नेपाल तामाङ घेदुङको केन्द्रीय कार्यकारिणी समितिको तेश्रो बैठक सम्पन्न:

मंसिर २५ – याम्बु |नेपाल तामाङ घेदुङको राष्ट्रिय कार्यकारिणी समितिको तेस्रोपूर्ण बैठक सम्पन्न भएको छ । अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा भएको बैठकले आगामी पौषदेखि जेष्ठ सम्म (छ महिने)को संगठन विस्तार गर्ने कार्य योजना पारित गरेको छ ।
बैठकले काठमाडौ उपत्यकाका वरिपरि छरिएर रहेका तामाङ समुदाय नउठेसम्म नेपालको समग्र आदिवासी जनजाति पहिचानको आन्दोलन निष्कर्षमा पुग्न नसकिने निष्कर्ष निकालेको छ । घेदुङले पहिलो चरणमा काठमाडौं उपत्यका वरिपरि, दोश्रो चरणमा ताम्सालिङका जिल्लाहरुमा तेश्रो चरणमा अन्य जिल्लाहरुमा तामाङ पहिचानको राजनीतिक, सांस्कृतिक पुनर्जागरणका लागि संगठन निर्माण गर्न पूर्णकालीन तथा अल्पकालिन कार्यकर्ता पचिालन गरी ताम्सालिङको वस्ती वस्तीमा तामाङ जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पूर्णकालिन तथा तथा अल्पकालिन कार्यकर्ता परिचालन कार्यविधि पारित गरी सकेको पनि बैठकमा जानकारी दिइएको छ ।
बैठकले तामाङ लिपी, भाषा, साहित्य विकासको अक्षकोष स्थापना तथा सञ्चालन कार्यविधि पनि तर्जुमा गरेको छ । लिपी, भाषा, साहित्य विकासको अक्षय कोषमा उपाध्यक्ष अजितमान तामाङले रु. ३,००,००० (तीन लाख)को चेक समेत प्रदान गरेको छ । घेदुङका विभिन्न निकायहरु परिचालन गर्न आर्थिक समस्यालाई व्यवस्थापन गर्न एक घेदुङ एक आर्थिक कोष स्थापना गर्ने निर्णय पनि भएको छ ।
त्यसैगरी बैठकले नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यसमितिको तामाङ सांस्कृतिक भवन निर्माण कार्यलाई निष्कर्षमा पु¥याउन अध्यक्ष मोहन गोलेको संयोजकत्वमा बनेको जग्गा व्यवस्थापन समितिलाई कार्य अगाडी बढाउन निर्देश गरेको छ ।
बैठकले तामाङहरुको साँस्कृतिक पर्व २८५३ औं ज्या ल्होछारलाई भव्य ढंगाले सम्पन्न गराउन ल्होछार आउनु हप्तादिन अघि शुभकामना आदानप्रदान, चियापान कार्यक्रम, एकहप्तासम्म घरमा रंगीन बत्ति बाल्ने, ल्होछारको अघिल्लो दिन साँझ चौक, गुम्बामा बत्ति बाल्ने र ल्होछारको अवसरमा ५ दिनको सरकारी बिदाको माग गर्ने जस्ता निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा प्रस्तुत प्रतिवेदन तथा प्रस्तावहरुमाथि विभिन्न केन्द्रीय २९ जना केन्द्रीय सदस्यहरुले आफ्नो सुझाव मुलक धारणा राखेका छन् । प्रवास शाखाबाट केन्द्रीय सदस्य लक्ष्मी योञ्जनले इजरायलबाट स्काइभमार्फत आफ्नो सुझाव राखेका छन् । प्रतिवेदन तथा प्रस्तावहरुमाथि उठेका सुझाव मुलक सवाललाई ठोस बनाउने प्रतिबद्धता सहित अध्यक्ष मोहन गोले, उपाध्यक्ष अजितमान तामाङ र महासचिव बाबु घिसिङले प्रशिक्षण मुलक मन्तव्यले सम्बोधन गरेका छन् ।
बैठकको प्रारम्भमा बरिष्ठ उपाध्यक्ष बेली लामाले सहभागी सवैलाई मन्तव्यद्वारा स्वागत गरेका थिए । बैठकमा केन्द्रीय पदाधिकारी, विभागीय प्रमुखहरु, सचिवालय सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश प्रमुखहरु सहित ६५ जनाभन्दा बढीको सहभागीता रहेको थियो ।