कुन मन्त्रीको सम्पत्ति कति ?

काठमाडौं । सरकार गठन भएको करिब चार महिनापछि प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सरकार बनेको चार महिनापछि सार्वजनिक गरिएको विवरणमा प्रधानमन्त्री दाहालले चितवनमा एक कट्ठा र तीन तोला सुन मात्र रहेको उल्लेख गरेका छन् ।
तर उनले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर सामाजिक सञ्जालमा भने निकै आलोचना भएको छ । दाहाल नेतृत्वमा रहेका अधिकांश सदस्यको सम्पत्ति भने निकै बढी देखिएको छ । विमलेन्द्र निधि, विक्रम पाण्डे, दिपक बोहोरा, बालकृष्ण खाँण, प्रकाशशरण महत लगायतका मन्त्रीको सम्पत्ति बढी देखिएको छ ।
दाहालले उल्लेख गरेको विवरणअनुसार तीन तोला सुन पनि पैत्रिक सम्पत्ति भएको र एक कट्ठा जमिन समेत श्रीमती सिता दाहालको नाममा रहेको उल्लेख गरेका छन् । चितवनमा रहेको उक्त एक कट्ठा जमिन समेत पैत्रिक सम्पत्ति रहेको उल्लेख गरिएको छ । विवरणअनुसार दाहालले हालसम्म कुनै सम्पत्ति आफ्नो नाममा नराखेको देखिएको छ ।
उनले उल्लेख गरेको विवरणमा नगद रकम कतै देखाएका छैनन् भने कुनै बैंकमा खाता समेत छैन ।
उपप्रधानमन्त्री निधिसँग ६० तोला सुन, २९ लाख बैंक ब्यालेन्स
त्यसैगरी उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले तराईमा लगभग २० विघा पैत्रिक सम्पत्ति रहको उल्लेख गरेका छन् । उनले भक्तपुरको कटुन्जेमा अनामिका उपासक निधिका नाममा १२ लाख ५० हजार रुपैयाँमा किनेको एक रोपनी जग्गा, उनकै नाममा कटुन्जेको छुट्टा छुट्टै कित्ता रहेको १३ लाख ५० हजार मुल्यमा किनिएको ६ आना, ६ लाख ८० हजारमा किनेको ३ आना र बकस प्राप्त ४ आना जग्गा रहेको उल्लेख छ । श्रीमतीको नाममा रहेको जग्गा तलब, भत्ता र कृषि आम्दानीबाट जम्मा गरेको किनेको विवरणमा उल्लेख छ ।
त्यसैगरी उनले विभिन्न बैंकमा गरेर २९ लाख ब्यालेन्स दाईजो उपहार र पेवाका रुपमा प्राप्त ६० तोला सुन तथा १ सय ५० तोला चाँदी रहेको उल्लेख गरेका छन् । उनले २०५४ सालमा किनेको ८ लाख रुपैयामा किनेको निशान गाडी पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
अर्थमन्त्री पनि गरिब
अर्थमन्त्री रहेका कृष्णबहादुर महराको सम्पत्ति प्रधानमन्त्री दाहालको जस्तै थोरै रहेको विवरणमा उल्लेख गरिएको छ । उनले भत्ता र तलब बापत आएको एभरेष्ट बैंकमा ८० हजार रुपैयाँ नगद, गृहजिल्ला रोल्पामा ८ रोपनी पाखो जमिन र दुई तले पुरानो घर भएको विवरण उल्लेख गरेका छन् । सरकारले आज केही राज्यमन्त्रीबाहेक सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
कुन मन्त्रीको सम्पत्ति कति?
अर्जुन नरसिहं केसी : मन्त्री शहरी विकास
जग्गा :काठमाडौं गोँगबुमा १५ आना प्रतिमा केसीको र ललितपुरको सैंवुमा प्रतिमाकै नाममा ८ आना २ दाम १ कट्ठा ।
नुवाकोटको विभिन्न ठाउँमा ६० रोपनी ।
सुन : ५० तोला
चाँदी ५ सय २५ तोल
नगद : विभिन्न बैंकमा गरेर १ करोड रुपैयाँभन्दा माथि
गाडी : ३१ लाख ५० हजार रुपैयाँ बराबरको
रमेश लेखक : भौतिक योजना तथा निमार्ण मन्त्री
जग्गा : विभिन्न ठाउँमा गरेर २० रोपनी माथि
सुन : ३० तोला
चाँदी : ५० तोला
नगद : ५ लाख ५० हजार रुपैयाँ
गगन थापा : स्वास्थ्य मन्त्री
जग्गा : विभिन्न ठाउँमा रहेको जग्गा बुबा र आमाको नाममा रहेको उल्लेख गरेका छन् ।
सुन : १६ तोला
चाँदी : २०० तोला
सेयर : दर्जनौं बैंक तथा हाइड्रोमा सेयर रहेको उल्लेख गरेका छन् । थापाले बुबा, आमा र श्रीमतीको नाममा रहेको सम्पत्ति पनि सार्वजनिक गरेका छन् ।
विक्रम पाण्डे : भूमिसुधार तथा व्यवस्था मन्त्री
जग्गा : काठमाडौं, चितवन र नवलपरासीको विभिन्न ठाउँमा करोडौं मुल्य बराबरको २३ कित्ता जग्गा रहेको उल्लेख ।
सुन : १०० तोला
चाँदी : २ केजी
नगद : ३४ लाख ६३ हजार ।
शेयर : बैंक, जलविद्युत कम्पनी, निमार्ण कम्पनी लगायतको लगभग ३० लाख कित्ता ।
कालीका कन्सट्रक्सनका सञ्चालक पाण्डेको विभिन्न बैंक, जलविद्युत कम्पनीको पनि सेयर छ ।
जनार्दन शर्मा :उर्जा मन्त्री
जग्गा : मुसीकोटमा केही पैत्रिक सम्पत्ति
नगद : १० लाख रुपैयाँ
गहना : सुन २ तोला, चाँदी २० तोला ।
सेयर : पिपुल्स हाइड्रो सहकारीको ५ हजार कित्ता ।
शर्माले आफ्नो सेयरमा १० ओटा गाई पालेको र घरमा रहेका ल्यापटपसहितको उपकरणसमेत आफ्नो विवरणमा उल्लेख गरेका छन् ।
सूर्यमान गुरुङ : श्रम तथा रोजगार मन्त्री
जग्गा : काठमाडौंमा १० आना, ताप्लेजुङमा ३१ रोपनी ।
गहना : सुन ७५ तोला, चाँदी २०० तोला र हिरा २ तोला
नगद : १० लाख रुपैयाँ ।
उनले ताप्लेजुङमा रहेको जग्गामा अलैंची खेती गरेको उल्लेख गरेका छन् ।
डा. प्रकाशशरण महत– मन्त्री, परराष्ट्र
घर जग्गाः काठमाडौंमा ७ आना । नुवाकोटमा– ५० रोपनी जग्गा, घर, चपलीमा–२० आना, इलाममा १० रोपनी, झापामा–५ बिघा ४ कट्ठा
नगदः बैंक मौज्दात ५३ लाख बढी
सुनचाँदीः ३० तोला सुन, १२०० तोला चाँदी, हिरामोतीका केही गहना
सवारी : सेन्ट्रो कार
बालकृष्ण खाँण– रक्षा मन्त्री
घरजग्गाः विभिन्न २७ स्थानमा जग्गा, सिराहा, रुपन्देही, काठमाडौं, ललितपुर लगायत
नगदः १० लाख नगद, नेपालका विभिन्न १२ वैंकमा झण्डै ३० लाख
सुनचाँदीः ४० तोला सुन, ६० तोला चाँदी
दीपक बोहोरा– मन्त्री, आपूर्ति
घरजग्गाः काठमाडौंका तीन स्थानमा घरजग्गा, काठमाडौँ र काभ्रेपलाञ्चोकका ४ ठाउँमा जग्गा
नगदः १५ लाख । वैंक मौज्दात १ करोड २० लाख भन्दा बढी
सुनचाँदीः १२० तोला सुन, हिराः तीन सेट, चाँदीः ५०० तोला ।
रोमी गौचन थकाली– मन्त्री, वाणिज्य
घरजग्गाः काठमाडौं, मुस्ताङ ललितपुरका विभिन्न पाँच स्थानमा घर । म्याग्दी र मुस्ताङका विभिन्न ७ स्थानमा जग्गा
नगदः झण्डै ३० लाख
सुनचाँदीः ७० तोला सुन, मुगा २ थान, बहुमूल्य कण्ठी २ थान, हिरा १० थान, चाँदी ७०० तोला