नाँइ म, अमेरिका जान्नँ , पाए पो जान्थिस् !

-अधिकारी रवीन्द्र
सुन्दैमा रिस उठेर आउने उद्गार हुन सक्छ– नाइँ, म अमेरिका जान्नँ ।प्वाक्क सबैको मुखैमा आउने जवाफ हो– पाए पो जान्थिस् ! केही साल यस्तै भयो । अमेरिका जाने भूत सबैमा जस्तो ममा पनि व्यग्र रूपमा सवार भयो । त्यसका लागि कुनै कसर बाँकी राखिनँ ? तैपनि झिनो आशले ईडिभी कति पटक भरें । लोटरीको कथा सधैं ट्राई अगेनमै सिद्धियो ।दोस्रो चरण अब दस जोड दुई सकेर स्याट र टोफेल गर्ने अनि स्नातक तहका लागि मिल्ने विषयमा आवेदन दिने । तनाव र केही लाख खर्च एकसाथ बेहोरें । परिणाम उही ट्राइ अगेनमै आएर टुंगियो । धेरै वर्ष त्यत्तिकै लस गर्न पनि मिलेन, यता त्यता, छात्रवृत्तिका लागि सबैतिर एप्लाई गरियो । शिक्षा मन्त्राल्य, विभिन्न एम्बेसीदेखि बीपीके आइएचएससम्म जाँच दिन छोडिएन । नेपालमा मध्यम वर्गीय बाहुन हुनु अभिशाप नै हो ।
न त कतै कोटा छ, न प्राइभेट डोनरसिपमा पढ्न सकिन्छ । बढ्दो बेरोजगारी आफ्नै आँखा अघि देख्दा–देख्दै चार वा पाँच वर्षमा १० लाखभन्दा बढीको ट्युसन खर्च लाग्ने जुन कुनै विषय पढ्न पनि मध्यम वा गरिब परिवारको सातै जान्छ । एजुकेसन लोनको अवधारणा क्षितिज पर कता छ कता । निरन्तर परिवारसँग पैसाको याचना गर्ने अवस्था थिएन । काठमाडौंको महँगीबीच टिक्न गाह्रो भएपछि मासिक खर्च धान्न होम ट्युसन पढाउन थालें । यसबीच सबैले गर्ने त्रिचन्द्रमा बीएस्सी ज्वाइन गरें । त्यसै क्रममा समानान्तर रूपमा प्राविधिक विषयहरूका लागि छात्रवृित्त आवेदन भर्दै गएँ ।
यो अहम् होइन, मैले नै सिकाउने धेरै साथी केजाति–केजाति कोटामा पर्दै घट्दै गए— कोही धरान गए, कोही रामपुर गए, कोही बंगलादेश, धेरै ठाउँ पुगे । नेमको मक टेस्टमा सयमा ६०–६५ आउने साथीहरू धमाधम स्कलसिपमा छनौट हुँदा म ८०–८५ आउने बबुरो बाहुन भएकै कारणले अरुचिको प्योर साइन्स पढ्न त्रिचन्द्रमा थच्चिएँ ।
म यो पनि कबोल गर्छु, आफूले चाहेको विषय पढ्न नपाएपछि असफलताको चिरागमा म गोहीको आँसु बगाइरहेको छैन ।
म आफ्नो इलाकामा अब्बल थिए । सरकारी स्कुल तर्फबाट एसएलसीमा जिल्ला टप भएकै हो । प्लस टुमा पनि जिल्ला टप भएकै हो, तर पछि राष्ट्रिय स्तरको प्रतिस्पर्धामा खुलातर्फ म छनौट हुने गरी अगाडि आउन सकिनँ । यस्तो म एक मात्र व्यक्ति होइन, म जस्ता धेरै छन् । म फेरि कबोल गर्छु म एक्स्ट्रा अर्डिनरी पनि होइन । कसैले पनि आफ्नो ल्याकतभन्दा बढी प्रतिफल दिन सक्दैन, यो यथार्थ हो ।
सरकारी कलेजमा पढाइभन्दा गफगाफ, राजनीति र घाम–तपाइ नै बढी हुने । सुन्छु अहिले पनि स्वरूप त्यस्तै छ रे । पढाउँदै पढ्दै बीएस्सी सकियो । पढाउने काम अझ थपियो, अब त अझ फुल टाइम जागिरे भइयो । तीन/चार वर्ष यस्तैमा बित्यो, त्यसबीच एमएस्सी पनि सकियो । अब यही तालले मेरो जिन्दगी काठमाडौंकै खाल्डोमा दु:खै दु:खमा बित्ने पो हो कि भन्ने डर पलायो । दु:ख त सबैले गर्नै पर्छ तर अन्त्यमा अब के त ? भन्ने प्रश्नको उत्तर पाइन ।
शिक्षक बन्नका लागि मैले फिजिक्समा स्नातकोत्तर गरेकै होइन त म कसरी दिनभरि पढाएर सन्तुष्ट हुन सक्थेँ ? सबैलाई सन्तुलनमा राख्न पढाउने चारा बाहेक अरू केही पनि त थिएन । रिसर्च र इनोभेटिब काम नेपालमा दूर कि बात हो । मेरो देशको एमएस्सीले जागिरे मानसिकताबाट उम्कन दिँदैन । अब स्नातकोत्तरपछिको शिक्षा पछ्याउने क्रममा पीएचडी नै देखियो । अमेरिकाको पीएचडी ।
बेस्तताका बाबजुद बिहान बेलुकाको केही समय उपयोग गरेर जीआरई, टोफेल गरी सबै प्रक्रियामा सामेल भएर पीएचडीका लागि अमेरिकी विश्वविद्यालयमा एप्लाई गरियो जहाँ म पहिलै राउन्डमा नक आउट भएँ । सबैले भने पहिलोपटक त्यस्तै हो । एउटा प्रक्रिया सम्झेर चित्त बुझाए । २५ देखि २ सय डलरसम्मको आवेदन शुल्क बुझाएर फेरि पनि १० वटाजति कलेजमा आवेदन दिएँ । जीआरई र टोफेलको स्कोर पठाएको छुट्टै शुल्क, सिफारिस, अभिप्राय पत्र, ट्रान्स्कि्रप्ट र अन्य कागजात पठाएको डीएचएलको छुट्टै खर्च थप दुई वर्षसम्म ४ लाखजतिको वार्षिक खर्च जोडिएर आयो ।
सधैं अस्वीकृत सधैं अस्वीकृत, मानौँ निधारमा जन्मजात रिजेक्टेड भनेर लेखिएको अदृश्य स्ट्याम्प नै लागेको छ । यसपालिको रिजेक्सनसँगै मैले अब अमेरिका लाने प्रकृतिका कुनै पनि फारम नभर्ने निर्णय गरें ।
अनन्त अगाडि देखिका मेरा बाजे बराजु यही धर्तीमा जन्मिए, यहीँ हुर्किए, थोर बहुत पौरख गरे अनि आफ्नो प्राण यहीँ विसर्जन गरे । उनीहरूले अमेरिकाको नाम पनि सुनेका थिएनन् । उनीहरूलाई अमेरिका चाहिएन, मलाई मात्र किन ?
लाग्छ मलाई समय र परिस्थितिले यही दिनका लागि तयार गरेको हो । जसरी निरन्तरको रापले भात भर्सिन्छ, मेरा लागि सुरुका स्नातक छात्रवृत्तिका रिजेक्सनदेखि अहिलेका अमेरिकाको रिजेक्सनसम्मले त्यस्तै रापको काम गरे । त्यस्तो कठोर रापले मलाई यसरी निर्भिक उभिन तयार गरे कि अब म अमेरिकालाई नो भन्न समर्थ भए । मेरा लागि यो आत्मविश्वास ठूलै प्राप्ति हो । मलाई यस्ता कुरा गर्न गज्जबको आँट किन आइरहेछ ? मैले चिन्तन गरें । म एकाएक परिपक्व किन र कसरी भए ? यसको छोटो किस्सा छ । पहिलो कुरा मैले आफूले आफूलाई चिन्न सकेको रहेनछु ।
मैले आफ्नो भित्री मन छामेर हेर्दा मेरो इच्छा अमेरिकाको पीएचडी नै होइन रहेछ । भित्री इच्छाले साँच्चै नै चाहेको कुरा त ब्रह्माण्डले षड्यन्त्र गरेरै हाम्रै अगाडि झारिदिन्छ नि । भन्नाले जे कुरा भित्री मनले चाहेको हुन्छ त्यो कुरामा हाम्रो लगाव निश्चय नै बढी हुन्छ । के थाहा ? सफलताले एक प्रतिशत बढी संघर्षको माग पो गरिरहेको थियो कि ?
मैले वास्तवमै नचाहेको चिज नपाएकोमा किन खेद गर्नुपर्यो ? यदि पाएको भए यति निश्चित हो कि म कि सफल हुन्नथेँ कि खुसी हुन्नथेँ । यदि मैले अमेरिका चाहेको थिइन् भने म किन त्यसको पछि लागेँ त ? प्रश्न जटिल छ र उत्तर गहन । एमएस्सी गरिसक्दासम्म म एउटा पर्खाल भित्र हुर्किएँ जसले मलाई जीवनको अन्तिम सुख वा सफलता विदेश जाने नै हो भन्ने भ्रमको बिजारोपण गर्यो, त्यो बिज त्यही चंगुलमा उम्रियो, फुल्यो र फक्रियो । त्यो पर्खाल स्वयं मेरो परिवारले, नातागोताले, समाजले, मिडियाले, संगतले, शिक्षाले अनि पूरै देशको अवस्थाले बनायो ।
म फिलहाल एउटा टि यु नामक फ्याक्ट्रीको एक्स्पोर्ट क्वालिटी प्रोडक्ट हुँ । यो प्रोडक्टले भैंसी पालेर महिनामा ८० हजार कमाइ गर्ने आले दाइको बहादुरीलाई निकम्मापन मान्छ र फ्लोरिडाको मायामीबीचमा अर्धनग्न सन बेदिङ गरिरहेको सपना सँगाल्छ । पियर प्रेसरले आक्रान्त भै आफ्नो मनोकांक्षालाई प्रस्फुटन हुनै नदिई अमेरिकाको नाममा खोलो बगाए झै समय बगाउँछ र खोस्टो फालेझै पैसो फाल्छ ।
म चाहन्नँ अब देश दुखिरहेका बेला भागेर अन्जान भूमिमा बस्ती बसाल्न । म चाहन्न शिर निउराउन जब भोलि मेरा सन्ततीले देश भास्सिने क्रममा डरपोक सरी कता भागेको थिइस् भनेर औंला ठड्याउनेछ । म साक्षी बस्छु पल–पलको । धेरै नसके पनि अलिकति भए पनि केही न केही गर्छु, हेर्छु देश कसरी बिग्रँदो रहेछ, कहाँ बिग्रँदो रहेछ । संकटमा पेन्डोरा बक्स फुटाउन आफ्नै ठाउँबाट आफूले जानेको गर्ने हो ।
अनि म चाहन्नँ देश बनिसकेपछि लाम लागेर कुम्लो कुटुरो बोकेर देश फिर्नेहरूको पंक्तिमा उभिन । हेर्दा निकै आदर्शझैं लाग्छ । मैले विदेश जानेहरूलाई ललकार्न खोजेको होइन, उहाँहरूलाई देशको माटोले बोलाइरहेको छ भनेर सम्झाएको हो । विदेश जानेहरूलाई रोक्न खोजिएको होइन मकसद पूरा गरेर देशलाई फर्केर हेर्न अनुरोध गरिएको हो ।
ठूला–ठूला नेताका छोराछोरी गैसके, नारायण सापकोटादेखि प्रेम बानियाँ, नन्दिता केसीदेखि राजु लामासम्म, मामादेखि काकासम्म सबै विदेश पुगिसके अब म र मजस्ता युवा भटाभट यसैगरी ए देखि भी भीसा लिएर कानुन सम्मत वा इतर उतै ओइरो लाग्ने र सेटल हुने हो भने नेपाल आमाको हेरचाह कसले गर्ने ? यो देशलाई सतीले सरापेको छैन । हामी सबै यो अवस्थाका लागि जिम्मेवार छौँ ।