प्रधानमन्त्री प्रचण्डको राजीनामा र भारतीय राजदूत रणजीत रायको स्वदेशलार्इ फिर्ता पठाउन माग

काठमाडौं । सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन भारतले भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवा विद्यार्थीहरूले भारतीय राजदूतावास अगाडि धर्ना दिएका छन् । आन्दोलनमा विद्यार्थी संगठनका विद्यार्थी नेता र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो ।
उनीहरूले सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा र भारतीय राजदूत रणजीत रायको स्वदेश फिर्तिको माग गरे ।
विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका युवा तथा विद्यार्थीले संविधान संशोधन प्रस्ताव पारित गराउन भारतीय राजदूत रेले चलखेल गरेको आरोप लगाउँदै उनलाई फिर्ता पठाउन माग गरे ।
कोणसभामा क्रान्तिकारी युवा संघका अध्यक्ष निरज लवजले भने, “आज भाटा बोकेर हिँडेका विद्यार्थी भोलि बन्दुक बोकेर निस्कन तयार हुन्छन् तर भारतीय हस्तक्षेपका सामु घुँडा टेक्दैनन् ।”
बलभद्र कुँवर, अमरसिंह थापा जसरी रगत बगाउन परे पनि आफूहरू पछि नहट्ने उनको भनाइ थियो । उनले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र भारतीय राजदूत रेलाई देश छोड्न समेत आग्रह गरे । उनले भने, “यस्तै नेता भएका कारण देश बिग्रिएको हो । ६०÷७० वर्ष सम्म प्रजातन्त्रमा लडेर पनि केही भएन ।”
त्यस्तै अनेरास्ववियुकी अध्यक्ष नविना लामाले युवा विद्यार्थी अरिङ्गाल भएकाले नजिस्क्याउन चेतावनी दिइन् । राजदूत रेलाई सुझाव दिँदै भनिन्, भारतीय राजदूतले हाम्रो संविधानमा प्रश्न उठाउने होइन, आफ्नो देशको संविधान पूर्ण बनाउन लाग्नूस् ।” उनले हजारौँ जनताको बलिदानीबाट सरकारको कुर्सीमा पुगेका प्रचण्डले राष्ट्रघात गर्न नहुने बताइन् । “राष्ट्रघात गर्नुपूर्व प्रधानमन्त्री प्रचण्डले हजारौँ आमाको पुछिएको सिन्दूर र रित्तिएको कोखबारे किन विचार गर्नुभएन ?,” उनको प्रश्न थियो ।
त्यसैगरी युवा संघकका अध्यक्ष राजीव पहारीले भारतीय विस्तारवादको हस्तक्षेपको मुक दर्शक बन्न नसकिने बताए । राजदूत रेलाई भारतीय प्रधानमन्त्री मोदीको ‘दास’ संज्ञा दिँदै बरु फिल्म खेल्न तर नेपालको आन्तरिक विषयमा नबोल्न र चलखेल नगर्न चेतावनी दिए ।
त्यस्तै, उनले महन्थ ठाकुर , उपेन्द्र यादव र राजेन्द्र महतोलाई ‘आउटडेटेड’ नेताको संज्ञा दिँदै पशुपतिमा गएर भजन कीर्तन गर्न सुझावसमेत दिए ।
आन्दोलनमा टायर नबालिने
उनले संविधान संशोधन विधेयकको विरोध गरिने तर टायर बालेर सडक अवरोध गर्दै जनतालाई दुःख नदिने स्पष्ट पारे । “हामी सडकमा टायर सल्काएर जनतालाई दुःख दिने पक्षमा छैनौँ, हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ,” उनको भनाइ थियो ।
प्रचण्डको उपचार गरौँ
उनले कांग्रेस नेतृ सुजाता कोइरालाको उपचारमा राज्यकोषको ५० हजार रुपैयाँ खर्च भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीको उपचार गर्न समेत सुझाव दिए ।
“प्रधानमन्त्री प्रचण्ड बिरामी हुनुहुन्छ, त्यसैले अनेक प्रस्ताव ल्याइरहनुभएको छ, बरु एक करोड लागोस् तर प्रधानमन्त्रीको उपचार बेलैमा गरौँ,” उनको भनाइ थियो ।
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई नेपाली जनताको दाना खाएर भारतको गाना नगाउन पनि आग्रह गरे । युवा विद्यार्थीहरूले राष्ट्रिय झण्डासहित लैनचौर अगाडि प्रदर्शन गरेका थिए । दूतावास वरपर निषेधित क्षेत्र भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
संविधान संशोधन विधेयक राष्ट्रघाती प्रस्ताव भएको भन्दै प्रतिपक्ष दल एमाले र उसको भ्रातृ संगठनहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । @ बाह्रखरी |