फेसबुकमा ठगको यस्तो जुक्ति, झापालाई बनाए युके

झापा, पुस १२ – बिर्तामोड नगरपालिका–७ निवासी सुष्मा प्रधान राईले माटिन एन्थोनी मार्टलाई फेसबुकमा साथी बनाइन् । उनीहरुको फेसबुकमा गफ भयो । मार्टले आफू युकेमा रहेको बताए ।
साथीको सम्बन्ध समधुर बन्दै गएको र आफूलाई नेपाली नागरिक मन पर्ने भन्दै केही गिफ्ट पठाउने आफ्नो योजना सुनाए मार्टले । त्यही अनुसार मार्टले युकेबाट एप्पलको आइफोन, ल्यापटप र आइप्याड पठाइदिने सुष्मालाई बताए । र बैंकमा पैसा हाल्न लगाए । सुष्माले दुई लाख १९ हजार रुपैयाँ मार्टले भनेअनुसार बैंक खातामा हालिन् । पछि सामान नआएपछि सुष्मा आफू ठगी भएको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी हालेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले आवश्यक अनुसन्धानपछि कनकाई नगरपालिका–१ दुर्गापुर निवासी ३१ वर्षीय बोदप्रसाद पोखरेललाई पक्राउ गरेको छ ।
पक्राउ परेका पोखरेललाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई सोमबार बुझाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो । उहाँका अनुसार मार्टले राईलाई फेसबुकमार्फत एभरेस्ट बैंकमा दुई हजार अमेरिकी डलर जम्मा गर्न लगाएको र त्यो रकम पोखरेलले निकालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मार्टको नाममा झापा बस्ने पोखरेलले नक्कली आइडी बनाएर रकम ठगी गरेको प्रहरीले जनाएको छ । @ रासस