२१ वर्षपछि भारतीय अपराधी पक्राउ, सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रवक्ताको भनाई

मंसिर १३ , विराटनगर: गोली प्रहार गरेर मोरङको कटहरी ४ का ३५ वर्षीय छटुलाल कामतको हत्या गरिएको घटनामा संलग्न भारतीय नागरिकलाई मोरङ प्रहरीले घटना भएको २१ वर्षपछि पक्राउ गरेको छ ।
घटनामा संलग्न भारत जोगवनीका ५० वर्षीय राधाकान्त मण्डल भनिने राधेश्याम पाललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले बताए । ‘भारतीय भूमिमा बसेर नेपालतर्फ अपराधिक गतिविधी गर्ने घटनामा उनको संलग्नता रहेको पाइएको छ,’ डीएसपी थापाले भने, ‘विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले पक्राउ गरेर अदालतमा पेश गरेको हो ।’ नेपालतर्फ भएका अन्य अपराधिक घटनामा पनि राधेश्यामको संलग्नता रहेको आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।
प्रहरीका अनुसार राधेश्यामको नेत्रृत्वमा रहेका पाँच जनाको समूहले गोली प्रहार गरेर २०५२ साल कात्तिक १ गते साँझ मोरङको कटहरी ४ का छटुलाल कामतको हत्या गरेको थियो । डीएसपी थापाले कामतमाथि गोली प्रहार गर्ने र घटनाको योजना बनाउने मुख्य योजनाकार आफू नै भएको राधेश्यामले प्रहरी समक्ष स्विकार गरेको बताए । अन्य चार जनाको सहयोग लिएर उनले गोली प्रहार गरेर कामतको हत्या गरेको प्रहरीको भनाइ छ । घटनापछि फरार रहेका उनी भारतमै बस्दै आएका थिए । भारतमा समेत हत्या, डकैती, लुटपाट, अपहरण लगायतका दर्जनौ अपराधिक घटनामा उनको संलग्नता रहेको नेपाल प्रहरीले जनाएको छ ।
हत्या गरिएका छटुलाल कटहरी स्थित स्थानीय मिलका मजदुर हुन् । मिलको काम सकेर श्रीमती र छोरीका साथमा घर फर्कदै गर्दा गोली हानेर उनको हत्या गरिएको प्रहरीको भनाइ छ । हत्या गरिएपछि उनका साथमा रहेको १६ हजार नौ सय रुपैयाँ समेत घटनामा संलग्नले लुटेर लगेको जानकारी डीएसपी थापाले दिए । घटनामा संलग्न पाँचै जना विरुद्ध छटुलालकी श्रीमती लक्ष्मी कामतले किटानी जाहेरी दिएकी थिइन ।
प्रहरीले घटनामा संलग्न भनिएका सबै जना विरुद्ध खुनडाँका मुद्धा चलाएको थियो । पक्राउपछि अदालत पेश गरिएका राधेश्यामलाई जिल्ला अदालत मोरङले सोमबार पुरपक्षका लागि कारागार चलान गरेको छ । घटनाका मुख्य अभियुक्तका रुपमा अदालत उपस्थित गराइए पनि गत शुक्रबार पक्राउ गरिएका उनका बारेमा प्रहरीले सार्वजनिक गरेको थिएन । जिल्ला अदालत मोरङका नायव शुब्बा श्याम ओझाका अनुसार न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलाशले तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएका कारण राधेश्यामलाई पुरपक्षमा राखेर घटनाको अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
घटनामा संलग्न सुनसरीका आसनारायण चौधरी र भारतीय नागरिक जवाहारलाई भने त्यतिबेलै प्रहरीले पक्राउ गरेको थियो । नासु ओझाका अनुसार घटनामा संलग्न दुबै जना घटना भएको एक वर्षपछि जिल्ला अदालत मोरङबाट सफाई पाएर छुटिसकेका छन् । तत्काल पक्राउ परेका दुई जनाका सम्बन्धमा जिल्ला अदालतले गरेको फैसलालाई पुनरावेदन अदालतले पनि सदर गरिदिएको थियो ।
घटनामा संलग्न दुई जना भारतीय नागरिक अझै सम्म फरार छन् । प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गर्न मानेन ।