ब्राजिलका स्टार स्ट्राइकर नेइमारलाई दुई वर्ष जेल सजाय, १ करोड युरोको दण्ड

रियो, १० मंसिर – ब्राजिलका स्टार स्ट्राइकर नेइमारलाई दुई वर्ष जेल सजाय सुनाउने स्पेनिस अदालतको निर्णयमाथि पहिलो पल्ट उनका बुबाले प्रतिक्रिया दिएका छन्।
नेइमारका बुबाले सञ्चालन गरेको एनएल कन्सल्टेन कम्पनीको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ, सन् २०१३ मा सान्तोषबाट क्लब स्थानान्तरण गर्दै बार्सिलोनामा अनुबन्धित हुँदा हाम्रो तर्फबाट कुनै वित्तिय अपराध भएको छैन। नेइमार निर्दोष छन।
स्पेनको अदालतले दुई दिनअघि मात्र वित्तिय अपराधको मामिलामा नेइमारलाई दुई वर्षको जेल सजाय र १ करोड युरोको दण्ड सजाय सुनाएको थियो। नेइमारको सम्पूर्ण आर्थिक कारोबार उनका बुबाले हेर्ने गर्छन्। अदालतले नेइमारका बुबा–आमा र बार्सिलोना क्लबका पूर्व अध्यक्षलाई पनि यो मुद्धामा अभियुक्त ठहर गरेको थियो।
नेइमारविरूद्ध स्पेनिस अदालतमा सर्बप्रथम मुद्धा इन्भेस्टमेन्ट समूह डिआइएसले दर्ता गराएको थियो। यो कम्पनीको नेइमारमाथि ४० प्रतिशतको आर्थिक अधिकार रहेको बताइन्छ। नेइमारलाई सान्तोषबाट बार्सिलोना ल्याउन डिआइएसको ठूलो हात थियो। तर क्लब स्थानान्तरणको बेला कम्पनीलाई कम पैसा दिएर पन्छयाउन खोजिएपछि डिआइएसले गत सेप्टेम्बरमा नेइमारविरूद्ध वित्तिय अपराधको मुद्धा दायर गरेको थियो। @ एजेन्सी |