पहिचान सम्मान हो कि अपमान ?

-रमेश चाैधरी
पहिचान सम्मान हो कि अपमान? ल्याटिन अमेरिकी देश ब्राजिलमा हेर्न गए पुग्छ।अहिले पहिचानको बिरोध गर्नेहरूको आखिर गन्तव्य पनि उहि नै हो तर संसार नबुझ्नेहरुलाई बुझाउन अत्यन्त कठिन हुँदोरहेछ।आफ्नो कुनै साँस्कृतिक पहिचान नभएका युरोपियन र अमेरिकनहरु साम्बा फेस्टिभल अवलोकनका लागि सडकको एकछेउ मात्रै पाए कति भाग्यमानी सम्झिन्छ्न आफुलाइ!
अहिले बिश्वको बिकास यति तिब्र गतिमा भैराखेको छ कि मान्छे पुरातन सोचको कल्पना समेत गर्न रुचाउँदैनन तर पहिल्याउँदै जाँदा एउटा यस्तो बिम्ब स्तम्भित हुन्छ जसलाई कसैले न भुल्न सक्छन् न उखेलेर फाल्न नै सक्छन, हो त्यही हो पहिचान। पहिचान कुनै ब्यक्तिको पेवा होइन र हुनपनी सक्दैन।पहिचान त मुलुक समृद्धिको सबैभन्दा ठुलो आधार हो,पहिचानले बिश्व पर्यटनलाई आगमन गराउँछ र संस्कार परम्परालाइ बचाइराख्नुको साथै अर्थतन्त्रको वृद्धिमा यसले अहं भुमिका खेल्दछ।
आफ्नो देशमा भएको सांस्कृतिक पहिचानलाइ नष्ट गरेर,पछी अरुको पहिचानको प्रसंसा गर्ने मुर्खताको मार्गमा छौँ हामी।यसले बिस्तारै हिन्द सभ्यता,हाम्रो पहिचान माथी बनमारा जस्तै मौलाउँदै गएको प्रतित हुन्छ। लाटोहरुले केवल इशारा बुझ्छन्,बोलि बुझ्न सक्दैनन्। हो!अहिले विद्वानहरुको आवाज हो पहिचान। दुईचार वटा सुगा मैनालाइ – राम राम कहो पट्टु?भनेर रटाएर मात्रै केहि हुनेवाला छैन,पहिचान त सक्कली आवाज हो जुन प्राणीले गर्भमै सिकेर आएको हुन्छ। सक्कली फुलको अन्त्य गरेर प्लास्टिक फुलको आगमन गराउनेहरु नै पहिचान बिरोधिहरु हुन्। जस्लाइ संस्कार र परम्पराको ख्याल हुदैन, उसलाई न त आफ्नी आमाको ख्याल हुन्छ न त मुलुकको नै। हो! त्यस्तैले त आफ्ना पुर्खाहरुलाइ बृद्धाश्रम पुर्याउँछन। जसले बाबुआमालाइ नै घर बाट लखेटेर बृद्धाआश्रममा पुर्याउँछन तेस्तोले मुलुक कहाँ पुर्याउँछन?
धेरै साथीहरू पहिचानको कुरा गर्दा जातीय कुरो भो भन्छन्।भुत,भबिस्य,वर्तमानको बिचारै नगर्नेले मात्रै यस्तो कुरा गर्ने हो।”मेरो गोरुको बार्है टक्का”को परिणामले बिश्वका धेरै देश भड्खालामा जाकिएको कुरा धेरैलाई थाहै छ।शान्ति अदृश्य शक्तिकि दुत हुन् भने अशान्तिको विकल्प खोजिनुपर्छ।संघीयता,पहिचान सहितको भएन भने अशान्ति हुने लगभग पक्का जस्तै देखिन्छ,आखिर यसको पनि त विकल्प होला।उत्तरमा उहि एउटै देखिन्छ-भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयता। संघीयताले देश टुक्रिन्छ भनेर गलत पाठ्यक्रम पढाउनेले संघीयताको बिषय नै किन उठाए होलान्? मुलुक संघीय लोकतन्त्रमा प्रवेश गरिसकेको छ,अब यसबाट बाहिर निकाल्नु भनेकै मुलुक पछाडि फर्किनु हो।लोकतान्त्रिक मुलुकमा जनता जागेपछिको परिणाम परिवर्तनिय हुन्छ,मुलुकलाई पछाडी फर्काउन खोजे जनताले नेतृत्व नै परिवर्तन गरिदेलान् भन्ने हेक्का पनि नेताले राख्नुपर्दछ।
हाम्रो देश नेपालमा संघीयता बहसको प्रारम्भमा पहिचान सहित दिने भनिएता पनि अन्ततः शुक्राचार्यको बुद्धि कसले शासकको गिदिमा भर्यो कुन्नि?अहिले मुलुक विवादको भुमरीमा फसेको छ।पहिचान परिचय हो भन्ने सबैलाई थाहा हुँदाहुँदै बुझ किन पचाइँदै छ कुन्नि?बुझ्नै सकिएन। इलामको चिया बगानमा सयौं बर्ष मजदुरी गर्नेहरूलाई के अझै मजदुरमै स्थापित गरिरहने हो त?पुर्बमा भएको लिम्बु संस्कृतिले हाम्रो देशको पहिचानमा किन्चित पनि भुमिका खेलेको छैन त?आज हामी बिर गोर्खालीको रूपमा परिचीत छौँ, यो परिचयको बाहक को हो?बिर गोर्खालीको परिचय दिने राइ,लिम्बु,गुरुङ,मगर जसले बिश्वमा हामिलाइ परिचीत गराए,उनले आफ्नै देशमा पहिचानको लागी लड्नुपर्ने?
हिजो तराईको मलेरिया,कालाजार पचाएर भुमिको सुरक्षा गर्ने भुमिपुत्र थारुहरुले अझै कमैया बनेर राज्यको दास बनिदिनुपर्ने?लड्ने,घुर्क्याउने जतिले पाउने,अनि “जो सोझो उसको मुखमा घोचो” भनेझैँ थारु अझै पिल्सिरहने?नेपालको इतिहासमा थारुहरुको बेग्लै पहिचान छ।थारू जाती आफ्नै संस्कृति रहनसहन र परम्परामा बाँच्दै आएको सोझो जाती हो।यो जाती अरुको सिमानामा गएर मिसिन चाहन्न तर आफ्नो बस्तीमा आउनेलाइ सहर्षै स्वीकार गर्दै अत्यन्तै हार्दिकता साथ मिसाउँछ।हजारौं बर्षसम्म तराइको घनाजंगलमा बिषालु सर्प,बिच्छी,बाघ भालुसंग पैँठोजोरी खेल्दै आएको यो जाति न कहिल्यै शहरको बस्तीसंग नजीक हुन रुचायो न त शहरको भिडमा मिसिन नै।
हिजोको दिनमा आफ्ना बस्ती नजिकै हुर्किरहेका तराइका राजमार्ग नजिकैका शहर बजारहरु बिराटनगर, नारायणघाट, लमही, नेपालगन्ज, धनगढी,महेन्द्रनगरतिर थारुले खेती गरेतापनी आफ्नो जोतेको माटो भनी कहिल्यै दाबी गरेनन्, यहि यो जातिको सोझोपनको फाइदा आजसम्म राज्यले उठाउँदै आएको छ। यो कुरा राज्यको शासकले बेलैमा सोच्नुपर्छ,पहिचानको संघीयतामा सोझा मुलबासी थारुलाइ पनि अन्याय गर्नुहुदैन।भाइरस भाइरल भयो भने क्यान्सर हुन्छ,क्यान्सरको अन्तिम बिन्दु भनेकै मृत्यु हो।
आन्दोलन गर्नु हाम्रो रहर होइन,नगरेसम्म सरकार सुन्दैन।बेलैमा सुने न आन्दोलन,न बिबाद?बरु देश बिकासमा सबैको साझा सहभागिता नै उत्तम उपाय हो।
साभार:पुस्तक संयोग बाट थोरै अंस @ esamat.com