श्रीमानको कुटाइले २३ वर्षकी सरिता मोते गम्भीर घाइते

उदयपुुर, पुस १० – श्रीमानको कुटाइले गम्भीर घाइते भएकी भलायडाँडा ३ की २३ वर्षकी सरिता मोतेको उपचार गर्न आर्थिक अभाव भएको छ । नौ दिनअघि श्रीमानको कुटाइबाट घाइते भएकी सरिताको अहिले विराटनगरस्थित लाइफगार्ड अस्पतालमा उपचार भइरहेको छ ।
सरिताका श्रीमान् २५ वर्षका जीवन मोतेले लागूऔषध सेवन गरेर मराणासन्न हुने गरी कुटपिट गरेपछि नौ दिनदेखि उनलाई आइसीयूमा राखेर उपचार गरिरहेको ससुरा होमबहादुरले जानकारी दिनुभयो । ‘९ दिनदेखि विराटनगरको लाइफगार्ड हस्पिटलमा आइसियूमा राखेर उपचार भइरहेको छ’ होमबहादुरले भन्नुभयो, ‘आर्थिक अवस्था नाजुक भएकाले एक कठ्ठा जग्गामा रहेको घरसहित जग्गासमेत ३ लाख रुपैयाँमा बेचेर अहिले बुहारीको उपचार गरिरहेका छौँ ।’ आर्थिक समस्याबारे बुवा होमबहादुरले भन्नुभयो, ‘घरजग्गा सक्दा पनि बुहारीको होस आएको छैन, डाक्टरले अझै पैसा लाग्छ भनेको छ ।’
सरितालाई गएको पुस १ गते बिहान सामान्य विवादमा घरमा कोही नभएको बेला गाँजा खाई लठ्ठिएर दाउराले टाउकोमा हिर्काएको सरिताका आमा हस्तमाया मोतेले बताउनु भयो । ‘आर्थिक अवस्था दयनीय भएकाले घर जग्गा सबै बेच्दा पनि उपचार रकम अभाव भएको छ ।’ दैनिक गाँजा खाने छोराले बुहारी हिर्काएर घाइते बनाउँदा बास बस्ने घरसमेत बेच्नु परेको होमबहादुर दुःखेसो पोख्नु भयो ।
पाँच वर्ष अगाडी विवाह भएकी सरिताको तीन सन्तान छन् । चार महिनाको दुधे बालकलाई छोडेर बुहारीको हेरचाहा गर्नु परेको जीवनकी आमा हस्तमायले बताउनु हुन्छ । ‘उपचारमा कसैले सहयोग गरेर बुहारी बचाउनु पाए नातिनातिना हुर्कने थिए’ रुदै आमा हस्तामायाले भन्नु भयो, ‘छोरालाई पक्राउ गर्न प्रहरीलाई उजुरी दिँदा पनि पक्राउ गरेको छैन ।’ बुहारी बचाएर गाँजा खाने छोरालाई प्रहरीको जिम्मा लगाएर सुर्धान हस्तमायाको मन छ । @ उज्यालो अनलाइन