कुलमानलाई काम गर्न नदिने ३ जनालाई , उर्जा मन्त्रालयले थाल्यो कारबाही

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सुधार प्रकृयामा अवरोध गर्ने तीन सञ्चालक बिरुद्ध उर्जा मन्त्रालयले कारबाही थालेको छ।
उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणका सञ्चालकहरु लक्ष्मण प्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई तुरुन्त प्रष्टिकरण सोधेर कारबाही प्रकृया अघि बढाउन सचिव अनुपकुमार उपाध्यायलाई निर्देशन दिएका हुन्।
मन्त्री शर्माले सचिव उपाध्याय सहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए। त्यहि क्रममा उनले सञ्चालकहरुलाई कारबाही प्रकृया अघि बढाउने निर्णय गरेका थिए।
तीन सञ्चालकले प्राधिकरणलाई आर्थिक रुपमा सवल बनाउन र लोडसेडिङको दीर्घकालीन समाधानका लागि कम्पनी मोडलमा परियोजना अघि बढाउने प्रस्तावमा अवरोध सिर्जना गरेका थिए। साथै प्राधिकरण सञ्चालक समितिको निर्णय भन्दै तीन जनाले हस्ताक्षर गरेर मिडियामा कार्यकारी निर्देशक बिरुद्ध प्रचार गराएका थिए।
मन्त्री शर्माले सञ्चालकहरुको यो व्यवहार विद्युत प्राधिकरण ऐन २०४१ को प्रतिकुल रहेको भन्दै कारबाहीको निर्देशन दिएका हुन्। सचिव उपाध्यायले उनीहरुलाई प्रष्टिकरणकालागि आजै चिठी काट्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ। चित्त बुझ्दो जवाफ नदिएमा मन्त्रालयले उनीहरुलाई हटाउनेछ।
अग्रवाल र मिश्रलाई खिलराज रेग्मी मन्त्रीपरिषदका उर्जामन्त्री उमाकान्त झाले प्राधिकरणमा नियुक्त गरेका थिए। लामिछानेलाई भने सुशिल कोइराला नेतृत्वको सरकारका उर्जामन्त्री राधा ज्ञवालीले नियुक्त गरेकी थिइन्।
ज्ञवाली पछि उर्जा मन्त्रालय सम्हालेका वामदेव गौतमले हटाएका लामिछाने अदालतको आदेशबाट केहि समयअघि मात्र पुनर्वहाली भएका हुन्। प्राधिकरणमा घिसिङ नियुक्त भए देखि नै असहयोग गर्दै आएका अग्रवाल र मिश्रले लामिछानेको पुनर्वहाली पश्चात संगठित रुपमा अवरोध सुरु गरेका थिए। @ बिजमान्दु |