नयाँ शक्ति पार्टी नेपालको यस्तो छ:उत्पादन योजना

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालले मुलुकको समृद्धिका लागि युवाहरुलाई लक्षित गर्दै उत्पादन कार्ययोजना ल्याएको छ । हालै ललितपुरको धोबीघाटमा सम्पन्न केन्द्रीय कार्यकारी समितिको बैठकले युवा लक्षित उत्पादन, निर्माण तथा रोजगार÷स्वरोजगार व्यवस्थापन सम्बन्धी योजना पारित गरेको हो ।
नयाँ शक्ति पार्टी नेपालले मुलुकमा नयाँ राजनैतिक विचार र संस्कृतिका साथै राष्ट्रको आर्थिक विकासको नयाँ मोडेल एवं विकास र समृद्घिका लागि अवलम्बन गरेको मार्गचित्रको स्पिरिटलाई कार्यान्वयन गर्न उत्पादन तथा रोजगार÷स्वरोजगार कार्य योजना तयार गरेको हो ।
सो कार्ययोजनामा त्रिआयामिक विकास अर्थात् भौतिक विकास, वातावरण संरक्षण तथा अधिकारमा आधारित सामाजिक न्यायसहितको दीगो विकास, र आम जनसमुदायको आत्मिक तथा सांस्कृतिक जीवनपद्घतिको विकासलाई जोड दिने विकास नीति लिएको छ ।
उत्पादन कार्ययोजनाले व्यक्तिलाई श्रमप्रतिको सम्मान र उत्पादन कार्यमा संलग्न हुन अभिप्रेरित गर्दै उद्यमशिलता, सहभागितामूलकता, सामाजिक न्याय र समानतालाई समेत ध्यानमा राखी उत्पादन वृद्घि गरिने नीति बनाएको छ । त्यस्तै कृषि उत्पादनमा रहेको सामन्ती भू–स्वामित्वको अन्त्य, जमिन खण्डिकरणको अन्त्य, भूमि उपयोगमा जोड, यान्त्रिकरणसहितको आधुनिक तथा व्यवसायिक उत्पादन प्रणालीमा जोड, आदि जस्ता कुरालाई कृषि क्षेत्रको उत्पादन अभियानको पूर्वशर्तको रुपमा उल्लेख गरिएको छ ।
कार्य योजनाको नीतिगत व्याख्या गर्दै नयाँ शक्तिले विभिन्न उत्पादन क्षेत्रको (कृषि, पर्यटन, जडिबुटी, वनजन्य उत्पादन, विद्युत, स्थानीय प्रविधि र सिपमा आधारित उत्पादन, स्थानिय कच्चा पदार्थमा आधारित उद्योग आदि जस्तैः सिमेन्ट, कंक्रिट, ईटा, जडीबुटी प्रशोधन, घरेलु तथा साना उद्योग– हस्तकला, फर्निचर, जुत्ता, कपडा, कागज, खाद्य तथा कृषि उपज प्रशोधनको पहिचान गरी विशिष्टतामा आधारित उत्पादनमा जोड दिने उल्लेख गरेको छ ।
पार्टीले तीन प्रकारका विधि अपनाएर उत्पादन, निर्माणका योजना तय गरी कार्यान्वयन गर्ने जनाएको छ । पहिलो पार्टी अभियन्ताकै नेतृत्वमा संचालन गरिने योजना, दोस्रो जनता र निजी क्षेत्रसँग मिलेर गरिने साझेदारी योजना र तेस्रो राज्य मार्फत गरिने योजनाको कार्यान्वयनमा सहभागिता र सहजीकरण गर्ने योजना बनाएको छ ।
स्वाधिन राष्ट्रिय उद्यमशिलतामा आधारित पूँजीवादको विकाससँगै सहभागितामूलक समाजवादतर्फ उन्मुख अर्थतन्त्र निर्माण गर्ने पार्टीको आर्थिक कार्यदिशालाई कार्यान्वयन गर्ने मुख्य उद्देश्य रहेको उत्पादन योजनाले पार्टी अभियन्ता एवं आश्रित परिवारलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना बनाएको छ ।
त्यस्तै मुलुकको औद्योगिक विकासको आधार तयार गर्दै खासगरी विकास÷उत्पादनका साधनको विकास र समुचित प्रयोग, उद्यमशीलताको विकास, परम्परागत कृषि क्षेत्रको संरचनागत परिवर्तन, औद्योगिक वातावरणको निर्माण, आदि कार्यहरुमार्फत सार्वजनिक निर्माणमा जनसहभागिता बढाउन सहजीकरण गर्ने योजना रहेको छ ।
पार्टीले घोषणा गरेको उत्पादन योजना कार्यान्वयनका लागि समग्र उत्पादन योजनालाई केन्द्र, प्रदेश र स्थानीयस्तरमा विभक्त गरी सोही अनुसारको विशेषज्ञ सहितको उत्पादन, निर्माण तथा रोजगार÷स्वरोजगार कार्यदल गठन गरी काम गर्ने जनाएको छ ।
उत्पादनसम्बन्धी योजनालाई कृषि, उद्योग, वित्त, निर्माण, जलविद्युत, व्यापार व्यवसाय, सामाजिक उद्यमशीलता आदि क्षेत्रहरुमा विभाजन गरी संचालन गरिने योजना रहेको छ ।
कृषि उत्पादनलाई प्रर्वद्धन गर्न प्रत्येक घरधनीलाई ‘करेसाबारी अभियान’ कोरुपमा करेसाबारीमा तरकारी, हरियो सागपात, आदिको उत्पादन गर्न अभिप्रेरित गर्ने योजना रहेको छ । त्यस्तै कृषि उत्पादनलाई स्थानीय किसानको आय आर्जनको स्रोतको रुपमा विकास गर्न उत्पादन कार्यलाई संगठित स्वरुप दिई (जस्तै किसान समूह, सामुहिक उत्पादन समूह, लीज फारमिङ, सहकारी, आदि) कृषि उत्पादनको विविधिकरण एवं व्यावसायिकरण गर्ने योजना रहेको छ ।
औद्योगिक विकास नै मुलुकको आर्थिक विकासको आधार भएकोले औद्योगिक विकासका लागि स्वरोजगार, उद्यमशीलता एवं सिप विकास गर्न विभिन्न तालिमका साथै प्रशिक्षक प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने योजना नयाँ शक्तिले बनाएको छ । मुलुकका रुग्ण उद्योगहरुको पुनःस्थापनाका कार्यक्रमहरु संचालन गर्न सम्बन्धित उद्योग एवं निकायबीच सहजीकरण कार्यक्रम संचालन गर्ने योजना पनि नयाँ शक्तिले ल्याएको छ ।
औद्योगिक विकास तथा कृषि उत्पादनमा लगानी अभिवृद्धि गर्नका लागि पार्टीको विभिन्नस्तरमा उत्पादन, उपभोक्ता र वित्तीय सहकारी, बैंक तथा वित्तीय संस्था, लगानी संस्थाहरुको देशव्यापी संजाल निर्माण गर्न उत्पादन कार्यदलबाट अभिमूखीकरण कार्यक्रम संचालन गर्ने योजना बनाएको छ । त्यस्तै लगानीका लागि लगानी कम्पनी स्थापना गरी संचालन गर्ने र विभिन्न उत्पादन परियोजनाहरुको कार्यान्यनका निमित्त वित्तीय साधन जुटाउन स्थानीय समुदाय, रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली नागरिक, गैर आवासीय नेपाली समुदायलाई समेटेर लगानी फोरम निर्माण गर्ने योजना रहेको छ ।
त्यस्तै निर्माण क्षेत्रलाई प्रभावकारी बनाउन सार्वजनिक निर्माणलाई जनमुखी, प्रभावकारी बनाउन एवं सबैको सहभागिता बढाउन स्थानीय स्तरमा सचेतना कार्यक्रम संचालन गर्ने र विनासकारी भूकम्पबाट क्षतिग्रस्त जनताका घर र विभिन्न भौतिक संरचनाहरुको पुनःनिर्माण तथा नवनिर्माणमा सहयोगसिद्घ हुनेगरी केही नमूना परियोजनाहरु संचालन गर्ने योजना बनाएको छ ।
त्यस्तै निर्माणमा स्वयंसेवी भावनाको विकास गर्न पार्टीको नेतृत्वमा युवा गाउ‘ निर्माण अभियान र राष्ट्रिय स्वयंसेवा विकास अभियान जस्ता कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको छ ।
पार्टीले पार्टी अभियन्ताहरुकै अगुवाईमा विभिन्न क्षेत्रमा जलविद्युत उत्पादनको संभाव्यता अध्ययन गरी जलविद्युत आयोजनाहरुको निर्माण गरी संचालन गर्ने, सामाजिक उत्थानका कार्यक्रमहरु संचालन गर्ने, सिप तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमहरु संचालन गर्ने कार्य योजना तयार गरेको छ ।