नयाँ शक्तिको तीन दिने बैठक सम्पन्न, १४ बुँदे समसामयिक प्रस्ताव पारित

८ मंसिर २०७३
नयाँ शक्ति पार्टी नेपालको २०७३ मङ्सिर ६, ७ र ८ गते दिन सम्म बसेको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ | बैठक द्वारा समसामयिक बिषयहरु उपर प्रस्तावहरु पारित गरेको छ |
१. पहिचान अधिकार तथा समानुपातिक समावेशी लोकतन्त्रको प्राप्ति र सुदृढीकरणका लागि भएका मधेसी थारु आदिवासी जनजाति लगायतको संविधान संशोधन सम्बन्धि २६ बुँदे मागसहितका आन्दोलनको नयाँ शक्ति पार्टी, नेपाल हार्दिक समर्थन र ऐक्यबद्धता प्रदर्शन गर्दछ । आन्दोलनका क्रममा भएका सहिदहरुप्रति सम्मान व्यक्त गर्दछ । आन्दोलनकारीहरुमाथि लगाईएका झूठा मुद्दा फिर्ता गर्न यो बैठक माग गर्दछ । आन्दोलनकारीहरुको उक्त मागको सम्बोधनको अभावमा मुलुकले शान्ति र विकास प्राप्त गर्न सक्दैन । तसर्थ संविधानको स्वीकार्यता aढाउन राज्यले गम्भीर पहल गरोस् भन्ने यो बैठक माग गर्दछ ।
२. संघीयता नेपाली राजनीतिको मर्म हो । पहिचान र सामर्थ्यका आधारमा संघीय संरचना निर्माण गर्ने कुरा संविधानसभाको राज्य पुनरसंचना तथा राज्य शक्तिको बाँडफाँड समिति र उच्चस्तरीय राज्य पुनरसंरचना आयोगको सर्वसम्मतिद्वारा स्वीकृत मापदण्ड र मान्यता हो । तसर्थ, सोही मान्यताका आधारमा र आन्दोलनरत पक्षहरुसँगको वार्ता र सहमतिका आधारमा सीमा, नाम र संख्या निर्धारण होस भन्ने यो बैठक माग गर्दछ ।
३. संविधानले तोकेबमोजिम नै आगामी २०७४ माघ ७ गते भित्रमा स्थानीय तह, प्रदेश र संघीय गरी तीनै तहको निर्वाचन सम्पन्न गर्न जरुरी छ । सोका निम्ति आवश्यक वातावरण तयार गरी तोकिएको अवधिभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्न यो बैठक जोडदार माग गर्दछ ।
४. स्थिरता र समावेशी विकास आजको आवश्यकता हो । नयाँ संविधानमा फेरि पनि अस्थिरता सिर्जना गर्ने संसदीय व्यवस्थाको निरन्तरताले सो मर्ममा कुठाराघात भएको छ । यसैगरी समानुपातिक अब नेपाली राजनीतिको आधारभुत मान्यता बन्न पुगेको छ । तसर्थ, पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थासहित स्थिरता र विकासको मार्ग प्रशस्त गर्न यो बैठक आग्रह गर्दछ ।
५. अभाव, महंगी, असुरक्षा, कालोबजारी, कमिशनखोरी, तस्करी, महिला हिंसा, दलित विरुद्धको अमानवीय व्यवहार र अराजकता वर्तमान राज्यका परिचय बनेका छन् । २१औैं शताब्दीको आजको समाजमा पनि उपरोक्त अवस्थाहरु विद्यमान हुनु र सोको निराकरणतर्फ राज्यको ध्यान नपुग्नु गम्भीर चासोका विषय हुन् । तसर्थ यो बैठक उपरोक्त अव्यवस्थाको अन्त्य गर्न गम्भीर ध्यानाकर्षण गराउँछ ।
६. महाविनाशकारी भूकम्प र पुननिर्माणको सवाल आज पनि चर्चाका विषय बनेका छन् । पीडितहरु चिसो वर्षादको झरी, खुला आकाश र च्यतिएका त्रिपालमा जीवन बिताउन बाध्य छन् । सोही हालतमा कतिपयको ज्यान पनि गैसकेको अवस्था छ । अर्कातर्फ राज्य संचालकहरुका लागि सोही मामला कमाई खाने र मागी खाने भाँडो बन्न पुगेको बिडम्वनापूर्ण अवस्था छ । यो बैठक सम्बद्ध पक्षको गम्भीर ध्यानकर्षण गराउँदै उक्त अवस्थाको अन्त्य गर्न माग गर्दछ ।
७. विस्तृत शान्ति सम्झौता सम्पन्न भएको एक दशक पूरा भएको छ तर शान्ति प्रक्रियाका बाँकी काम तथा संक्रमणकालीन न्यायका मामला आज पनि जस्ताकोतस्तै छन् । संक्रमणकालीन मामलाका रुपमा रहेका सहिद, बेपत्ता परिवार, घाईतेहरु र बहिर्गमित जनमुक्ति सेनाका मामला बिस्तृत शान्ति सम्झौताको मान्यता र संक्रमणकालीन न्यायका सिद्धान्तका आधारमा गर्नुका साथै द्वन्द्वकालीन मुद्दाहरु शान्ति प्रक्रियाको मर्मबमोजिम समाधान गर्न यो बैठक जोडदार माग गर्दछ ।
८. सदाचार र सुशासन आजको आवश्यकता हो तर समाज, राज्य र सरकार भ्रष्टाचारबाट आक्रान्त छ । यो बैठक भ्रष्टाचारको अन्त्यसँगै सुशासन र सदाचारको व्यवस्था कायम गर्न माग गर्दछ । बहुचर्चित लोकमान प्रकरण, नियुक्तिदेखि महाअभियोगसम्म देखा परेका संस्थागत, नीतिगत र भ्रष्टाचार सबैका सामू छर्लङ्ग छ । कुनै पनि बहानामा हुने भ्रष्टाचारजन्य गतिविधि नयाँ शक्ति पार्टीका निम्ति अमान्य छ । भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताका आधारमा राज्य अगाडि बढोस् भन्ने यो बैठक हार्दिक माग गर्दछ गर्दछ ।
९. गरिब, किसान, मजदुर आज कष्टपूर्ण जीवन बिताउन बाध्य छन् तर राज्य सांसदहरुको तलब भत्ता दोब्बर पार्नमा व्यस्त छ । राज्यका यसप्रकारका व्यवहारप्रति घोर भर्त्सना गर्दै उत्पीडित जात जाति र श्रमजिवी वर्गलगायत गरिब, किसान, मजदुरहरुको दयनीय अवस्थातर्फ राज्यको गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरुका लागि उचित राहतको व्यवस्था गर्न गम्भीर ध्यानकर्षण गराउन चाहन्छ ।
१०. नेपाल भारत सम्बन्धलाई पुनरावलोकन गर्ने सन्दर्भमा गठन भएको प्रबुद्ध समूह समावेशी चरित्रको नभएको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समूहलाई बदलिदो राजनैतिक सम्बन्ध, समानता र आपसी हितका आधारमा सम्बन्ध विकसित गरियोस् भन्ने जोडदार माग गर्दछ ।
११. वैदेशिक रोजगारमा विदेशिएका र विदेशी भूमिमा अलपत्र परेका नेपाली नागरिकहरुलाई सकुशल उद्दार गर्न र सम्मानजनक स्वदेश फिर्ता गर्न तथा विदेशमा रहेका नेपालीहरुले आफू रहेकै स्थानबाट अनलाईनमार्फत वा सम्बन्धित दूतावासमार्फत मतदान गर्न पाउने व्यवस्था नेपाली नागरिकको मताधिकारको रक्षा गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउँछ ।
१२. उपचार खर्चका नाममा राज्यको ढुकुटी रित्याउने कामप्रति नयाँ शक्ति, पार्टी नेपाल गम्भीर आपत्ति व्यक्त गर्दै उक्त कार्य अविलम्ब बन्द गर्न र आधारभूत स्वास्थ्यको अभावमा अकालमा ज्यान गुमाउन बाध्य जनताको स्वास्थोपचारप्रति ध्यान पुर्याउन यो बैठक जोडदार माग गर्दछ ।
१३. स्थानीय तहको पुनरसंरचनाबारे सरकाले एकात्मक मानसिकताका आधारमा पहिचान र अधिकारलाई कुण्ठित गर्ने गरी कार्यादेश दिई आयोग गठन गरेको र सोही बमोजिम काम थालनी गरेको कारणले स्थानीय तहको पुनरसंरचना संघीयताको मर्म अनुकुल हुन गइरहेको छैन भन्नेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै प्रदेशको सीमा विवाद अन्त्य नभइसकेका अवस्थामा हुँदै गरेको यो कार्य तथा संघीयताको मर्म बमोजिमका विषेश क्षेत्रको अस्तित्व नामेट पार्ने कार्यप्रति यो बैठक आपत्ति प्रकट गर्दछ र स्थानीय तहको पुनरसंरचना संघीयताको मर्म बमोजिम होस् भन्ने माग गर्दछ ।
१४. वैकल्पिक राजनीति आजको यथार्थ हो भन्ने तथ्यलाई आत्मसात गर्दै, ‘अबको निकास आर्थिक विकास’ आज झनझन समाजको आवश्यकता बन्दै गएको छ । समावेशी विकास र आर्थिक समृद्धि आजका मुख्य विषय हुन् । यसतर्फ सबैको गम्भीर ध्यानाकर्षण गराउँदै नयाँ शक्ति पार्टीमा आवद्ध भै सम्मृद्ध नेपाल निर्माण गर्ने दिशामा आवश्यक योगदान गर्न यो बैठक सबैमा हार्दिक अपिल गर्दछ ।
खिमलाल देवकोटा
प्रवक्ता