मञ्जु तामाङलाई उपचारका लागि चार लाख आर्थिक सहयोग

मंसिर २४ – कानको बिरामी काभ्रेकी मञ्जुमाया मोक्तान तामाङको उपचारका लागि दक्षिण कोरिया र हङकङबाट संकलित चार लाख १० हजार ४ सय रुपैयाा शुक्रबार हस्तान्तरण गरिएको छ ।
दक्षिण कोरियामा कार्यरत शंख मोक्तानको पहलमा संकलन भएको २ लाख ६५ हजार १ सय ५० रुपैयाा र तामाङ घेदुङ हङकङकी उपाध्यक्ष सुष्मा वाइबाको पहलमा संकलन भएको १ लाख ४५ हजार २ सय ५० रुपैयाा बिरामी मञ्जुमायालाई हस्तान्तरण गरिएको हो । अनामनगरस्थित इन्डिजिनियस टेलिभिजनको कार्यालयमा आयोजित सहयोग हस्तान्तरण समारोहमा तामाङ सञ्चार समूहका अध्यक्ष जगत दोङ, समूहका सल्लाहकार तथा रेडियो नेपालका कार्यक्रम निर्देशक अमरध्वज लामा, हङकङबाट सहयोग संकलन गर्ने कार्यको नेतृत्व गरेकी सुष्मा वाइबाका दाइ गणेश वाइबा, जोल्बा वाइबा लगायतले संयुक्तरुपमा रकम हस्तान्तरण गरेका थिए ।
कानको झिल्लीमा समस्या भएपछि मञ्जु हाल अपरेसनको तयारीमा छिन् । अस्पतालले आगामी पुस ४ गते अपरेसनको समय तोकेको उनको पारिवारिक स्रोतले बताएको छ । चापाखोरी–२, काभ्रेकी २२ वर्षीया मञ्जुको यही समस्याका कारण पढाईसमेत अवरुद्ध हुन पुगेको छ । उनले ११ वर्षदेखि नै यो समस्या भोग्दै आएकी छन् । आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन ।
उपचारका लागि ठूलो रकम लाग्ने भएपछि उनको उपचारार्थ सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चारमाध्यमार्फत् आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । अभियानबाट अहिलेसम्म २३ लाख रुपैयाँ संकलन भईसकेको समाचार इकान्तिपुरमा छ |