एमालेको गरेको प्रस्ताव राष्ट्रवादी, त्यही प्रस्ताव सरकारले गर्दा राष्ट्रघाती कसरी ? एमाले ध्वंशात्मक प्रतिपक्ष बन्न खोज्यो

१६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले ध्वंशात्मक भन्दा जिम्मेवार प्रतिपक्ष बन्न नेकपा एमालेलाई आग्रह गरेका छन् । एमालेको विगतको प्रस्तावलाई अहिलेको सरकारले संशोधनको रुपमा अघि सारेको उनले प्रष्ट पारे ।
अखिल क्रान्तिकारीको काठमाडौं जिल्लाको जागरण अभियान विहीबार राजधानीमा उदघाटन गर्दै बस्नेतले प्रश्न गरे, ‘उही प्रस्ताव एमालेले ल्याउँदा राष्ट्रवादी हुने र माओवादीले ल्याउँदा कसरी राष्ट्रघाती हुन्छ ?’
पूर्वगृहमन्त्री समेत रहेका नेता बस्नेतले भने, ‘एमालेले ध्वंशात्मक प्रतिपक्षको होइन, रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्यो ।’
राष्ट्रिय एकता बलियो बनाउन र संविधान कार्यान्वयन गर्न संविधान संशोधन प्रस्ताव ल्याइएकाले जुनसुकै हालतमा पारित हुने उनले विश्वास व्यक्त गरे ।
आन्तरिक राष्ट्रयता बलियो नभई मुलुक कहिल्यै एकढिक्का नहुने बस्नेतले जिकिर गरे ।