अनिल योन्जन तामाङको निर्देशनमा छुल्ठिम गुरुङले चलचित्र निर्माण गर्ने
काठमाडौँ । होम प्रडक्सनबाहेक अन्य ब्यानरमा देख्न मुस्किल पर्दैगएकी नायिका रेखा थापा चलचित्र डायरीमा भिलेनका रूपमा देखिँदै हुनुहुन्छ । सो चलचित्रको प्रवद्र्धन सामग्री सार्वजनिक गरिएको छ । सार्वजनिक सामग्रीमा चलचित्रको कथा सार प्रस्तुत गरिएको छ । चलचित्रमा छुल्ठिम गुरुङ, सन्नी सिंह, रेखा थापा, रूपा राना, विनोद पौडेल, दिनेश डिसीलगायतको अभिनय रहेको छ ।
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनद्वारा संयुक्त रूपमा निर्माण गरिएको चलचित्रलाई अनिल योन्जनले निर्देशन गर्नुभएको छ । चलचित्र नोभेम्बर रेनपछि डल्लीको रूपमा चर्चित छुल्ठिम गुरुङ चलचित्र डायरीको निर्मात्री हुनुहुन्छ । अभिनयबाट चलचित्र निर्माणतिर लाग्नुको कारणबारे नायिका छुल्ठिम भन्नुहुन्छ– “अभिनय कहाँ छाडेको हो र ? कथा राम्रो लागेकाले निर्माणतिर हात हालेको मात्र हो । ”
चलचित्र नोभेम्बर रेनमा डल्ली चरित्र स्थापित गरेजस्तै डायरीबाट जोयाको चरित्र स्थापित हुने दाबी गर्दै नायिका छुल्ठिम भन्नुहुन्छ– “अभिनयपछि म निर्माण क्षेत्रमै लाग्छु । यसलाई त्यसकै तयारीका रूपमा पनि लिन्छु । ” चलचित्रमा छेतेन गुरुङको कथा, शिव राम श्रेष्ठको छायाङ्कन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ । निर्देशक अनिल योञ्जनले चलचित्रलाई चैतसम्ममा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।