सगरमाथा वेश क्याम्पमा बक्स अफिस फिल्म फेयर अवार्ड सम्पन्न

बक्स अफिस फिल्म क्लब नेपालको आयोजनामा बुधबार सगरमाथाको आधार शिविरमा कलाकारहरुलाई राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड प्रदान गरिएको छ । भव्य र सभ्यरुपमा सम्पन्न कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा लामो सयदेखि क्रियाशील कलाकारहरुलाई अवार्ड प्रदान गरिएको हो ।
चलचित्र लुटेराबाट बरिष्ठ निर्देशक दयाराम दाहाललाई बरिष्ठ चलचित्र निर्देशकको विधामा अवार्ड प्रदान गरिएको हो । त्यसैगरी, बाल कलाकार हुँदै नायक बनेका पुराना कलाकार सलोन बस्नेतलाई चलचित्र गाजलुबाट अवार्ड प्रदान गरियो भने नायिका पूर्णिमा लामाले चलचित्र रेलीमाईबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारिन् । त्यस्तै हास्य कलाकार शोभित बस्नेतले चलचित्र कान्छी मट्याङ ट्याङबाट हास्य कलाकारको विधामा उत्कृष्ट हास्यकलाकारको अवार्ड हात पारे ।
संगीतकार विकाश चौधरीले चलचित्र बीचबाटोमा दिएको संगीतका कारण उत्कृष्ट संगीतकारको अवार्ड हात पारे । उत्कृष्ट चलचित्र सम्पादन गरेबापत तारा थापा ‘किम्भे’ सगरमाथा अवार्डबाट सम्मानित भए । त्यस्तै, उत्कृष्ट नृत्य निर्देशकको विधामा दिनेश पार्खिनलाई अवार्ड प्रदान गरियो भने चलचित्र जंगबाट उत्कृष्ट गायकको विधामा पूर्ण राईले अवार्ड हात पारे । सगरमाथाको आधार शिविरमा अवार्ड प्राप्त गरेपछि कलाकार निकै नै हर्षित भएका थिए ।
उनीहरुले अवार्ड ऐतिहासिक भएको भन्दै आयोजकको लगनशीलता र योगदानलाई मुक्तकण्ठले प्रसंसा गरे । सगरमाथा आधार शिविरमा अवार्ड आयोजना गर्नु वास्तवमै चुनौतीको विषय भए पनि राष्ट्रिय बक्स अफिस फिल्मी क्लब नेपालले आइपरेका सम्पूर्ण समस्या र चुनौतीलको सामना गर्दै अवार्ड सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे ।
कलाकारहरुले अवार्ड थाप्दै आगामि दिनमा गर्ने यस्तै चुनौतिपूर्ण अवार्ड कार्यक्रमको सफलताका लागि शुभकामना दिए । बक्स अफिस फिल्म क्लबले अवार्डका लागि सार्वजनिक गरेको सूचना अनुरुप झण्डै तीन सय कलाकारहरुको सहभागीबाट उत्कृष्ट छनोटमा परेका ८ जना लाई फिल्म फेयर अवार्ड प्रदान गरिको राष्ट्रिय बक्स अफिस फिल्म क्लबका अध्यक्ष आर.के सुवेदीले बताए ।
उच्च हिमाली क्षेत्रमा आयोजना भएको यस अवार्ड प्रतियोगितामा शारीरिक रुपमा तन्दुरुस्त चलचित्रकर्मीलाई मात्र छनोट गरेर लगिएको थियो । अवार्डका लागि नेपाली कलाकारको टोली गत मंसिर ९ गत विहीबारका दिन सगरमाथाको लागि काठमाडौंबाट गोमा यएरको विमानबाट त्यसतर्फ प्रस्थान गरेको थियो । सोही दिन विहानै लुक्ला विमानस्थलमा पुगेको टोलीले त्यसपछि सगरमाथा आधार शिविरको यात्रा तय गरेको थियो र मंगलबार आधार शिविर पुगेको हो ।
अवार्ड प्राप्त गर्ने कलाकारसहित तीन दर्जनको टोली बक्स अफिस फिल्म क्लब नेपालका अध्यक्ष सुवेदीको नेतृत्वमा गएको थियो । टोलीमा बरिष्ठदेखि कनिष्ठसम्मका कलाकार तथा शुभचिन्तकहरु थिए । विभिन्न विश्व कीर्तिमान अवार्ड आयोजना गर्दै आएको बक्स अफिस फिल्म क्लब नेपालले यसभन्दा अगाडि उडिरहेको प्लेनमा अवार्ड वितरण गरेको थियो । त्यस्तै, थाइल्याण्डमा समुद्र मुनि र समुद्रमाथि अवार्ड प्रदान गरी ऐतिहासिक काम गरिसकेको छ ।
क्लबका अध्यक्ष सुवेदीको सक्रियतामा यस्ता चूनौतीपूर्ण अवार्ड कार्यक्रमहरु सफल भएका हुन् । आगमी दिनमा पनि उनले अद्भूत तथा चुनौतीपूर्ण देखिने विभिन्न अवार्डको आयोजना गर्ने जानकारी दिएका छन् । उनले सगरमाथाको आधार शिविरमा वितरण गरिएको यो अवार्ड कार्यक्रम नेपाली चलचित्र क्षेत्रकै ऐतिहासिक अवार्ड भएको दाबी गरे । उनले भने– ‘नेपाली चलचित्र क्षेत्रको इतिहासमा यो नै पहिलो पटक सगरमाथामा अवार्ड वितरण गरिएको कार्यक्रम हो ।’ यो काम निकै नै चुनौतीपूर्ण भए पनि कलाकारहरुको सक्रियता र आफ्नो विवेकले ऐतिहासिक काम गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष सुवेदीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद दिएका थिए । अध्यक्ष सुवेदीले नेपाली फिल्म क्षेत्रका लागि यो अवार्ड कार्यक्रम ऐतिहासिक तथा कोशे ढुंगा सावित हुने दाबी गरे । कलाकारहरुको सहयोगका लागि फिल्म क्लब नेपालले पर्यटन क्षेत्रमा लामो सयम अनुभव बटुलेका शेर्पाहरुको सहयोग लिएर वेशक्याम्पको यात्रा गरेको हो ।
निकै नै जोखिमपूूर्ण मानिएको यस स्थानमा अवार्ड वितरण गर्नु गौरवको विषय भएको भन्दै अध्यक्ष सुवेदीले भने–‘अवार्डका लागि चाहिने सम्पूर्ण बन्दोबस्ती मिलाएका थियौं, तर पनि यात्राका क्रममा भोगेका दुःख कष्टलाई अवार्ड सफलतापूर्वक सम्पन्न भएपछि खुशी तुल्यायो ।’ अवार्ड लिन सर्वोच्च शिखर सगरमाथाको वेश क्याम्प पुगेका कलाकारहरुले नौलो अनुभूति गरे । उनीहरुले यात्राकाक्रममा महशुस गरेको दुःख तथा थकानको पीडालाई अवार्ड हातमा उचालेपछि खुशीसँग साटे ।