एउटा ठूलो कलह,चर्कियो विवाद – प्रसङ्ग कन्चन शर्मा रेग्मी भर्सेज मोहन रेग्मी

३ असार २०४७ सालमा वैवाहिक जीवनमा बाँधिँदा कुल्देबमाण्डु, बाजुरा स्थायी घर भएका मोहन रेग्मी २५ वर्षका तथा मोरङकी कञ्चन शर्मा ‘रमा’ १८ वर्षकी थिइन् । युवा अवस्थामा भएकाले उनीहरू दुवैमा नयाँ जीवनयात्राका सम्बन्धमा कौतूहलता त थियो नै, साथसाथै उनीहरू एक–अर्कालाई सदैव साथ दिने कसम खाँदै विवाह–बन्धनमा बाँधिएका थिए ।
रेग्मी र शर्माको कोखबाट साढे ५ वर्षमा दुई छोरा जन्मिए दीपेन्द्र र सागर । तिनको लालनपालनमा पनि यो दम्पती सँगै अघि बढ्यो । सरकारी जागिरे पति मोहन जागिरका सिलसिलामा विभिन्न ठाउँ पुग्थे, सँगसँगै कञ्चन पनि । बाजुरा, दार्चुला र दैलेख पुग्दा मोहन र कञ्चनको जोडीले सहयात्रा गर्यो । छोराहरू हुर्कन थालेपछि उनीहरूको शिक्षादीक्षाका लागि कञ्चन काठमाडौं बस्न थालिन् भने मोहन सरकारी सेवाका सिलसिलामा अछाम पुगे ।
सँगसँगै यात्रा गरे पनि आफूहरूको सम्बन्धमा विवाहलगत्तै विवाद सुरु भैसकेको कञ्चनका पति मोहनको दाबी छ । ‘एक महिनासम्म हनिमुन अवधि रह्यो, त्यसपछि व्यवहारिक समस्याहरू आउँदै गए,’ एक अनलाइनलाई दिएको अन्तर्वार्तामा मोहनले भनेका छन्, ‘विवाहको ६ महिनापछि म प्रेसरको रोगी भएँ ।’ विवाहको केही समयमै कञ्चन राजधानीमा अनि मोहन धनकुटामा भए । धनकुटाबाट फर्किएपछि मोहनले कञ्चन रक्सी पिएर मात्तिने गरेको जानकारी पाए । यो कुरा उनकै छिमेकी लक्ष्मी श्रेष्ठले सुनाइन् । पहिलो पटक त्यही बेला कञ्चनले रक्सी पिउने कुरा थाहा पाएको बताउँदै मोहनले कञ्चनको ‘स्वच्छन्दता’ का कारण सम्बन्धमा समस्या आएको दाबी गरेका छन् ।
कञ्चनको दाबी भने त्यसको ठीक विपरीत छ । आफूले मोहनले भनेजस्तो कहिल्यै रक्सी नपिएको उनले बताइन् । बरु उनका अनुसार उनलाई रक्सी पिउन मोहनले नै प्रोत्साहित गरेका थिए । ‘मोहनले नै मलाई कम्पनी दे भनेर रक्सी ख्वाउँथ्यो,’ उनले साप्ताहिकसँग भनिन्, ‘एउटै टेबलमा सँगै बसेर रक्सी पिउँथ्यौं ।’ यस विषयमा मोहनको धारणा बुझ्न साप्ताहिकले पटक–पटक सम्पर्क गर्दा उनको फोन रिसिभ भएन ।
मोहन र कञ्चनबीच उनी अछाममा जागिरे रहँदा नै विवाद बढ्ेको देखिन्छ । यसैलाई बल मिल्ने गरी कञ्चनले पनि आफूलाई कम पैसा दिने गरेको बताएकी छिन् । कञ्चनकी पीके कलेज पढ्दाकी सहपाठी गायिका रेश्मा सुनुवारले पनि साप्ताहिकसँग उनी काठमाडौंमा रहँदा आफूसँग पैसा माग्ने गरेको बताइन् । ‘कञ्चन दिदी छोराको जन्मदिनका लागि भनेर हामीसँग पैसा माग्नुहुन्थ्यो,’ उनले भनिन्, ‘आर्थिक रूपमा उहाँ एकदमै समस्यामा हुनुहुन्थ्यो ।’
यता मोहनको दाबी भने त्यसको ठीक विपरीत छ । अछाममा रहँदा सिंहदरबारको राष्ट्रिय वाणिज्य बैंकको खातामा कञ्चन र छोराहरूका लागि भनेर आफूले पैसा पठाइदिने गरेको उनले बताएका छन् । ‘स्वच्छन्द व्यवहार तथा पिउने बानी कलेज पढ्न थालेपछि अझ बढ्दै गयो,’ उनले नेपालआज अनलाइनसँगको कुराकानीमा भनेका छन्, ‘म बाहिर थिएँ, बच्चा र श्रीमती घर पुगे कि पुगेनन् भनेर खाना खाइसकेपछि पनि सुत्न नसक्ने अवस्था रहन्थ्यो । पछिल्लो समयमा त उनी बाहिरबाट लरखराउँदै आउँथिन् । सहयोगीले हातले डोर्याएर कञ्चनलाई घरभित्र हुल्थे ।’
सन् २००६ मा मोहन नेदरल्यान्ड पुगे । यसबीच कञ्चनकी एउटी साथी आफ्नो ब्वाइफ्रेन्डका साथ कोठामा आएर यौनजन्य गतिविधि गरेको, दुई–दुई दिनमा अनगिन्ती साथीहरू आवतजावत गर्ने र बच्चाहरूको रेखदेखमा बेवास्ता गरेको मोहनले बताएका छन् । कञ्चनले क्रमश: चुरोट, रक्सीजस्ता लागूपदार्थ सेवन गर्ने, डान्सबार, गजल–रेस्टुराँ धाउन थालेको र पछि कोठाबाहिरै बस्न थालेको समेत बताएका छन्, तर कञ्चनले भने ती सबै दाबीलाई अस्वीकार गरेकी छिन् ।
मोहनले ललितपुरस्थित टीकाथलीमा घर बनाएपछि यो जोडीको आपसी विवाद अझ चुलिँदै गयो । परिवार टीकाथलीमा सरेको केही वर्षमै मोहन र कञ्चनको दाम्पत्य जीवनमा त्यस्तो मोड आयो, जुन दुवैले कल्पना गरेका थिएनन् । आपसी विवाद र मनोमालिन्यका कारण २०६५ सालको बीचतिर कञ्चनले घर छाडिन् । ‘हैसियत बढेपछि उहाँमा घमन्ड बढ्यो । मैले १९ वर्ष ठूलै अन्याय–अत्याचार खेपें ।’ कञ्चनले घर छोड्नुको कारणका सम्बन्धमा आफ्नो विवादित टेलिभिजन अन्तर्वार्तामा भनेकी छिन्, ‘म मन परिनँ रे † उहाँसँग हिंड्न लायककै भइन रे † उहाँ रूपवान हुनुभयो, म कुरूप भए रें † मेरो शरीर बाँगो छ । म जन्मिँदै यस्तो जन्मिएँ । यसमा मेरो के दोष ?’ उनले त्यसपछि आफूलाई बाटोको मझदारमा ल्याएर छाडिएको बताएकी छिन् ।
यता मोहन रेग्मीले भने कञ्चनले रक्सी पिउने मात्र होइन, उनीमाथि यौनिक दुव्र्यवहार गरेको समेत उल्लेख गरेका छन् । उनले कञ्चनकै कारण प्रेसर र डिप्रेसनको सिकार भएपछि आफूले डिभोर्सका लागि आग्रह गरेको र त्यसमा कञ्चनले नमानेको तर कञ्चनलाई आफूले घरबाट ननिकालेको बताएका छन् । ‘अदालतमा गएर डिभोर्स गरौं भनेर प्रस्ताव राख्दा कञ्चनले ‘म आफ्नो इच्छाअनुसार चलिरहेकी छु । किन डिभोर्स दिउँm ? तपाईं जे गर्न सक्नुहुन्छ, गर्नुस् भनिन् ।’ मोहनले भनेका छन्, ‘अदालत जाने कुरा भैसकेपछि बोरामा लत्ता–कपडा राखेर उनी हिंडिन्, बच्चाहरू सुतिरहेकै थिए । मैले बार्दलीबाट हेरिरहें । मेरा बच्चा यहीं छन् भन्लिन् भन्ने मेरो मनमा रह्यो, तर उनले एकपटक फर्केर समेत हेरिनन् ।’ मोहनले आफू पूर्ण रूपमा निर्दोष रहेको दाबी पनि गरेका छैनन् । ‘म महात्मा हो, मेरो दोषै थिएन म भन्दिनँ,’ उनले भनेका छन् ।
विवाह भएको २० वर्षपछि २०६८ साल फागुनमा कञ्चन र मोहनबीच डिभोर्स भएको जिल्ला अदालत बाजुराको रेकर्डमा उल्लेख छ । अदालती फैसलापछि पनि मोहनले आफूले कञ्चनलाई नैतिक तथा आर्थिक सहयोग गर्न चाहेको दाबी गरेका छन्, तर कञ्चनले भने उक्त दाबी अस्वीकार गर्दै आफूलाई सडकमा फालिएपछि सात वर्ष सडकपेटीमा बिताएको बताएकी छिन् । कञ्चनले सडकमा सात वर्ष बिताएको, छोराहरूले टक्सन गाडी चढेर हिंडेको जस्ता आरोपको मोहनले खण्डन गरेका छन्, तर कञ्चन भने त्यो दाबीमा अझै अडिग देखिन्छिन् ।
पश्चिमा समाजको तुलनामा नेपाली समाजमा महिला–पुरुषको सम्बन्धलाई विशेष मानिन्छ, तर मोहन–कञ्चनको पछिल्लो प्रकरणले महिला–पुरुषको सम्बन्धमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ । समाजशास्त्री सुधीर ढकाल आधारभूत मानवीय स्वभावहरू नै फरक भएकाले यस्तो बहस चलिरहेको बताउँछन् । ‘बेसिक ह्युमन नेचर नै फरक हुन्छ,’ ढकाल भन्छन्, ‘चर्चाहरू जसरी भए, त्यसमै समस्या छ । कसैले यसको जडमा पुग्ने प्रयत्न नै गरेका छैनन् ।’
एकथरीले महिलाहरू ‘दुष्ट’ हुँदैनन् भन्ने मान्यतामाथि प्रश्न उठाएका छन् भने अर्काथरीले पुरुषबाट सधैं हेपिने र थिचिने महिलाको विद्रोहका रूपमा मोहन–कञ्चन प्रकरणलाई लिइरहेका छन् । एकथरी कञ्चनको न्यायको पक्षमा वकालत गरिरहेका छन् भने अर्काथरीले मोहनको परिवारमाथि अन्याय भएको र कञ्चन दोषी भएको दाबी गरिरहेका छन् । यी दाबी र प्रतिदाबीका बीच एकातिर महिलाहरू निर्दोष हुन्छन् भन्ने परम्परागत मान्यतालाई चुनौती दिएको छ भने अर्कातिर पुरुषहरू पीडक हुन्छन् भन्ने सोचलाई पनि झट्का दिएको छ । आखिर किन यस्तो भयो ? समाजशास्त्री ढकालले यसलाई नेपाली पत्रकारिताको अपरिपक्वता बताए । ‘यो नेपाली पत्रकारिताको अपरिपक्वता हो,’ उनले भने, ‘व्यक्तिगत घटनामा प्रेस जिम्मेवार रूपमा प्रस्तुत हुन नसकेको देखियो ।’
यसरी चर्कियो विवाद
‘मलाई अपराधी भन्नेहरू हो, यो घटनामा मेरो परिवारलाई किन मुछ्यौ ?’ यो शीर्षकको भिडियो गत सोमबार बिहानै युट्युबको नेपाल संस्करणमा सर्वाधिक हेरिएको ट्रेन्डिङमा परेको थियो । २६ मिनेट ३५ सेकेन्ड लामो उक्त भिडियो मोहन रेग्मीको अन्तर्वार्ताको दोस्रो भाग हो । यसअघि उनकी पूर्वपत्नी कञ्चन रेग्मी शर्माले कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘सुमनसँग’ मा अन्तर्वार्ता दिएकी थिइन् ।
कान्तिपुर टेलिभिजनको ‘सुमनसँग’ कार्यक्रममा उनले पूर्वपति तथा छोराहरूले आफूलाई सडकमा जीवन गुजार्न बाध्य तुल्याएको भन्दै भावुक अन्तर्वार्ता दिएकी थिइन् । उक्त अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल नै भयो । त्यो अन्तर्वार्ताले सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई यति छोयो कि मोहन र उनका दुई छोरासहितको परिवारिक तस्बिर नै सामाजिक सञ्जालमा सेयर गरेर गाली–गलौजसहितको आक्रोश बर्सिन थाले ।
आफूविरुद्ध गालीगलौज गर्ने क्रम बढेपछि कञ्चनका पूर्वपति इन्जिनियर मोहन प्रतिरक्षामा उत्रिए । पहिलो चरण फेसबुकमा स्टाटस लेखेर दुईतर्फी कुरा बुझ्न आग्रह गर्ने रेग्मीले आलोचनाको क्रम नरोकिएपछि एक अनलाइनलाई भिडियो अन्तर्वार्ता नै दिए ।
चाँडै तात्ने सामाजिक सञ्जाल गर्माइरहेको अवस्थामै पानी खन्याउने गरी मोहनको अन्तर्वार्ता सार्वजनिक भयो । त्यसपछि सामाजिक सञ्जाल लगभग दुई खेमामा विभक्त छ । चाँडै भावनामा बहकिएर परिवारकै फोटो सेयर गरेर गाली गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि यो प्रकरणले सवक सिकाएको छ ।
मानिसहरू फोहोरमा कुहिनु हुँदैन भन्न नपाउने ? – दीक्षा चापागाईं, पवित्र सेवा समाज
कञ्चन शर्मालाई कहिले र कहाँ भेट्नुभयो ?
२०७३ सालको साउन महिना, ज्ञानेश्वरमा । मलाई बिहानै चन्दा थापाले कञ्चन शर्माको अवस्था बताउँदै फोन गर्नुभयो । मैले उहाँलाई ट्याक्सीमा मकहाँ ल्याइदिनुस् भनें । उहाँले तपाईं नै आइदिए हुन्थ्यो भन्नुभयो । त्यहाँबाट मैले ल्याएँ । घरमा ल्याएर उहाँसँग सोधपुछ गरें । उहाँसँग श्रीमान्को नम्बर रहेछ । दाजुभाइ–दिदीबहिनी सबैको नम्बर कण्ठै रहेछ । परिवार, श्रीमान्, छोरा, दिदीबहिनी, भाइ कसैले हेरेनन्, सबैले मलाई त्यागे । त्यसैले म सडक निस्किन बाध्य भएँ भन्नुभयो ।
कतिपयले कञ्चनको मानसिक स्थितिका सम्बन्धमा पनि प्रश्न उठाइरहेका छन्, खास कुरा के हो ?
म डाक्टर त होइन, तर उहाँलाई मानसिक सन्तुलन गुमाएको भन्न मिल्दैन । सात वर्षसम्म खुला आकाशमुनि बसेको मान्छेको सन्तुलन केही गडबड हुँदैन, दुरुस्तै रहन्छ पनि भन्न सकिँदैन । त्यसैले मैले उहाँलाई स्वास्थ्य परीक्षण गराउन पाटन लिएर गएँ । डाक्टरले त्यस्तो केही छैन भने । कुनै औषधी खानु पर्दैन ? भनेर मैले सोधेपछि छ–सात दिन ट्याब्लेट खाँदा राम्रै हुन्छ भन्नुभयो । कञ्चन चिया धेरै पिउनुहुन्छ । लेख्न मन पराउनुहुन्छ । सामान्य रूपमा हामी सबैसँग रमाउनुहुन्छ ।
कञ्चनले अरूकै गजल आफ्नो भन्नुभएछ । सत्य के हो ?
उहाँ लेखिरहनुहुन्छ । पढेका कुरा सम्झेर भनेको हुन सक्छ । अहिले पनि उहाँले लेखेको कापी मसँग छ । टेलिभिजन अन्तर्वार्तामा सुनाएको रचना उहाँको जिब्रोमा झुन्डिरहन्थ्यो । त्यही साँझ मैले सोधें, उहाँले कुनै बेला त्यो गजल पढेकी थिएँ, त्यसैले सुनाएँ भन्नुभयो ।
कान्तिपुर टिभीमा अन्तर्वार्ताको संयोग कसरी जुर्यो ?
म सबै कुरा फेसबुकमा पोस्ट गरिरहन्थें । सबैले मेरा पोस्ट हेरिरहेका हुन्छन् । सुमन खरेलले कञ्चन शर्माको अन्तर्वार्ता राखौं भन्नुभएको होइन । मैले फेसबुकमा उहाँ (कञ्चन)का बारेमा पोस्ट गरेकी थिएँ । सुमन दाइलाई पनि उहाँको म्यासेज र फोटो पठाएँ, श्रीमान र परिवारका बारेमा कुरा गरेर कार्यक्रममा राख्न मैले नै उहाँसँग आग्रह गरेकी हुँ ।
कतिपयले यो प्रसंगलाई दीक्षा चापागार्इंले अतिरञ्जित गरेको आरोप लगाइरहेका छन्, के भन्नुहुन्छ ?
मैले अतिरञ्जित गरेकी होइन । मोहन रेग्मीले उहाँसँग सारा जीवन बिताउँछु भनेर विवाह गर्नुभएको हो । कञ्चन शर्मा मात्र होइन, मैले मोहन रेग्मीलाई पनि बाटोमा बेवारिसे अवस्थामा फेला पारें भने उहाँको गोडा धोएर पाल्छु । म सबैको सेवा गरेर बसेकी मान्छे । त्यसो भन्दा मलाई चोट पर्यो ।
तपाईंले उहाँ (मोहन रेग्मी) लाई फोन पनि गर्नुभएको थियो रे त ?
कञ्चन शर्मालाई यहाँ ल्याएको तीन–चार दिनपछि घरको नम्बरमा फोन गरें । कसैले रिसिभ गरेन । मोहन सरको नम्बरमा फोन गरें । उहाँले फोन रिसिभ गर्नुभयो । मैले अफिसमा भेट्न आउछु भन्दा उहाँले पोजेटिभ रेन्सपोन्स दिनुभएन । केही दिनपछि ‘ल्याक’ नामक संस्थाबाट फोन आयो । ‘दीक्षाजी हो ? कञ्चन शर्मा तपाईंकहाँ छिन् ? कहाँबाट लिएर आएको ? उहाँको हसबेन्डलाई फोन गर्नुभएछ । अन्य कुरा नगरेकै बेस’ भनेर फोन राखियो ।
तपाईंमाथि आँसु बिकाउन खोजेको आरोप पनि छ नि ?
आँसु बिकाउन खोजेको होइन । कञ्चन शर्माले दु:ख पाएकै हुन् । दुई छोरा र श्रीमान् भएकी नारीले सात–सात वर्ष सडकमा बिताउनु दु:ख होइन ? कसैले ममाथि धन्यवादको पगरी गुथाउन वा दीक्षाले अपराध गरेको भनून् वा अरू जे भन्न मन लाग्छ भने पनि म यस्ता मान्छेलाई सहायता गर्न छोड्दिनँ । मैले भोका मानिसलाई गाँस दिन नपाउने ? अरूको दु:ख निवारण गर्ने प्रयास गर्न नपाउने ? मानिसहरू फोहोरमा कुहिनु हुँदैन भन्न नपाउने ? मोहनजी आफू तीनतले घरमा बस्ने, कञ्चन शर्माका लागि दाल, भात, तरकारीको व्यवस्था नगरिदिने ?
रेश्मा सुनुवार (गायिका), (कञ्चनकी साथी)
म कञ्चन दिदीलाई १५ वर्षदेखि चिन्छु । मैले बागबजारस्थित पिके कलेज पढ्दादेखि नै उहाँलाई चिनेकी हुँ । उहाँको कान्छो छोरा र मेरो छोरा ग्यालेक्सी स्कुलमा सँगै पढ्थें । त्यतिबेला उहाँ आर्थिक रूपमा कमजोर हुनुहुन्थ्यो । कञ्चन दिदी छोराको बर्थ डे मनाउन पनि मसँग सहयोग माग्नुहुन्थ्यो । उहाँको वैवाहिक सम्बन्धका बारेमा म धेरै बोल्न चाहन्नँ । अहिले जुन किसिमले कुराहरू बाहिर आएका छन्, त्यो धेरै पहिले नै आउनुपर्ने हो । उहाँले आफ्ना छोराहरूले आफूलाई न्याय दिन्छन् भनेर कहिल्यै न्यायको ढोका ढकढक्याउनुभएन । कञ्चन दिदी त्यतिबेलादेखि नै एकदमै पीडामा हुनुहुन्थ्यो । हामीले उहाँलाई मिलेर केही गरौं भनेर पटक–पटक भन्यौं, तर उहाँ मानसिक रूपमा एकदमै कमजोर भएकाले साहस गर्नुभएन । म मर्छु भन्नुहुन्थ्यो । त्यसपछि उहाँहरू भक्तपुर सर्नुभयो । त्यहाँ सरेपछि भने हाम्रो उति सारो भेट भएन ।
मसँग मेलजस्तो भएर यौनजन्य क्रियाकलाप गरिएको छ | -मोहन रेग्मी, कञ्चनका पूर्वपति
कञ्चन र मेरो उमेर ६ वर्ष मात्र फरक हो । बेडमा भएका कुरा पनि दिदीहरूसँग चियाको चुस्की लिँदै हाँसोमा उडाइयो । विवाह भएको पहिलो पटकभन्दा बाहेक मसँग सधैं मेलजस्तो भएर यौनजन्य क्रियाकलाप गरिएको छ । म यो पीडा बाध्य भएर भन्दैछु । मेरा बालबच्चा सकिन थाले, घर सकिन थाल्यो । ममाथि एकोहोरो प्रहार भएपछि मैले बोल्नैपर्ने भयो ।
सधैं झगडा हुने, कलह हुने । सासु आएर तीन महिना बसेपछि एक महिनासम्म केही बोल्नुभएन । पछि बोल्नुभयो तर उसले टेरिन । बच्चाहरूले डिभोर्स नगरी कामै छैन भन्न थाले । नयाँ घरमा सरेपछि उनलाई लास्ट चान्स भनें, एक महिनासम्म ठीक भयो, तर म बाहिर गएपछि घट्टेकुलोतिर आएर साथीहरूसँग बस्ने काम भयो । यी सब कारणले मलाई डिप्रेसन भयो । म मर्ने अवस्थामा पुगें ।
सम्पत्ति बराबर बाँड्ने, बच्चाहरूले जसलाई रोज्छन्, उनीहरूको इच्छा । बच्चाहरू जोसँग जान्छन्, उनीहरूले तीन खण्ड पाउने भन्ने कुरा भयो । बच्चाहरूले माया पाउनेतिर जान्छौं भन्दै मलाई अँगालो हाले । मैले ‘अर्धआमा’ भएर यी बच्चा हुर्काएँ । कोर्टमा गएर डिभोर्स गरौं भनें । ‘म आफ्नो इच्छाअनुसार चलिरहेकी छु । किन डिभोर्स दिउँ ? तपाईं जे गर्न सक्नुहुन्छ गर्नुस्’ भनिन् । त्यो अवस्थामा गर्न सक्ने भनेको आफू सुरक्षित हुनु हो । त्यो अवस्थामा छुट्टै रहने । कोर्टमा जाने कुरा भैसकेपछि बोरामा लत्ता कपडा राखेर बच्चाहरू सुतेको अवस्थामा उनी हिँडिन् । मैले बार्दलीबाट उनलाई हेरिरहें । जान्नँ, मेरा बच्चा यहीं छन् भन्लिन् र फर्कलिन् भन्ने मेरो मनमा लागिरह्यो, तर उनी नफर्की सरासर आफ्नो बाटो लागिन् । म महात्मा हुँ, मेरो दोषै थिएनन् म भन्दिनँ, तर हामीबीच सुमधुर सम्बन्ध रहेन ।
२०६५–०६६ को बीच उनी माहिली दिदीसँग बसिन् । उनकी माहिली दिदीको श्रीमान्को एक्सिडेन्ट भयो र पछि उहाँको डेथ नै भयो । त्यसपछि कञ्चन डेरा लिएर बसिन् । त्यहाँ सुरेश भन्ने व्यक्तिसँगै बसेको खबर पनि सुनें । भूकम्पमा त्यो घर भत्किएछ । त्यसपछि भगवतीबहालस्थित एक चिया र ड्रिङ्स पाइने पसलमा काम गरिरहेको देखें । सडकको बास भयो–भएन भन्ने कुरा मलाई थाहा भएन । सडककै बास भएको खानै नपाएको भन्ने कुरा होइन ।
अदालतमा डिभोर्सको फैसला भैसकेपछि म उनकी जेठी दिदीकहाँ गएँ । सहजीकरण गरिदिनुपर्यो भने । त्यसबाट स्थिति थप असहज भयो । डिभोर्स नदिने कुरा दिदीहरूको सल्लाहअनुसार नै भएको रहेछ । उनकी आमा आएपछि म गोपीकृष्ण पछाडि उहाँलाई भेट्न गएँ । शम्भु न्यौपाने मेरा जेठान हुनुहुन्छ, उहाँले पैसा दिनुपर्छ भन्नुभयो । मैले १० लाख रुपैयाँ दिन्छु भने । ‘१४ वर्ष सँगै सुत्यौं, १४ वर्षको १० लाख मात्र हुन्छ त ? भन्नुभयो । त्यो पैसा कहाँ हाल्ने भन्दा उहाँले आफ्नै खातामा हालिदिनु भन्नुभयो । त्यसबाट त पैसा व्यवस्थापन हुने देखिएन । दाइको खातामा राखेपछि कञ्चनले पाउने–नपाउने निश्चित नभएपछि पैसा दिने अवस्था रहेन । त्यो पैसा कञ्चनलाई दिनेमा म त्यतिबेला पनि थिए, अहिले पनि छु ।
(नेपाल आजले लिएको भिडियो अन्तर्वार्ताको सम्पादित अंश)
सडकमा फ्याँकिएकी स्वास्नीको चिन्ता किन गर्नु ? – कञ्चन शर्मा
तपाईंको विवाह कति वर्षको उमेरमा भएको हो ?
विवाह गर्दा म १८ र मोहन २५ वर्षको हुनुहुन्थ्यो ।
कसले गराइदियो ?
आफन्तहरूले गराइदिएका हुन् ।
मोहन रेग्मीले माइतीहरूकै उपस्थितिमा विवाह गरेको भन्नुभयो । तपाईं माइती छैनन् भन्नुहुन्छ । खास कुरा के हो ?
अब म दु:खी हँुदा, पिल्सिएका बेला कसैले सहयोग गरेनन् । त्यसैले म अझै पनि माइती छैनन् भन्छु ।
तपाईं रक्सी पिउनुहुन्छ भन्ने आरोप पनि छ नि ?
सडकमा फ्याकिएकी स्वास्नीले के गरी भनेर किन चिन्ता गर्नु ?
होइन, विवाह भएको केही समयपछि नै तपाईंले रक्सी पिउन थाल्नुभएको थियो रे ?
मैले त्यसरी बाहिर गएर कहिल्यै रक्सी पिएकी छैन । मोहनले नै मलाई ‘कम्पनी दे’ भनेर रक्सी ख्वाउँथ्यो । हामी सँगै एउटै टेबलमा बसेर रक्सी पिउँथ्यौं । अहिले मलाई धेरै आरोप लगाइरहेको छ । मलाई केही चाहिएको छैन । मेरो गाँस, बाँस, कपासको ब्यवस्था गरिदिए पुग्छ ।
तपाईंलाई डिभोर्सपछि १० लाख रुपैयाँ दिन तयार थिएँ भन्नुभएको छ । यो साँचो हो ?
त्यो सबै झूटो हो । मसँग कुनै कागजात छ्रैन, नागरिकता पनि छैन । लगाएको लुगामै मलाई सडकमा फ्याँकिएको हो । माइतीले के भने, दाइले के भने भन्ने कुरा होइन, यो उसको र मेरो कुरा हो । मलाई माना चामलको ब्यवस्था गरिदिए पुग्छ ।
तपाईं त सडकमा सात वर्ष नबसेको दाबी पनि छ उहाँको । भूकम्पका बेला फोन गर्नुभएको थियो रे ?
उसले मेरो कोठा भाडा तिरिदिएको थियो ? भूकम्पका बेला मैले कहाँ फोन गर्नु ‘राम राम..’ । म सँग गाडीभाडा तिर्ने पैसा थिएन, घरभाडा तिर्ने पैसा कहाँबाट आउनु ? हो, केही दिन म माहिली दिदीकहाँ बसें ।
कति समय दिदीकहाँ बस्नुभयो ?
एक–दुई महिनाजस्तो मात्र दिदीको सहारामा बसें । दिदीले पनि कति शरण दिनु ? आ–आफ्नो व्यवहार हुन्छ भनेर गुनासो गर्न थाल्नुभयो । अनि म त्यही बेलादेखि सडकमा छु ।
तपाईंको छोरासँग टक्सन गाडी पनि छैन रे ?
त्यस्तालाई कुटिल मान्छे भनिन्छ । मोहन रेग्मी ठ्याक्कै त्यही हो । मैले छोरालाई सडकमै भेटेको छु । गाडी पनि थियो । अहिले बेच्यो होला । त्यो कुटिल मान्छे हो ।
सुमन खरेल, टेलिभिजन कार्यक्रम प्रस्तोता
मैले पत्रकारिता गरेको ३३ वर्ष भयो । मेरो यति लामो करियरमा मलाई यही घटनामा सबैभन्दा बढी तनाव भयो । यो घटनाका कारण म खिन्न छु, सोसल मिडियामा नराम्रो हल्ला फैलियो । नराम्रो लाग्यो, त्यसले मलाई पनि दु:खी तुल्यायो । यस्तो बेला कसैले गरेको ३३ वर्ष लामो काम पनि बिर्सिंदो रहेछ । राम्रो काम कसैले सम्भँmदा रै’नछन् । अरूका कारणले दु:ख पाइयो । मैले प्रचण्डजीसँग प्रश्न गरेको थिएँ बीबीसीमा । त्यो चर्चित भयो, तर अहिले गरेको कामको खोइरो खन्न थालें । म यो देशमा केही गर्छु भनेर आएको छु । मेरो हेल्थ पनि त्यति ठीक छैन । आफ्नै देशमा केही गर्छु भनेर आएँ । त्यो पनि यस्तो अवस्थामा, तर उल्टो भयो । यदाकदा यस्तै हुन्छ । पत्रकारिता विश्वासमा चलेको हुन्छ । समाचार सूत्रमा विश्वास हुन्छ, पात्रप्रति विश्वास हुन्छ । त्यो धमिलो भैदिन सक्छ । मेरो डेढ घण्टा लामो कुराकानी भयो मोहनजीसँग । मैले यो प्रसंग दोहोर्याउन चाहेको छैन । हामी मोहनजीको पक्ष पनि देखाउँछौं । यो विवादमा आगो लगाउने काम होइन हाम्रो । हाम्रो काम बाटो देखाउने मात्र हो ।
-नरेन्द्र रौले/जनक तिमिल्सिना @ कान्तिपुर साप्ताहिक