ड्रोन क्यामरा उडाएको आरोपमा तीन अमेरिकी पक्राउ

मंसिर १३, कुश्मा: पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा ड्रोन क्यामरा उडाएको आरोपमा प्रहरीले तीन जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो कुस्माबजारबाट पक्रेको छ । पर्वतको बड्गाउँस्थित मुलुककै अग्लो झोलुङ्गे पुल वरपर ड्रोन क्यामरा उडाइरहेको अवस्थामा अमेरिकी नागरिकलाई प्रहरीले पक्रेको हो ।
पक्राउ परेका अमेरिकी नागरिकहरुमा रोर्बट माइकल केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन रहेका छन । उनीहरु मुक्तिनाथबाट पोखरा फर्कने क्रममा अग्ला पुलमा अवलोकनका लागि आएका थिए । मोटरसाइकलमा मुस्ताङ्ग पुगेर फर्केका पर्यटकहरु फर्किको प्रहरीले जनाएको छ ।
ड्रोन क्यामरा उडाएको क्षेत्र सुरक्षाको हिसाबले सम्बेदनशील शसस्त्र प्रहरी बल चण्डिका गण नजिकै पर्छ । प्रहरीले ड्रोनबाट खिचेका सामाग्री नष्ट गर्न लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले ड्रोनबाट कुस्मा, अग्लो पुल र वरपरको भिडीयो खिचिएको नपाइएको बताए । उनीहरुले क्यामराले नै अरु भिडीयो खिचेको बताएका छन । ड्रोन क्यामरा भने अनुमति बिना चलाएको पाइएकोले प्रहरीले नै नियन्त्रणमा राखेको छ। ‘कागजात लिएर आएपछि फिर्ता गर्छौ’ उनले भने । अहिले उनिहरु गन्तव्यतर्फ फर्किएका छन् ।