खुकुरी प्रहार गरी श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या

पुस ११ – रुपन्देहीमा हतौडा र खुकुरीले हानेर श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । हतौडा र खुकुरीले हानेर रुद्रपुर २ पिपरी चापा टोलकी २४ वर्षकी शिला बुढाले श्रीमान् २३ वर्षका श्याम बुढाको हत्या गरेकी हुन् । राति १ बजेतिर शिला र श्यामको झगडा हुँदा शिलाले हतौडा र खुकुरीले हानेको स्थानीय बासिन्दाले बताएका छन् ।
श्यामको शरीरमा चोटैचोट लागेको इलाका प्रहरी कार्यालय रुद्रपुरले जानकारी दिएको छ । स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि गम्भीर घाइते भएका श्याम बुढालाई राति साढे २ बजे उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको थियो ।
त्यहाँ उनको उपचारको क्रममा बिहान ज्यान गएको इलाका प्रहरी कार्यालय रुद्धपुरका प्रहरी सहायक निरीक्षक राम बिलास यादवले बताएका छन् ।
श्रीमती शिलाको पनि दुबै हातमा गहिरो चोट लागेकाले प्रहरीको नियन्त्रणमा लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।