पाकिस्तानी सेनाले भारतलाई दियो चेतवानी, दिल्लीमाथि संकट मडारिनेछ

इस्लामाबाद, १० मंसिर – पाकिस्तानले जम्मु कश्मीर सिमानामा भारतले गोलाबारी गरी अशान्ति मच्चाएको भन्दै यस्तो हर्कत सहेर नबस्ने चेतावनी दिएको छ।
पाकिस्तानी वायु सेनाका प्रमुखले भारतले कश्मीर विवादलाई लिएर युद्ध गर्न खोजेको पनि आरोप लगाएका छन्। भारतका यस गतिविधि उसैका लागि पनि उचित नहुने उनको भनाइ थियो। आफ्ना तीनजना सैनिक मारिएपछि पाकिस्तानको यस्तो चेतावनी आएको हो। बुधबार भारतीय सेनाले गरेको कारबाहीमा उनीहरू मारिएका थिए।
भारतले एकतर्फी रूपमा पाकिस्तानी सीमामा आक्रमण गरेको भन्दै वायु सेनाका प्रमुख सुहेल अमनले बिहीबार अब आफूहरू चुप लागेर बस्न नसकिने बताए। बुधबारको आक्रमणमा पाकिस्तान प्रशासित कश्मीरमा बसमा यात्रा गरिरहेका १२ जना सर्वसाधारण पनि मारिएका थिए। अमनले भने, यदि भारतले आफूलाई नियन्त्रणमा राख्छ भने ठिकै छ।
अन्यथा दिल्लीमाथि संकट मडारिनेछ। दिल्लीलाई कसरी तह लगाउनुपर्छ भन्ने कुरा पाकिस्तानी सेनालाई राम्ररी थाहा छ।’ भारतको आक्रमणलाई लिएर पाकिस्तानलाई कुनै डर पनि नभएको उनले बताए। भारतलाई संयमित हुन पनि उनले आग्रह गरे।
कश्मीर विवाद सुल्झाउनु दुवै देशको हितमा भएको भारतले पनि बुझ्नुपर्नेमा उनले जोड दिए। उनले भने, पाकिस्तानले युद्ध चाहँदैन। पाकिस्तानी सेनाको संयमतालाई कमजोरी कसैले पनि नठानोस्। यदि कसैले पाकिस्तानमा अतिक्रमण गर्न खोजे आफ्नो सेनाले उचित जवाफ दिने उनले स्पष्ट पारे। एजेन्सी