घेदुङले सम्पूर्ण तामाङहरुको प्रतिनिधित्व गर्न सकेको छैन-अमर तामाङ

अमर तामाङ नेपाल तामाङ सोसाइटी अफ अमेरिका(टिएसए)का नवनिर्वाचित महासचिव हुन् । अमेरिकाको न्युयोर्कमा बसोवास गर्दै अाएका उनी हालै स्वदेश भ्रमणमा अाइपुगेका थिए ।
नेपाल भ्रमण कस्तो रह्यो ?
अमेरिका पुगेपछि पहिलोपटक आफ्नो जन्मभूमि अाउन पाएँ । यो नै सबैभन्दा ठुलो कुरा भयो । दस वर्षपछि पोखरा पुग्दा परिवर्तनहरु भएछन् । विकास भने कमै मात्र भएको रहेछ । पोखराको सुन्दरता हराउँदै गएको रहेछ ।
तपाईंको घर पोखरा, के फरक पाउनुभयो पहिले र अहिले ?
अग्ला घरहरु बढेछन् । शान्त र सफा पोखरामा प्रदुषण बढेछ । यो बाहेक केही परिवर्तन पाइएनँ ।
पोखरादेखि काठमाडौं आइपुग्नु भएर तामाङ सोसाइटी अफ अमेरिका(टिएसए)का विभिन्न कार्यक्रममा पनि सहभागी हुनु भयो, के कस्ता कार्यक्रम भयो ?
टिएसएले तामाङ समुदायका विभिन्न व्यक्तिहरुलाई यसअघि पनि सहयोग गर्दै आएको हो । यसपटक भने आर्थिक अभावमा रहेका प्रतिभावान विद्यार्थी, क्यान्सरपीडित र कानको रोगीलाई सहयोग हस्तान्तरण गरेको छ ।
यसअघि टिएसएले नेपाल घेदुङसँग सहकार्य गरेर घेदुङमार्फत नै सहयोग रकम हस्तान्तरण गर्दथ्यो, यसपटक भने त्यसो भएन नि ?
म नेपालमै रहेको बेला संयोगले यस्तो भएको हो । पहिलेका सहयोग कार्यक्रम कसरी सञ्चालन भए, यो पहिलेको कार्यसमितिको कुरा भयो, यसपटकबाट भने हामीले नेपालमा टिएसएको प्रतिनिधि राखेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौ ।
यसको मतलब घेदुङसँग टिएसएको सहकार्य हुदैन अब ?
हाम्रो बुझाईमा यहाँ घेदुङले सम्पूर्ण तामाङहरुको प्रतिनिधित्व गर्न सकेको छैन । यहाँ आफैभित्र कचिङ्गल उत्पन्न गराएर बसेको संस्थासँग कसरी काम गर्ने । त्यसैले आफ्नै प्रतिनिधि राखेर टिएसएका कार्यक्रम सञ्चालन गर्ने हाम्रो तयारी छ ।
टिएसए तामाङ घेदुङको भातृ संगठन हो नि होइन ?
होइन । यो घेदुङको भातृ संगठन होइन । यो सम्पूर्ण तामाङ शुभेच्छुकहरुको संस्था हो ।
टिएसएले नेपालमा के के कार्यक्रम गर्ने योजना बनाएको छ ?
अहिले टिएसएको पहिलो कार्यसूचीमा तामाङ बुद्धिस्ट कल्चर सेन्टर निर्माण गर्ने छ । अमेरिकामा रहेका तामाङहरु एकै ठाउँमा भेला हुने तामाङ भवन छैन । यसैले टिएसएको मुख्य उद्देश्य नै तामाङ बुद्धिस्ट कल्चर स्थापना गर्नु हो । तामाङ भाषा, संस्कृतिलाई संरक्षण गर्न अभ्यास गराउन यो सेन्टर आवश्यक छ । यो अमेरिकामै हुने भयो ।
अरु दुईवटा विद्यार्थी अक्षय कोष र लोकसेवा तयारी कक्षा सञ्चालनजस्ता कार्यक्रम नेपालमा सञ्चालन गर्ने योजना छ । आर्थिक अभावका कारण पढ्न नसकेकाहरुलाई सहयोग गर्नका लागि अक्षय कोष खडा गरिनेछ । प्रशासनमा तामाङहरुको पहुँच बढाउन र उनीहरुलाई प्रशासनमा आकर्षण गरी प्रवेश गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने योजना छ ।
टिएसएले अमेरिकामा तामाङ समूदायमा केकस्ता कार्य गर्दै आएको छ ?
टिएसएको मुख्य योजना अमेरिकाभर रहेका तामाङहरुसँग नियमित छलफल गर्ने, आफ्नो भाषा र संस्कारलाई संरक्षण गर्ने खालका कार्यक्रमहरु गर्ने योजना छ । त्यसै गरी टिएसएले अमेरिकामा अप्ठेरोमा परेका तामाङ दाजुभाई दिदीबहिनीलाई सहयोग गर्दै आएको छ ।
(एभरेस्ट टाइम्स काठमाडाैं प्रतिनिधिले महासचिव तामाङसँग गरेको कुराकानीको सम्पादित अंश)