हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

वैदेशिक रोजगारीमा जाने कामदार:पाइला पाइलामा ठगिन्छन्

मंसिर २४, २०७३- नवलपरासी, सर्दी-७, बेनीमणीपुरका घनश्याम पौडेललाई सबै कुरा थाहा थियो । म्यानपावरलाई पैसा दिन पर्दैन भन्ने थाहा थियो, ठगिन सक्छ भन्ने पनि थाहा थियो । उनले पाइला पाइलामा प्रश्न उठाए पनि । तर, उनी ठगिए । वैदेशिक रोजगारीमा जानेबारे ज्ञान हुँदाहुँदै पनि पाइला पाइलामा कसरी ठगिन्छ भन्ने उदाहरण बनेका छन्, घनश्याम पौडेल ।

paudel

उनको यात्रा सुरु हुन्छ, काठमाडौंको क्षितिज इम्प्लोइमेन्टबाट । सुरुमा उनले त्यहाँ मागेजति पैसा नदिने अडान लिए । म्यानपावरको कार्यालय पुग्नुअघि नै उनले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पुगेर साउदी अरब जान लाग्ने खर्चबारे जानकारी लिएका थिए । बोर्डले दिएको जानकारीअनुसार १० हजार रुपैयाँभन्दा बढी तिर्नुपर्दैनथ्यो । टिकट र भिसाको पैसा कामदार लैजाने कम्पनीकै दायित्व पर्दथ्यो । अझ बोर्डका कर्मचारीले भनेका थिए, ‘दश हजारभन्दा बढी बुझाउनु भनेको ठगिनु हो ।’ तर, म्यानपावर कम्पनीले घनश्यामसँग एक लाख २० हजार रुपैयाँ माग्यो ।

g1
‘कमाउने इच्छा छ भने जाऊ भाइ । होइन भने तिमी नगए अरु नै छन्’, म्यानपावरवालाले ‘ब्लाकमेल’को शैलीमा भने । म्यानपावर पुर्‍याउने पौडेलकै चिनजानका आफन्त एजेन्ट थिए । उसले पनि होमा हो मिलाए, ‘तिमी आफ्नो भनेर भन्दैछौं । राम्रो तलब र काम भएर भनेको हो । महिनाको ४० हजार हात पर्छ । तिमी ढुक्क भएर जाऊ । सप्लाई कम्पनीमा होइन । डाइरेक्ट कम्पनीमा हो ।’ घनश्यामले बाध्य भएर एक लाख १५ हजार रुपैयाँ बुझाए । तर, रसिद दिने बेला १० हजार रुपैयाँको मात्रै दियो । अझ उनलाई एयरपोर्टमा सोधे भने दश हजार मात्र बुझाएको भनेर भन्न समेत सिकायो ।

g2
….
साउदीको हिजाज गेट इन्टरनेशनल कम्पनीको लागि क्षितिज इम्प्लोइमेन्टले श्रम स्वीकृति निकालेर उनलाई साउदी उठायो । उक्त कम्पनीले वैदेशिक रोजगार विभागबाट ५५ जनाको श्रम स्वीकृति लिएकोमा पौडेल २२ जनाको तेश्रो टोलीमा परे । त्यसअघि दुई लटमा कामदार उडाइसकेको थियो । गत जनवरी ३ मा रियाद विमानस्थलमा उत्रिए । रियाद विमानस्थलमा लिन कम्पनीको तर्फबाट मन्दुक (मिश्री नागरिक) आइपुग्यो ।

मिश्री देख्नेबित्तिकै उनको मन चिसो भयो, ‘हाम्रो कम्पनी पक्कै कामदारलाई सप्लाई गरेर नाफा कमाउने कम्पनी हो । फेरि पनि फसियो ।’ उनी दुबईमा पनि तीन वर्ष सप्लाई कम्पनीमै काम गरेका थिए । तलब नबढेपछि दुबईबाट फर्केका थिए । कम्पनीले दिने कामदारको तलब सप्लाई कम्पनीले लिने र थोरैमात्र आफूहरुलाई दिने कुरा उनलाई थाहा थियो । उनले यस विषयमा काठमाडौंमै पनि सोधेका थिए । उनलाई सप्लाई कम्पनीमा होइन, सिधैं कम्पनीमा काम गर्ने बताइएको थियो ।

विमानस्थलबाट आधा घण्टा गाडी चढेपछि रियादको ‘जदिद सनैया’मा पुगे । सनैयाको अवस्था बिजोग थियो । सडक पीच थिएन । पानी बग्ने ढल थिएन । क्याम्पभित्रको फोहोर पानी आहल बाटोमा जमेको थियो । दुर्गन्ध फैलिएको थियो । नाक थुन्दै उनीहरु क्याम्पमा पुगे । क्याम्प पनि त्यस्तै थियो । एउटै कोठामा ३२ जनाभन्दा बढीलाई राखेको थियो । उनीहरु आफैं बस्ने कोठाको बन्दोबस्ती थिएन । मिश्रीले भान्साकोठा देखाइदिए ।

उनीहरु दिनभर लगाएर भान्साकोठा सफा गरे । बेलुका ब्लाङकेट ल्याइदिए । त्यही सुतें । ‘अहिले तत्काल खानको लागि पैसा दिन्छौं । बाहिर किनेर खाने व्यवस्था गर्नु । खाना पकाउने भाडावर्तन, ग्याँस, सिलिन्डर आफैं किन्नुपर्छ’, मिश्री पैसा दिइराखेर क्याम्पबाट हिँडे । उनीहरुले १० दिनसम्म बाहिरै किनेर खाए ।
………..
घनश्यामले शंका गरेजस्तै भयो । सप्लाई कम्पनी नै परेछ । हिजाज कम्पनीले काम गर्न अलसार्क प्लास्टिक कम्पनीमा पठायो । तलब र सेवा सुविधामा अलसार्क कम्पनीमा काम गर्नेभन्दा धेरै थोरै थियो । नेपालमा म्यानपावरसँग सम्झौता गरेको करार पत्र पनि लागु भएन ।
घनश्यामले ठमेल, काठमाडौंमा अन्र्तवार्ता लिने अबु अब्दुललाई कम्पनीमा गएर भेटे ।
‘सर, आप मिलाथा न काठमाडौंमे ।’
‘हाँ बेटा, मिलाथा न ।’
‘आप ने क्या बोलेथे काठमाडौंमे?,’ घनश्यामले सोधे ।
‘उदर त आप्ने १२ सय रियाल तलब हे, हर दिन दो घण्टा ओटी है । महिनामे २ दिन छुट्टी हे । महिनामे १७/१८ सय रियाल तलब मिलेगा बताया था ना ।’
अब्दुल मौन थिए, हाँसी मात्र रहे ।
‘एसा बोला था न,’ फेरि सोधे ।
‘हाँ बेटा, बोलाथा,’ अब्दुलले लाज नमानी भने, ‘लेकिन ओ झुठ था । ओ नँही बोलाथा त्वो आप इदर कैसे आएगा ?’
अब्दुलले भने,‘नेपालमा नेपालका नियम चल्ता हे । इदर साउदीमा कम्पनीका नियम चल्ता हे बेटा ।’
‘१२ घण्टाको १२ सय रियाल तलब । एक दिन डिउटी गयल भए दुई दिनको हाजिर कटिन्छ,’ अब्दुलले नियम सुनाए ।
‘यदि यसमा सहमति नहुने भए ३ हजार रियाल बुझाऊ । हामी ‘एक्जिट’ हानिदिन्छौं ।’
त्यत्रो पैसा बुझाएर आएका घनश्याम र उसका साथीहरु केही बोल्नै सकेनन् । म्यानपावरलाई उत्तिनैखेर फोन गरे पनि जिम्मेवारी लिएन । उनीहरुमा फेरि कम्पनीलाई पैसा बुझाएर फर्किने आँट आएन । बाध्य भएर उनीहरु लुरुलुरु काममा लागे । केहीलाई साउदीको अर्को शहर जेद्दा पठाए । केहीलाई रियादमै राखे ।

बिहान ८ बजेदेखि कम्पनीको डिउटी शुरु हुन्थ्यो । गाडी चढेको १० मिनेटमा पुगिन्थ्यो । समयमा नै डिउटी पुग्न ५ बजे नै उठेर खाना तयार गरिसक्नुपर्दथ्यो । खाना लगिएन भने दिनभर भोकै हुन्थ्यो ।

डिउटी कडा थियो । आराम गर्न समय थिएन । अलसार्कले उनीहरुलाई घण्टाको हिसाबले भुक्तानी गरेको हुन्थ्यो । तर, हिजाजले महिनावारीमा तलब भुक्तानी गर्दथ्यो । कम्पनी भुक्तानी गरेअनुसार नै काम खोज्थो । उनीहरु अलसार्कको व्यवस्थापनबाट मात्रै होइन, त्यहाँका कामदारको पनि हेपाइमा परे । अपरेटरहरु मेसिन चलाएर आरामले बस्थे । घनश्याम एकछेउबाट प्लास्टिकको दाना आलातुल (निरन्तर) हाल्थे । अर्को छेउबाट निस्केको माल लिन पुगिसक्नुपर्दथ्यो ।

५० किलोसम्मको बोरा उचाल्नुपर्दथ्यो । एक सय ५० किलोसम्मको प्लास्टीकको रोलहरु बोक्नुपर्दथ्यो । सके पनि नसके पनि काम गर्नै पर्दथ्यो । त्यसरी काम गर्दा महिनाको १२ सय रियाल मात्रै हात पर्दथ्यो । एक दिन जान नसके दुई दिनको तलब काटिथ्यो ।

बेलुका ८ बजे डिउटी सकिन्थ्यो । लखतरान भएर फर्केका उनीहरु भान्सामा खाना आफैं पकाउनु पर्दथ्यो । घनश्यामको मेसमा चारजना थिए । मिलेर पालैपालो खाना बनाउँदा केही राहत मिल्थ्यो । खाना खाएर सुत्दा राति ११ बजिसक्थ्यो । परिवार, साथीभाइसँगको बातचित दुर्लभ हुँदै जान थालेको थियो ।

काम थालेको महिना दिनमै भुक्तानीको विषयलाई लिएर हंगामा भयो । साउदी सरकारले कामदारलाई अनिवार्य बैंकबाट तलब भुक्तानी गर्नुपर्ने नियम बनाएको थियो । कम्पनीले बैंकमा खाता खोलेबापत एक हजार रियाल कटौती गर्ने नियमलाई कामदारले अस्वीकार गरे । डिउटी बन्द भयो ।

कम्पनीले हडताल गरेको भन्दै प्रहरीलाई क्याम्पमै लिएर आए । उनीहरु प्रहरी आउँदैमा डराइहालेनन् । आफ्नो अडान स्पष्ट राखे । प्रहरीले बोल्नेहरुलाई छानीछानी लिएर स्टेनशनमा लिएर गयो । इन्द्रबहादुर कटुवाल, रेशम ओली, धर्मेन्द्र खत्वे प्रहरीद्वारा पिटिएपछि सहमति भयो, ‘दोश्रो महिनादेखि मासिक २ सय रियाल काटिने ।’

त्यो घटनापछि १५ जना कामदारले कम्पनी छाडेर भागे ।

……………..

गत सेप्टेम्बर ६ मा एक्कासी कम्पनीको तर्फबाट अब्दुलको फोन आयो,‘तिमीहरु आजदेखि काम गर्नुपर्दैन ।’ उनीहरुका सुपरभाइजर पाकिस्तानी थिए । उसले कम्पनी बन्द भएको जानकारी दिए ।

‘चलिरहेको कम्पनी कसरी बन्द भयो ?’

सुपरभाइजरसँग ठोस जवाफ थिएन । उनीहरु ४९ जना थिए । सबै क्याम्पमा फर्के । कम्पनीले जुलाईसम्मको तलब भुक्तानी गरिसकेको थियो । उनीहरुले अर्को खबर पाए,‘अर्को कम्पनीमा काम मिलाउँदैछौं ।’

कम्पनीको नयाँ खबर पर्खेर बसे । कम्पनीले काम दिने कुरा त परै जाओस् । खाना खाने पैसा समेत दिन आएन । उनीहरुले म्यानपावरलाई ताकेता गर्न थाले । वैदेशिक रोजगार ऐनअनुसार कामदार नफर्केसम्मको जिम्मेवारी म्यानपवारले नै लिनुपर्छ ।

म्यानपावरको जवाफ हुन्थ्यो,‘तिमीहरुको काम हुन्छ । ढुक्क भएर बस्नु ।’

अक्टोबर महिना त्यत्तिकै बित्यो । स्थिति नाजुक हुन थाल्यो । भागेका साथीभाइ खाना खुवाउन सहयोग गर्न थाले । आलु, प्याज र खबुज ल्याइदिए । त्यो पनि धेरै दिनसम्म भएन । नजिकै मस्जिदमा नमाज पढ्नेलाई खानाको व्यवस्था हुन्थ्यो । उनीहरु त्यही भीडमा मिसिएर खाना थाले । त्यो पनि धेरै दिनसम्म टिकेन । उनीहरुलाई मस्जिदमा खाना दिन छाडियो । क्याम्पमा नेपाली मात्रै थिएन । पाकिस्तानी र भारतीय गरी अरु ६ सय कामदार थिए ।

……………

स्थिति झन् बिग्रिँदै गयो । म्यानपावर र कम्पनीबाट कतैबाट प्रक्रिया अगाडि नबढेपछि नोभेम्बर ६ मा झोला बोकेर दुतावास पुगे । त्यसअघि पनि उनीहरु एकपटक दुतावास पुगेका थिए । दुतावास क्याम्पबाट आधा घण्टा टाढा थियो । दुतावासले अवस्था बुझेपछि कम्पनी मालिकलाई सम्पर्क गरे ।

कम्पनी मालिकले १० दिनभित्र समस्या समाधान गर्ने वचन दिए, ‘१० दिनभित्र काम दिन्छौं । नसकेमा ११औं दिन नेपाल पठाइदिन्छौं ।’ उनीहरुलाई क्याम्पसम्म पुर्‍याउन दूतावासबाट श्रम काउन्सिलर अम्बिका अधिकारी आफै गए ।

उनीहरु पुग्दा क्याम्पको अवस्था अर्कै थियो । बिहानसम्म भएको भाँडावर्तन, ग्याँस, बेड, रेगुलेटर र एसी सबै चोरी भइसकेको थियो । श्रम काउन्सिलर अवस्था देखेर केही बोल्न सकेनन् । उनीहरुसँग खानाको लागि पैसा नभएपछि तीन लटमा ३/३ हजार रियाल आइपुग्यो । ‘त्यो म्यानपावरले दिएको भन्थे,’ घनश्याम भन्छन्, ‘त्यो रकम भाग लगाउँदा ६२ रियाल पथ्र्यो प्रतिव्यक्तिे । ६२ रियालले १० दिनसम्म पुर्‍याउन सकिने अवस्था थिएन । तैपनि सबैले त्यसलाई बचाई बचाई प्रयोग गरे । एक रियालको खबुज र ५ रियालको दहीले छाक टार्यौं ।

…………………..

कम्पनीले दिएको भाका गुज्य्रो । ६२ रियालमा बचेको पैसा उठाउन थाले । सबैजना लत्ताकपडा बोकेर ट्याक्सीमा आए । सानो परिसरको दूतावासको गेटबाट भित्र छिर्नेबित्तिकै भीड बढीहाल्यो ।

श्रम काउन्सिलरले फर्केर क्याम्मै जाऊ भन्ने अवस्था थिएन । स्थिति आफैं गएर देखेकी थिइन् । कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने, ‘दूतावासमा सुत्ने ठाउँ छैन । बस्ने ठाउँ यही बाहिर बरन्डामा मात्रै हो । मौसम चिसो छ ।’

‘हामी यही बरन्डामा भए पनि बस्छौं’, सबैको एउटै श्वर आयो । दूतावासले सेवाग्राही आउँदा एकपट्टि बस्ने ठाँउ बनाएको थियो । उनीहरुले सरसामान त्यहीं राखे । रात परेपछि अट्ने त्यही लम्पसार परे । नअट्ने गाडीको ग्यारेजमा गए । त्यहाँ पनि नअट्ने ढोका अगाडिको बरन्डामा कम्मल ओछ्याए ।

त्यही बेला साउदीमा तीन दिनसम्म झरी पर्‍यो । चिसो एकदमै बढ्यो । नेपाली समाजसेवीहरुले सहयोगी हातहरु प्हिलादेखि नै बढाएका थिए । उनीहरुले कम्मल ल्याएर दिए । बरन्डामा बस्न कठिन थियो ।

उनीहरुलाई दूतावासको कार्यालयभित्रै बस्ने अनुमति मिल्यो । भित्र जहाँ खाली ठाउँ थियो, त्यहाँ बस्न मिले । खानाको लागि दूतावासले बिहान र बेलुका होटलमार्फत् खुवाउन थाले ।

उनीहरुलाई जतिसक्दो छिटो पठाउन दूतावासले साउदी सरकारलाई अनुरोध गर्‍यो । सरकारले कम्पनीसँग समन्वय गरे । कम्पनीले एकहप्ता पछि सबै ५३ कामदारको एक्जिट भिसा (स्वदेश फर्कने अनुमति) लगाइदिएर दूतावासमा राहदानीको पार्सल पठाइदियो ।

‘राहदानी पाएको दिन हाम्रो खुट्टा भुइँमा थिएन’, उनले भने,‘सबै साथीभाइ टिकट खोज्न लागिहाले ।’ कसैलाई साउदीकै साथीभाइले टिकट दिए । कसैलाई कतार, दुबई र मलेसियाका साथीभाइले पठाइदिए ।

डिसम्बेर ३ बाटै उड्न शुरु भयो । घनश्यामले ३३ जनाको नेतृत्व गरेर साउदीबाट काठमाडौं आइपुगे । ‘जाँदा एक लाख ५ हजार खर्च भयो । फर्किंदा ४० हजार रुपैयाँ,’ उनले भने ।

………….

काठमाडौंमा बस्न र खानाको लागि प्रवासी नेपाली समन्वय समितिले व्यवस्था गरिदिए । ३३ जनालाई एयरपोर्ट अगाडिको होटलमा लगेर राखे । उनीहरु म्यानपावरबाट क्षतिपूर्ति पाएपछि मात्रै घर फिर्ने योजनामा थिए । तर, काठमाडौं आएपछि सबैको अलग अलग राय आयो । उनीहरु वैदेशिक रोजगार विभागसमक्ष उजुरी गर्न गएनन् । पहिला म्यानपावर पुगे ।

म्यानपावर कम्पनीले प्रतिब्यक्ति २० हजार रुपैयाँ दिन तयार भयो । ‘बाँकी आ-आफ्नो एजेन्टसँग लिनु,’ म्यानपावर पन्छियो ।‘साथीहरुले यसैमा चित्त बुझाए,’ उनले भने । घनश्यामले पनि २० हजार रुपैयाँ बुझे नवलपरासीको बस समाते ।@कान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution