युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या,राजनीतिक कारण : युवा संघ

काठमाडौं, ४ पुस । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ । गोली लागेर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातो पल्सर मोटरसाइकलमा आएका अज्ञात समुहले उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्लाको देवदह नगरपालिकामा पर्ने खैरेनीबजारमा उनीमाथि गोली हानिएको हो ।
गोली प्रहार गरी फरार भएकाको खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी बेलबहादु पाण्डेले बताए ।
हत्या पछाडि राजनीतिक कारण : युवा संघ अध्यक्ष पहारी
युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले तिवारीको हत्यामा २ जना संलग्न रहेको सूचना मिलेको जानकारी दिएका छन् । तिवारीलाई गोली प्रहार गर्ने दुई जना मध्ये एक जना मनोज पुन नाम गरेका युवक रहेको पहारीले बताए ।
रुपन्देहीलाई पाँच नं. प्रदेशबाट टुक्राउन लागेको भन्दै एमालेको भातृ संगठन युवा संघ र विद्यार्थी संगठन आन्दोलनरत छन् । रुपन्देहीमा भएको आन्दोलनमा दुूर्गा तिवारी अग्रपंक्तिमा खटिएको हुनाले उनको हत्या पछाडि राजनीतिक कारण हुने दाबी अध्यक्ष पहारीले गरेका छन् ।
अहिले दुर्गा तिवारीको हत्यापछिको परिस्थितीको बारेमा छलफल गर्न युवा संघ नेपाल स्थायी कमिटीको आकस्मिक बैठक बोलाईएको अध्यक्ष पहारीले बताएका छन् ।