सप्तरीमा एमालेलाई कार्यक्रम गर्न नदिने

राजविराज : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले जिल्लामा एमालेको कार्यक्रम हुन नदिने निर्णय गरेको छ ।
मोर्चाका संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले एमालेको सबै किसिमका कार्यक्रम निषेध गर्ने निर्णय गरेको हो । मधेशका सवालहरुमा स्पष्ट र सकारात्मक परिवर्तन नआएसम्म नेकपा (एमाले)को कुनै पनि तह तप्काको कार्यक्रमलाई निषेध गर्न आइतबार जारी विज्ञप्तिमार्फत मोर्चाले दलका नेता, कार्यकर्ता र सर्वसाधारणमा आह्वान गरेको छ ।
मधेशको भुमिमा आएर मधेश र मधेशीलाई अपमानित तुल्याउने, मधेश आन्दोलनलाई बदनाम गर्ने÷गराउने, मधेशी सहिदहरुलाई अपमानित गर्ने कार्य कदापि मान्य नहुने भन्दै जारी विज्ञप्तिमा एमालेको जुनसुकै कार्यक्रमलाई सप्तरीमा निषेध गर्ने निष्कर्षमा मोर्चा पुगेको जनाइएको छ ।
एमाले सप्तरीले सोमबारदेखि राजविराजमा दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ ।
मोर्चाको बैठकमा तराई मधेश लोकतान्त्रीक पार्टीका सह महामन्त्री जयप्रकाश ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल, संघिय समाजवादी फोरम नेपाल तराई मधेश प्रादेशिक समितिका मुख्य सचिव शम्भु झालगायत मोर्चाआबद्ध नेताहरुको उपस्थिती रहेको थियो ।