पूर्व राजा ज्ञानेन्द्रको रहस्यमय सिंगापुर देखि बेइजिड्ड सम्मको यात्रा ‘वार भयो कि पार ?

काठमाडौं । संविधान संशोधन गर्ने कि नगर्ने ? कसरी संशोधन गर्ने ? काठमाडौंका शक्तिकेन्द्र का कोठाहरूमा यस्तो छलफल चलिरहँदा उता बेइजिङमा चाहिँ नेपालको राजनीतिका वारेमा अर्कैखाले खेलोमेलो चलिरहेको छ । बारम्बार नयाँ दिल्ली धाउने पूर्वराजा ज्ञानेन्द्र शाहले बेइजिङ भ्रमण सकेका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेट्ने मेलोमेसो मिलाएर पूर्व महाराजा ज्ञानेन्द्रले काठमाडौं छाडेका थिए । ज्योतिष र साइतमा असाध्यै विश्वास गर्ने ज्ञानेन्द्र शाहले एकजना पण्डितजीले निकालिदिएको शुभसाइत २०७३ कात्तिक २४ गते बुधवारका दिन नागार्जुन छाडेका थिए र त्यसको केही घन्टापछिको साइतमा त्रिभुवन विमानस्थल टेकेका थिए । त्यसपछि उनी सिंगापुरका लागि रवाना भएका थिए ।
उद्देश्य थियो–सिंगापुरमा भारतीय विशेष सूत्रसँग भेट्ने । योजना मुताबिक ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्त विश्वासपात्र जावेद उस्मानीसँग निकै गहिरो छलफल गरेका थिए । त्यसपछि उनी लागे चीनको राजधानी बेइजिङ । श्रीपेच खोसिएपछि पहिलो पटक बेइजिङ पुगेका ज्ञानेन्द्रले चिनियाँ राष्ट्रपति भेट्न १२ दिन कुर्नुपरेको बुझिन्छ । १२ दिन कुर्नुको कारण हो–सीको विदेश भ्रमण । चिनियाँ राष्ट्रपतिको विदेश भ्रमण चलिरहेकाले ज्ञानेन्द्र शाहले १२ दिन पर्खिनुपरेको बताइन्छ । १२ दिनपछि चाहिँ चिनियाँ राष्ट्रपतिसँग ज्ञानेन्द्रले भेट्न पाए त ? निर्मल निवास स्रोतले यो भेटको चाहिँ पुष्टि गर्न सकेन ।
बेइजिङमा रहँदा ज्ञानेन्द्रले उच्च राजनीतिक तहमा ठोस छलफल गरेको बुझिन्छ । उनले कोकोसँग भेटे भन्ने यकिन समाचार आइसकेको छैन तर बेइजिङमा राख्ने कुरा भने पहिल्यै काठमाडौंमा तय भइसकेको बताइन्छ । ज्ञानेन्द्र निकटहरूले तयार गरेको विषय नै बेइजिङमा राखिएको बताइएको छ ।ज्ञानेन्द्रले चीन जानु अगाडि भारतीय विशेषदूत उस्मानीसँग जे कुरा राखेका थिए, बेइजिङमा पनि त्यही कुरा राखेको बताइन्छ ।
बेइजिङ्ग र सिंगापुरको राजनीतिक भेटघाटमा २०६३ बैशाख ७/८ गते आन्दोलनरत दलहरू र तत्कालीन महाराजा ज्ञानेन्द्रसंग मध्यस्थको भूमिका निभाएका भारतीय विशेषदूत करण सिंहसंग जुन समझदारी र सम्झौता भएको थियो, त्यसको उल्लंघन गरिएको गुनासो राखिएको बताइन्छ । राजनीतिक बेइमानी गरी आफूलाई धोका दिएर राजतन्त्र फाल्ने निर्णय गरेको विषय ज्ञानेन्द्रले जोडदार रुपमा उठाएको बताइन्छ । स्रोतका अनुसार, राजतन्त्रको अन्त्यपछि राजनीतिक अस्थिरता बढेको, नेपालमा गणतन्त्र असफल भएको, दलहरूले १० वर्षसम्म पनि स्थानीय निकायको निर्वाचन गर्न नसकेको, देश संस्थागत भ्रष्टाचारले थिलथिलो भएको, असंलग्न परराष्ट्र नीति, संलग्नतातर्फ डोरिएकाले नेपालको अखण्डता, जातीय सन्तुलनमा समेत आँच पुगेको कुरा राखिएको छ । ज्ञानेन्द्रको तर्फबाट यसको समाधान पनि प्रस्ताव गरिएको छ– ०४७ सालको संविधान पुनरस्थापना गर्ने । २०४७ सालको संविधान पुनस्थापना भएमा राजनीतिक रुपमा शक्ति सन्तुलन कायम हुने, जातीय सद्भाव कायम हुने र देश अस्थिर राजनीतिबाट स्थिरतातर्फ अघि बढ्ने प्रस्ताव अघि सारिएको स्रोतको दावी छ ।
पूर्व युवराज्ञी हिमानी शाह सहित १९ दिने सिंगापुर–बेइजिङ्ग र फेरि सिंगापुर हुँदै हिमानी शाह सहित पूर्व राजा शाह २०७३ मंसिर १२ गते सिल्क एयर चढेर दिनको १२.३० बजे स्वदेश फर्किएका छन् । सिंगापुरमा रहँदा ज्ञानेन्द्र शाहले भेटेका जावेद उस्मानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट र विश्वास पात्र मानिन्छन् । मोदीले मुस्लिमलाई खासै विश्वास गर्दैनन् तर उस्मानीलाई भने निकै विश्वास गर्ने गरेको बताइन्छ । स्वच्छ छवीका परराष्ट्रविज्ञ मानिने उस्मानी भारतीय सरकारी एजेन्सी इण्डियन फरेन सर्भिस (आइएसएफ)का सिनियर ब्यक्तित्व हुन् । राजतन्त्र पुनरस्थापनाबारे उस्मानीले मोदीलाई कसरी विफ्रिङ गर्छन् त्यसमा धेरै कुरामा निर्भर रहने बताइन्छ । तर, कतिपय जानकार स्रोतहरूले पूर्व महाराजाधिरज श्री ५ ज्ञानेन्द्र वस्र विक्रम शाह देवको वेइजिङ दौडाहालाई भारतले पचाउन नसक्ने दावी गरेका छन् । नयाँ दिल्लीबाट आश मरेकैले ‘महाराजा’ ज्ञानेन्द्र शाहले नयाँ दिल्ली छाडेर बेइजिङको दौड थालेको बताइन्छ । बेइजिङ वार्ता कस्तो भयो त ? यसको जवाफ ज्ञानेन्द शाहका आगामी क्रियाकलापले दिने जानकारहरूको भनाइ रहेको छ । @ विक्लीनेपाल |