राई भाषाको कविता : हेपा फ्याच्चाम पन्योख्वा,खाम्सि फ्याच्चाम डाडुख्वा…

– गणेश राई, काठमाडौं
मंसिर २४, २०७३- आ: कबिताङ सास्र्वाम बा:म ‘आचुङा रितुम या आब्लाच्चामे, पुर्खाङ रितुम या आमाच्चामे’ (मेरो कविताको शीर्षक छ–
कसैको संस्कृति नभित्र्याऔं, पुर्खाको रीति नभुलौं ।)
आचुङा रितुम या आब्लाच्चामे
पुर्खाङ रितुम या आमाच्चामे
हेपा फ्याच्चाम पन्योख्वा
खाम्सि फ्याच्चाम डाडुख्वा
पुर्खाङ रितुम ज्याच्चाम राडुख्वा
पुर्खाङ रितुम आमाच्चाम
दौरा, सुरुवाल, चौबन्दिल्वा
फ्यार्साक पाच्चाम ताना
राडुख्वा पुर्खाङ रितुम ज्याच्चाम ड्आँमा
पुर्खाङ रितुम आमाच्चाम
कुडुभित्र कुम्सि च्याच्याम्बा च्याच्चाम
खाक्चिलुपा न्वा रिनाखान्वा आन्चि रितुम ज्याच्चाम
खाक्चिलुपाक रितुम पौब्वाल जाउमा या वाच्चाम
डुब्लोल्वा सुरिम खासि या च्वाप्चाम…
(अरु कसैको संस्कृति नभित्र्याऔं
पुर्खाको संस्कार पनि नभुलौं
भात पस्किने पन्यूले
तिहुन पस्किने डाडुले
पुर्खाको संस्कृति सम्हाल्ने किरातीले
पुर्खाको रीति नभुलौं
दौरा, सुरुवाल, चौबन्दीमा
सिएपछि लगाउने तुना
किरातीले पुर्खाको रीति थाम्ने आफैंले
पुर्खाको रीति नभुलौं
घरभित्र अँगेनुमाथि भार झुण्डाऔं
खाक्चिलुपा र रिनाखाले गरेको सस्कार सम्हालौं
खाक्चिलुपाले संस्कार गर्दा जाउमालाई पनि निम्त्याऔं
आँगनमा मुन्धुमी खम्बाहरु गाडौं….)
सम्झमाया राईले वाम्बुले मातृभाषामा कविता वाचन गर्दै गर्दा दर्शक दीर्घाको माहोल स्तभ्ध प्राय: भयो । सम्साँझको बेला गहन सन्देश लिएर माइकमा बुढीमाउ कुर्लिइन् । उदयपुर गाउँकी बुढीपाकीले कविताको भाव मिलाउँदै भनिन्, ‘पुर्खाले छाडेका नासो भाषा र संस्कृतिलाई बिथोल्न कोही नआऊन् । सृष्टिकर्ता अनि मुन्धुम गाउँने पुर्खाहरु खाक्चिलुपा, रिनाखा, जाउमाको सम्मानमा रीति बाँधिराखौं । भाषा र संस्कृति बिथोल्न कोही नआऊ ।’
सन्दर्भ हो– ‘१८औं वाम्बुले राई भाषा कविता गोष्ठी–२०७३’को । ओखलढुंगा सदरमुकाम दक्षिण मानेभन्ज्याङ–७ उदयपुर गाउँ, जहाँ वाम्बुले राईहरुको घना बस्ती छ । यही २०७३ मंसिर २० गते साँझ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको १९औं स्थापना दिवसको अवसर । नेपाल प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेको साहित्यिक गोष्ठीमा साना बालबालिका, किशोर–किशोरी, तरुनी–तन्नेरी, आमा–बाबु, बाजे–बजुहरू कोदो बारीको कान्ला र गह्राहरूमा खचाखच थिए ।
जसै साँझ पर्यो, उसै गाउँबस्तु गोठमा भित्र्याएर कविता सुन्न तम्सिए । किराती गाउँ हो, मुन्धुम अलिखित रुपमै वाचन गर्ने गरिन्छ । बाजे पुस्तादेखि नातिको पालोसम्म उस्तै छ । भन्दै, सुन्दै, सुनाउँदै, गुन्दै, गुनगुनाउँदै गर्ने परम्परा छ । साढे दुई दशकदेखि वाम्बुले भाषा लिखित रुपमा उतारिदै आएको छ ।
संसारबाट दैनिकजसो भाषा लोप हुँदै गएको अवस्थामा मंसिरमा चिसो सिरेटो छल्दै मातृभाषीहरू जुट्ने गरेको १८ वर्ष पुगेको छ । मातृभाषाको मायाले टाढा–टाढा गाउँबस्तीबाट युवा पुस्तालाई तानेकै छ । सबैलाई लाग्छ, पढेलेखेकाले मात्रै अभिव्यक्ति दिन सक्छन् ।
तर, कविताको माहोललाई ‘निख्खुर मौलिक’ बनाउने कामचाहिं उनै ६१ वर्षीया सम्झमायाले बनाइन्, जो मुस्किलले सावाँ अक्षर लेख्न जान्दछिन् । उनी मुन्धुम फलाक्न जान्दछिन् । पितृ पुर्खाहरूप्रति समर्पित छिन् । कविता भावना हो । अभिव्यक्ति प्रत्येक व्यक्तिमा हुन्छ । पढेर भन्दा परेर जानिन्छ भन्ने भनाइको साक्षीचाहिं सम्झमाया मात्रै हुन्, १८औं वर्षको कविता गोष्ठीको माहोलमा । कृषक परिवारमा जन्मे, हुर्के, बढेकी उनी प्रौढ शिक्षा पढेर साक्षर हुन् । उनी स्वास्थ्य स्वयंसेविका हुन् । कविता गोष्ठीमा उनी प्रतियोगी थिइनन् । पुरस्कार भने प्रतियोगीमध्ये पढेका पुस्ताले हात पारे ।
पंक्तिमा एकातर्फ प्रतियोगी र अर्कोतर्फ अप्रतियोगी कविहरू थिए । तीसजना प्रतियोगीको पंक्तिमा ओखलढुंगा थाक्ले–७ का गगन राई (स्नातकोत्तर अध्ययनरत)को ‘ब्अीम्ताल्वा आ द्याल’ (सम्झनामा मेरो गाउँ) शीर्षकको कविता प्रथम भयो । मानेभन्ज्याङ–६ का नमेश राई (स्नातक) दोस्रो, उँबु २ का यमुना राई (कक्षा १२) तेस्रो भए भने मानेभन्ज्याङ–५ का मेनुका राई (कक्षा ११ अध्ययनरत) र बाहुनीडाँडा–७ खोटाङका अम्बिका राई (स्नातक अध्ययनरत)ले सान्त्वना पाए । अप्रतियोगी अज्ञात ऋषि राईको ‘रुद्रेम्पा र उसको हाँसो’ कविता वाचन गर्दा सबैजना भावुक बने । सामान्य किराती पात्रको जीवनको उतारचढावलाई सुन्दर ढंगले प्रस्तुतिले दर्शकको मन छोएको थियो । मातृभाषा बोलेर, व्यवहार गरेमात्रै बाँच्छ ।
पढेलेखेकाहरूले लेख्ने हो, मुन्धुमको चास्नी दिंदै भावना घोलेर । मातृभाषा चाहे बुढापाकाले लेखुन् या तन्नेरी तरुनीले, निचोड एउटै निस्किन्छ– निख्खुर मौलिकताको संरक्षण । परम्पराको निरन्तरता । कविता होस् या निबन्ध, मातृभाषाको संमृद्धि हुनैपर्छ भन्ने सन्देश नेपालको प्रदेश नम्बर–१ प्रस्तावित लिब्जु गाउँपालिकामा भएको गोष्ठीले दिएको छ । सम्झमायाकै शब्दमा, ‘भाषा र संस्कृति बिथोल्न नआऊ ।’