लोडसेडिङ हटाउने उर्जामन्त्री जनार्दन र कुलमानविरुद्ध लड्न तयार छौंः कर्मचारी युनियन अध्यक्ष

बुटवल, ९ पुस नेपाल विद्युत प्राधिकरणमा राजनीतिक चलखेल भएको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका नेताहरुले बताएका छन् ।
कर्मचारी नेताहरुले उर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरण प्रमुख कुलमान घिसिङको आलोचना गर्दै प्राधिकरणको हरेक विषयलाई लोडसेडिङसँग जोडेर नहेर्न आग्रह गरे ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियन लुम्बिनी क्षेत्रीय समितिले शनिबार बुटवलमा आयोजना गरेको एक कार्यक्रममा सहभागीले हरेक बिषयलाई लोडसेडिङसँग जोडेर हेरिएकोमा आपत्ति जनाए ।
कार्यक्रममा यूनियनका अध्यक्ष रामेश्वर पौडेलले विधि र नीति विपरित भएका कामको विरोध गर्दा आफूहरु तारो भएको बताए । उनले आफूहरुले लोडसेडिङ हटाएकोमा विरोध नगरेको भन्दै नीति र नियममा रहन आग्रह गर्दा मन्त्री र निर्देशकलाई असहयोग गरेको चर्चा चल्लने गरेको भन्दै दुःख व्यक्त गरे ।
उनले माओवादी नेता समेत रहेका शर्माले प्राधिकरणलाई पार्टीकरण गर्न खोजेको भन्दै त्यसका विरुद्ध लड्न तयार रहेको बताए । उनले आफूहरु कुलमानको लोडसेडिङ मुक्त अभियानमा साथ रहेको बताए ।
लोडसेडिङ हटाउने काममा प्राधिकरणका सबैले काम गरेको भन्दै उनले सञ्चारमाध्यममा आएजस्तो मन्त्री र निर्देशकले मात्र गरेको हल्ला मच्चाइएको बताएको समाचार लोकन्तरमा छ |