संविधान संशोधन नभए नयाँ शक्ति र मधेसी मोर्चा मिलेर संयुक्त आन्दोलन गर्ने तयारी

काठमाडौं । सरकार संविधान संशोधनबाट पछि हटे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नयाँ शक्तिबीच संयुक्त गठनबन्धन बनाएर आन्दोलन गर्ने तयारी गरिएको छ । यसका लागि दुवै शक्तिबीच सहमति भैसकेको नेताहरुले जनाएका छन् ।
सरकारले संसद् सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव तत्काललाई थाती राखेर अघि बढे संयुक्त रुपमा आन्दोलन गर्ने तयारी गरिएको हो । मोर्चाका नेताहरु र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईबीच यसको विरुद्व संयूक्त रुपमा आन्दोलनमा उत्रने सहमति भएको मोर्चामा आबद्व राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए ।
बिहीबार नयाँ शक्तिका नेता केशवमान शाक्यको निवास बबरमहलमा भएको भेटमा भट्टराइले सुरुमै सरकारको पछिल्लो गतिविधिले आफु चिन्तित भएको र संघीयता नै धरापमा पर्न आँटेकोले मोर्चाका नेताहरुलाई भेट्न बोलाएको बताएका थिए ।
“तीन दलबीचको पछिल्लो गतिविधिले संघीयता नै संकटमा पर्ने संकेत पाएकोले तपाइँहरुलाई भेटेको हुँ । संशोधन प्रस्ताव दर्ता गर्ने बेलामा प्रधानमन्त्रीले मसँग सहयोग माग्नुभएको थियो । मैले पनि मधेसीको माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव आए आफूले सहयोग गर्ने वचन दिएको थिएँ,” भट्टराईलाई उद्धृत गर्दै झाले भने, “प्रमुख तीन दलबीचको पछिल्लो क्रियाकलापले संघीयता धरापमा पर्ने हो कि भन्ने चिन्ता लागेको छ । यसकाविरुद्व संयुक्त संघर्ष गरौं ।”
भट्टराईलाई जवाफ दिँदै तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारले औपचारिक रुपमा संशोधन प्रस्ताव फिर्ता लिने निर्णय नगरेको हुँदा अहिले यसको आधिकारिक धारणा बुझ्ने प्रयत्न गरिहेको बताएका थिए । ठाकुरलाइ उद्धृत गर्दै झाले भने, “संशोधन प्रस्ताव तत्काल थाती राख्ने भन्ने कुरा मिडियाबाट मात्र सुनेका छौं । शुक्रबारसम्ममा प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवासँग यसबारेमा औपचारिक धारणा माग्छौं । प्रस्ताव थाती राख्ने तयारी हो भने मधेसमा कुनै पनि हालतमा निवार्चन हुन दिँदैनौं ।”
ठाकुरपछि झाले सरकारसँग अहिलेको संरचनामा जान सहमत भए पनि यसको लागि आफूहरुले दुई ओटा शर्त राखेको बताएका थिए । उनले स्थानीय तह प्रदेश मातहत हुने नीतिगत निर्णय र स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने आफूहरुले प्रधानमन्त्रीलाई अवगत गराएको बताएका थिए ।
साढे दुई घण्टासम्म बसेको बैठकले शनिबारसम्म सरकारको आधिकारिक धारणा बुझी संशोधन प्रस्ताव थाती राखेर सरकार स्थानीय निकायको निर्वाचन गर्न अघि सर्ने हो भने आइतबार संयुक्त विज्ञप्ति निकाल्ने सहमति भएको छ । यसैगरी एकसाताभित्र संघीयता पक्षधरको एक अन्तरक्रिया गर्ने र संयूक्त आन्दोलनमा जाने मौखिक सहमति भएको प्रवक्ता झाले बताए ।
बैठकमा नयाँ शक्तिका तर्फबाट बाबुराम भट्राई, केशव मान शाक्य, पासाङ शेर्पा र केशव दाहाल तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, राजकिशोर यादव, केशव झा, रामसहाय यादव, सन्तोष मेहताल राजीव झा लगायतका नेता थिए । @ बाह्रखरी |