टिएसएले अमेरिकामा भव्यताका साथ ल्होछार मनाउने

न्यूयोर्क : तामाङ सोसाइटी अफ अमेरिका टिएसएले यस वर्षको ल्होछार आउँदो जनवरी २८ मा न्यूयोर्कमा भव्यताकासाथ मनाउने भएको छ ।
‘तामाङ सांस्कृतिक एवं बौद्ध केन्द्रको चाहना भाषा, धर्म र संस्कृतिको जर्गेर्ना’ भन्ने मूल नाराका साथ सोसाइटीले विशेष सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाउन लागेको अध्यक्ष शान्तबाबु थोकरले बताए । कार्यक्रमको संयोजन सोसाइटी अन्तर्गतको तामाङ सांस्कृतिक एवं बौद्ध केन्द्रले गर्न लागेको अध्यक्ष थोकरले बताए ।
पहिलो पटक फाइभ स्टार इभेन्ट हल लङआइल्याण्ड सिटीमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने अध्यक्ष थोकरले जानकारी दिए । यसभन्दा अघि ज्याक्सनहाइट वरपरका साना हलमा ल्होछार मनाउँदै आएको सोसाइटीले यस पटक भने फराकिलो ठाँउ रोजेको बताएको छ ।
हरेक वर्ष कार्यक्रममा सहभागीको संख्या बढ्दो क्रमलाई मध्यनजर गरी थप सुविधाका लागि फाइभ स्टार हल रोजिएको अध्यक्ष थोकरको भनाइ छ । कार्यक्रमका लागि नेपालबाट नै ख्यातिप्राप्त कलाकार आउने भएका छन् । सोसाइटीले यस पटकको ल्होछारमा हुने नाफा रकम तामाङ सांस्कृतिक एवं बौद्ध केन्द्रको भवन निर्माणमा खर्चिने अध्यक्ष थोकरले बताए ।