आज किराँत समुदायको उधौली र नेवारहरुको योमरी पुन्ही/पुर्णिमा पर्व

उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले मनाउने पर्व हो । यसलाई साकेला उधौली पर्व पनि भनिन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ। उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।
प्रकृति पुजक किराँत समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । यही उँधो शब्दबाट नै उधौली पर्वको नामाकरण भएको हो ।
यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । यस उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् । उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामले समेत चिनिन्छ ।
उधौली पर्वलाई न्वागी पुजा पनि भनिन्छ। अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पुजा गर्ने गरिन्छ। किराँतभित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल लगायतका जातिहरू पर्ने भएकोले जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आ–आफ्नो तरिकाहरू रहेका छन् । परम्परा अनुसार किराँती धर्मगुरु(नेक्चोल्ङ)ले चुलोको पूजाबाट सुरु गर्ने यस चाडमा धर्मगुरुले साकेला थानमा कुखुराको बलि दिने गर्छन् । सो बलिपछि धर्मगुरुको आदेशबाट साकेला नाच सुरु गरिन्छ । यस पर्वको बेलामा बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रूपमा नाच्ने गर्छन् । सो नाच नेपालका विभिन्न सहरमा खासगरी युवा वर्गमा बढी प्रचलित र लोकप्रीय छ । नेपालबाहिर खासगरी भारतको सिक्किम, इजरायल ,हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामा लगायत विभिन्न देशमा पुगेका किराँतहरुमा यो नाच लोकप्रिय छ ।
यस चाडमा चेली, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ । बर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।
भाषा, संस्कार संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौली चाडको अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्छन् । एकै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आ–आफ्नो संस्कृति झल्काउने पोषाकहरू लगाएर आ–आफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् । लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन्, याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् ।
योमरी पुन्ही वा योमरी पूर्णिमा
योमरी पुन्ही वा योमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत ज्यापु समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी )बनाएर खाने गर्दछन । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ ।
नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसीभैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरि चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि दिन लामो हुने र योमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।
लोककथा
नेवारा समुदायमा योमरी पुन्हीसँग सम्बन्धित एउटा ऐतिहासिक लोककथा प्रचलित छ । पाञ्चाल देशमा सुचन्द्र नाम गरेका महाजन सपरिवार व्यापारकर्म गरी बस्दथे । धनधान्य र सम्मृद्धिका देवता कुबेरलाई ती दम्पतिको परोपकार र दानधर्ममा कत्तिको विश्वास रहेछ भन्ने कुरा बुझ्न मन लागेछ र उनी दुःखी र दरिद्रको भेषमा सुचन्द्रको घरमा परीक्षा लिन गएछन् । घरमा एउटा दिनहीन अवस्थाको दरिद्र मानिसले भिक्षा मागेको देखेर सुचन्द्रकी पत्नीमा दयाभाव पलाएछ र उनले त्यसर भिखारीको स्वागत सत्कार गरी मीठामीठा खानेकुरा दिइछन् र उचित आदरसत्कार र श्रद्धा गरिछन् । सुचन्द्रकी पत्नीले गरेको व्यवहारबाट प्रसन्न भएर कुबेरले उनलाई आफ्नो सक्कली रुपको दर्शन दिए र ज्ञान प्रदान गरी अन्तर्ध्यान भए । कुवेरले प्रदान गरेको सद्बुद्धि र अर्ती अनुसार सुचन्द्रकी पत्नीले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको (योमरी) रोटी बनाएर त्यही रोटीको कुवेर बनाई अन्न राख्ने भकारीभित्र राखिछन् । अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहीं विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन् । अनि अन्न, धन र योमरी दान गरिन् । यसरी कुबेरको आराधना र पूजा गरेकाले त्यसको प्रभावले सुचन्द्रको घरमा धन सम्पत्तिको बृद्धि हुनगई दैनिक आम्दानीमा बढोत्तरी हुनगयो । त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन योमरी बनाएर कुबेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास छ ।
योमरी पुन्हीका दिन विभिन्न मठमन्दिरहरुमा मेला लाग्ने गर्छ । आजको दिन बनेपाको धनेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गर्छ । त्यस्तै बौद्धमार्गीहरु पनि स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा बिहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ ।