात्राहरुलाई हार्दिक बधाई छ, मंगलमय शुभकामना छ ।
१०४ वर्षको राणा शासनको अन्त भई २००६ सालको प्रजातन्त्रको उदयपछि ज्ञानविज्ञानको मुहान भएको त्रिभुवन विश्वविद्यालयको स्थापनाले नेपालको उच्च शिक्षाको फाँटमा उल्लेखनीय राष्ट्रिय उपलब्धिहरु हासिल गरिआएको लामो इतिहास बनिसकेको छ । आज यो विश्वविद्यालय नेपालको उर्वर भूमिमा वटवृक्षझैं झाँगिएर फैलिँदै बढिरहेको छ र यसको शीतल छहारीमा कैययन विद्यार्थीहरुले ज्ञानआर्जन गर्ने सौभागय पाइरहेका छन् । यसबाट अग्रगामी हाम्रो मुलुकको उन्नति र विकासमा ठूलो टेवा भइरहेको छ ।
वास्तवमा विश्वविद्यालयले ज्ञान–विज्ञान, प्रविधि, कला, साहित्य र संस्कृतिका अनन्त सम्भावनाहरुको खोज र विकासमा औपचारिक जानकारी र सीप प्रदान गरी मानिसको सिर्जनशील प्रतिभवानको विकासमा पनि सहयोग पुर्याउँछ । मानिसभित्र सिर्जनशील प्रतिभाको अनन्त सम्भावना छ । एक किसिमको ज्ञान प्राप्त गरेपछि त्यो त्यहीँ रोकियो भने अर्को किसिमको सिर्जशील प्रतिभाको विकास नहुन पनि सक्छ । त्यो प्रथम प्रतिभाशील ज्ञान प्राप्त गर्ने व्यक्ति कल्पनाशील छ भने त्यो विशेष प्रतिभावान बन्न पनि सक्छ र त्यही सिर्जनशील प्रतिभाबाट अरु नयाँ–नयाँ ज्ञानको प्रस्फुरण भइरहन्छ । अनि त्यसैको प्रयोगद्वारा मानव जातिले आफ्नो देश र शेष विश्वकै लागि पनि विकास कार्यमा योगदान गर्न सक्ने हुन्छ । त्यसो हुनाले हामीले प्रदान गर्ने शिक्षा सामान्य पाठ्यक्रममा मात्र सीमित रहने किसिमको हुनुहुन्न । हाम्रो पाठ्यक्रम वास्तवमा यस्तो हुनुपर्दछ कि त्यो पढेर विद्यार्थीहरु सिर्जनशील प्रतिभावान बन्न प्रेरित होऊन् । वास्तवमा प्रचुर ज्ञान भएका गुरुहरु पनि पढ्ने विद्यार्थीहरुको स्तरमा आर्लेर ज्ञात विषयबाट अज्ञात विषयको ज्ञानतिर पनि विस्तारैविस्तारै लैजान सक्ने हुनुपर्दछ । यसो भएमा भविष्यमा नवज्ञान प्राप्त विद्यार्थीहरु अर्को नयाँ ज्ञानको कल्पना गर्नमा पनि समक्ष हुने छन् ।
प्रचीन समयको गुरुकुल पद्धतिमा गुरु चेलाको प्रत्यक्ष सम्बन्ध हुने गर्दथ्यो । त्यहाँ अध्ययनको निरन्तर आन्तरिक निरीक्षण हुन्थ्यो र परस्पर सहयोगबाट अधययनलाई सबल बनाइन्थ्यो, अनि विद्याको परीक्षण त्यसको जीवनमा प्रत्यक्ष प्रयोगबाट गरिन्थ्यो । तर आजभोलिको शिक्षा पद्धतिमा गुरु–चेलाको प्रत्यक्ष सम्बन्ध र प्रगाढता सधैं सम्भव हुँदैन र विद्युतीय माध्यमबाट पनि अध्ययन–अध्ययापन गराइन्छ ।
आजभोलिको परीक्षा प्रणाली पनि अप्रत्यक्ष र प्रतिस्पर्धात्मक खालको छ । यसले गर्दा नयाँ कुराको खोजी गर्ने र नयाँ ज्ञान प्राप्त गर्ने सिर्जनशील प्रतिभावान् विद्यार्थी पछाडि पनि पर्न सक्छ । त्यस्तो हुनाले अप्रत्यक्ष र प्रतिस्पर्धा बढाउने खालको शिक्षा पद्धतिलाई विस्तारै विस्तारै बदलेर विद्यार्थीहरुले आन्तरिक परीक्षण पद्धतिलाई स्थान दिने कुरो विचारणीय भएको छ । वास्तवमा अद्यावधिक नगरिकन कुनै पनि ज्ञान जीवनमा प्रयोग हुन सक्तैन । ज्ञान भनेको कुरो बुद्धिलिवासका निम्ति मात्र होइन, जीवनमा प्रयोग गर्नका निम्ति पनि हो ।
आज हाम्रो मुलुक गाण्तन्त्र प्राप्तिको युगमा छ । मुलुकले गरेको प्रगतिमा शैक्षिक प्रगति अग्रस्थानमा छ । देशमा झन्डै दर्जन संख्यामा विश्वविद्यालयहरु स्थापना भइसकेका छन् । तैपनि शिक्षाको समान वितरण भने हुन सकेको देखा पर्दैन । चुलीचुलीमा परेका शिक्षाका झुल्काहरु देशका कुनाकाप्चासम्म झर्न सकेका छैनन् । नेपालमा धनी वर्ग र गरिब वर्गका बीचमा सहर र गाउँका बीचमा कति दूर छ भनेर हेर्ने हो भने शिक्षाको पहुँचलाई केलाएर हेरे पुग्छ । सहरिया क्षेत्रका सार्वजनिक शिक्षण संस्थाको अवस्था केही सन्तोषजनक देखिए पनि गाउँ देहातका त्यस्ता शिक्षण संस्थाको अवस्था त्यतिको सन्तोषजनक देखा पर्दैन ।
शिक्षाको घाम सर्वत्र लाग्नुपर्छ भन्ने नारालाई झारा टार्नका निम्ति मात्र शिक्षण संस्था खोलिनु हुँदैन । यहाँ धनी वर्गले आफ्ना सन्तानलाई धेरै लगानी गरेर पढाइरहेका छन् र उत्तम शिक्षा प्राप्त गराएका छन् भने त्यस लगानी गर्नुलाई अनुचित भन्न सकिंदैन तर गरिब वर्गका छोराछोरीले पनि उत्तम शिक्षा प्रप्त गर्ने व्यवस्था हुनुपर्दछ । आज विश्वविद्यालयमा पनि तिनै धनी वर्गका अधिकांश सन्तानले प्रवेश पाउँछन् र गरिब वर्गका भने प्रतिभाशाली सन्तानले पनि अर्थाभावले गर्दा प्रवेश पाउन सकिरहेका छैनन् । यसरी भरभराउँदा फूलहरु पनि विस्तारै ओइलिरहेको जस्तो बनिरहेका छन् । आज शिक्षामा राज्य र व्यक्तिले गरिरहेको लगानी पनि यहाँबाट पलयान हुन उत्तम जनशक्तिले गर्दा त्यसै खेर गइरहेछ । नेपालका विश्वविद्यालयहरुको अध्ययन–अध्यापनको स्तर सन्तोषजनक रहेपनि अझ उत्तम शिक्षा र सीप आर्जन गरेर देश विकासका निम्ति फर्कने प्रतिभाहरुलाई देशभित्रै आकर्षित गर्ने हाम्रो प्रयत्न हुनुपर्दछ ।
शिक्षा आर्जनका निम्ति सम्पूर्ण नेपाली समान हकदार हुँदाहुँदै पनि केही वर्ग र केही क्षेत्रमा शिक्षाको समान वितरण हुन सकेको छैन । राज्यको यही असमान नीतिले गर्दा आज जातिभेद र वर्गभेद उत्पन्न भइरहेको छ । शैक्षिक उन्नति र आर्थिक उन्नति नै आजको पहिलो आवश्यकता हो । यस्तो आवश्यकता पूरा भए भिन्न जात र वर्गका महिला र पुरुष पनि राम्ररी सहजीवन बिताउन सक्दछन् । खालि नाराले मात्र जातीय विषमता हट्दैन । शान्त जीवन बिताउन आर्थिक र शैक्षिक रुपले सम्पन्न हुनै पर्दछ । आज भौतिक प्रतिस्पर्धात्मक जीवन पद्धतिले गर्दा शिक्षा सही रुपले ज्ञानलाई अघि बढाउने र देशको सर्वाङ्गीण विकासका निम्ति प्रयोग हुने किसिमको भइरहेको छैन । यतातिर विश्वविद्यालय र हामी सबैको ध्यान जानु अत्यन्त आवश्यक छ ।
आज हामी भूमण्डलीकरणको युगमा छौं । आज हामीले आफ्नो अस्तित्वमा अडिग रहनुपर्छ र विश्वका राष्ट्रहरुसँग सहअस्तित्वका निम्ति परिचालित पनि हुनुपर्छ– यो हिमाल आफ्नै आधारमा अचल रहेजस्तै र यसबाट नदीहरु अविरल बगे जस्तै । आज विद्युतीय सञ्चार माध्यम र निर्वाध यातायातले गर्दा विश्वका राष्ट्रहरुका शतद्वारा सबैतिर खुलेका छन् । ती शतद्वारबाट प्रवाहित उन्नत राष्ट्रका विस्मयकारी चित्रविचित्र छायाछविले मात्र आछन्न बन्यौं भने हाम्रो आफ्नो स्वतन्त्र राष्ट्रको सौन्दर्य नै हराउनेछ । हामीले आफ्नो देशको विशेषतालाई उद्घाटित गर्न सक्यौं भने विश्वमा हाम्रो स्वतन्त्र छवि प्रकट हुनेछ र आजको उन्नत प्रविधिले उक्त विश्वलाई पनि केही उपहार अर्पित गर्नेछ । विश्वका जुनसुकै देश र समयका उपलब्धिहरु मानव जातिका साझा सम्पत्ति हुन् । तिनलाई खास गरी विश्वविद्यालयहरुले परस्परमा अध्ययन–अनुसन्धानद्वारा विश्वमा प्रवाहित गर्न सक्छन् ।
विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुको मुख्य काम त आफ्नो देशका विशेषताको अध्ययन–अनुसन्धान गरी नयाँ ज्ञान प्राप्त गर्नु नै हो । त्यसैले यस्ता केन्द्रहरु साधन सम्पन्न हुनुपर्दछ । पूर्वको विशेषता भन्नु अध्ययात्मिक दृष्टि हो भने पश्चिमको विशेषता भन्नु वैज्ञानिक दृष्टि हो । हाम्रा विश्वविद्यालयहरुले पश्चिमबाट विज्ञान र प्रविधिको दोहन गर्न सक्नुपर्छ । देशको उन्नतिका निम्ति त्यही देशका प्राकृतिक साधन नै वरदान सावित हुन्छन् । हामीले यहीँका नदीनालाबाट विद्यत् उत्पादन गरेर द्रुत गतिमा देश विकास गर्न सक्दछौं । यसका निम्ति हामीले केही उन्नत प्रविधिको आयात गर्नुपर्दछ । परन्तु हामीले आफ्नै जनजीवनमा प्रयोग भइरहेका प्रविधिभित्रको ज्ञानलाई पहिल्याएर पुन:प्रविधिको विकास गरेर देशका खलाखलामा त्यसलाई अझ उन्नत मात्रामा विकसित गर्न सक्तछौं र विश्वलाई उपहार दिन पनि सक्दछौं ।
हाम्रो देश परम्परादेखि नै विविध जातिहरु मिलेर एक बनेर बसेको देश हो । नेपालीहरु जस्तोसुकै अवाभका अवस्थामा पनि हाँसीखेली गीत गाएरै हिंड्छन् । यहाँ हाम्रो संयुक्त परिवार र समाजमा एकअर्काप्रति सहयोग र सद्भाव विद्यमान छ । यस्तो अनुपम जीवनशैलीलाई लिएर हामी आफ्ना साहित्यद्वारा विश्वलाई उपहार दिन सक्दछौं । हाम्रा वेद, पुराण, बौद्धग्रन्थ, मुन्धुम आदि प्राचीन ग्रन्थ, किम्वदन्ती र जनविश्वासभित्र उत्तम दैवीगुण र उदार दृष्टि लुकेको छ । ती उत्तम मानवीय गुणहरुलाई उद्घाटित गर्न सक्यौं भने हामी विश्वमा अझ सुसंस्कृति जातिको रुपमा परिचित हुन सक्छौं । हामीले आफ्ना प्राचीन संस्कृतिभित्र केही दैवी गुणहरुलाई विश्वमा उद्घाटित गरेर दिन सक्यौं भने विश्वको चिन्तनमै एक आयाम थपिनेछ । आज विस्तारै एक विश्व संस्कृति निर्मित हुँदै गइरहेका बेला नेपालले त्यहाँ आफ्नो संस्कृतिको सौन्दर्य पनि थप्न सक्नेछ र विश्व संस्कृति सुन्दर इन्द्रेणीजस्तो बन्नेछ । बुद्धको देशमा जन्मेका हामीले आफ्ना भावनामा, च्नितनमा र कर्ममा बुद्धलाई प्रवाहित गर्न सक्नुपर्छ । हाम्रा शिक्षण–संस्थाहरु र अरु कार्यक्षेत्रहरु शान्तिक्षेत्र बन्नुपर्छ । संयुक्त राष्ट्रसंघजस्ता विश्व संस्थाको आह्वानमा अशान्त क्षेत्रमा शान्ति स्थापनाका निम्ति हामी सधैं तत्पर रहनुपर्छ । विश्वमा सर्वत्र सदा शान्ति छाइरहोस् हाम्रो यही कामना छ ।
(बरिष्ठ संस्कृतिविद् डा. जोशीले त्रिभुवन विश्वविद्यालयको बयालिसौं दीक्षान्त समारोहमा गरेको सम्बोधनको अंश)