धनुषा प्रहरीले सिके राउत सहित ३३ जनालाई पक्राउ

‘स्वतन्त्र मधेस गठबन्धन’ का संयोजक सिके राउतसहित ३३ जनालाई शुक्रबार धनुषा प्रहरीले पक्राउ गरेको छ । ‘रंगभेद विरोध दिवस’ अवसरमा गठबन्धनले आयोजना गरेको जुलुसमा सहभागी हुन शिवचोक आएका राउतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बाह्र बिघा रंगभूमि मैदानमा भेला भएका समर्थकहरु बाजागाजासहित नगर परिक्रमा गर्न निस्के लगतै प्रहरीले हस्तक्षेप गरेको थियो । यसक्रममा प्रहरी तथा गठबन्धन सम्बद्ध युवाबीच घम्सा घम्सी पनि भएको थियो । त्यहाँ पनि प्रहरीले केही युवकलाई नियन्त्रणमा लिएको थियो ।
कडा सुरक्षाबीच नगर परिक्रमा गरी रहेका सिके समर्थकहरुलाई जनकचोकमा कोणसभा गर्न दिइएको थिएन । पछि उनिहरु शिवचोकमा भेला भएका थिए । यस क्रममा शिवचोक आएका सिके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गठबन्धनका संयोजक राउतसहित ३ सय मधेसीलाई २०७१ मंसिर १० गते काठमाडौंमा पक्राउ गरेको विरोधमा गठबन्धनले मंसिर १० लाई रंगभेद विरोध दिवस मनाउने घोषणा गरेको छ । यस दिवसको अवसरमा मधेसका सम्पूर्ण जिल्लाहरुमा विरोध र्याली प्रदर्शन गर्ने कार्यक्रम थियो ।
प्रहरी नायव उपरीक्षक मनोज यादवले राउतसहित ३३ जनालाई नियन्त्रणमा लिएको स्वीकार गरे । यादवले शान्तिसुरक्षालाई लक्षित गरी राउतलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानपछि मुक्त गर्ने बताए ।@इकान्तिपुर |