बौद्धनाथको पुनर्निर्माण कार्य सम्पन्न

भूकम्पबाट क्षतिग्रस्त कतिपय सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माण कार्यले गति लिन नसकिरहेका बेला स्थानीयबासिन्दाको अगुवाईमा काठमाण्डूको बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकिएको छ।
एउटा विशेष कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले मंगलबार उक्त महाचैत्यको उद्घाटन गर्दै पुनर्निर्माणको एउटा महत्वपूर्ण कार्य सम्पन्न भएको उल्लेख गरे।
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले सरकारको कुनै आर्थिक सहयोग बिना नै जनसहभागितामा बौद्धनाथको पुनर्निर्माण सफलतापूर्वक सकिएको बताए।
तीन दिनको पूजापछि आयोजित विशेष समारोहमाझ प्रधानमन्त्री प्रचण्डले बौद्धनाथको उद्घाटन गरे।
सन्देश
राज्यको तर्फबाट भइरहेका पुनर्निर्माण कार्यलाई धेरैले ‘कछुवा गति’को संज्ञा दिइरहेका बेला संयुक्त राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत बौद्धनाथको पुनर्निर्माण सम्पन्न भएकोमा प्रधानमन्त्री प्रचण्डले मुक्तकण्ठले प्रशंसा गरे।उनले भने, “संसारले देख्ने गरी, संसारलाई एउटा सन्देश दिने गरी पुनर्निर्माणको काम बौद्धनाथ महास्तुपबाट भएको छ।”
विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेका अन्य सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा ठोस प्रगति हुन नसकेको भन्दै गुनासो बढ्दै गएका बेला स्थानीयबासिन्दाको सक्रियतामा बौद्धनाथको पुनर्निर्माण सम्पन्न हुनुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन्।
झण्डै २३ करोड रुपैयाँको लागतमा निकै महत्वपूर्ण उक्त महाचैत्यको पुनर्निर्माण कार्य सरकारी पक्षको आर्थिक सहयोग बिना नै कसरी सम्पन्न भयो त?
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले, “सरकारको मात्रै मुख ताकेर बस्नुपर्छ भन्ने एउटा मानसिकता जो हामीहरुबीचमा त्यसबाट पनि हामीहरुले मुक्ति पाउनुपर्छ। हामीले पनि आफ्नो समुदायको तर्फबाट कोशिस गर्नुपर्छ भनेर हामी यसमा लाग्यौँ। स्थानीय संघ संस्थाहरु, स्थानीयबासिन्दाहरु सबैको समर्थनबाट काम गर्दै जाँदा बौद्ध स्तुपको पुनर्निर्माण गर्न सफल भयौँ।”
स्वरुप
तर एकातर्फ बौद्धनाथको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरिएकोमा वाहवाही भइरहँदा आधुनिक सामाग्रीको प्रयोग एवम् पहिलाको भन्दा स्वरुप केही परिवर्तन भएको भन्दै चिन्ता पनि व्यक्त गरिएका छन्।
बीबीसीसँगै कुरा गर्दै युनेस्कोका नेपाल प्रतिनिधिले पुनर्निर्माणमा आफूहरुको सुझावलाई पूर्णरुपमा पालना नगरिएको दाबी गरेका थिए।
तर पुनर्निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराएको बताउने पुरात्व विभागका महानिर्देशक भेषनारायण दाहाल उक्त दाबी स्वीकार्न तयार देखिँदैनन्।
उनी भन्छन्, “हामीले हाम्रा इन्जिनियर नै खटायौँ र बेलाबेला हामीले निरीक्षण गर्यौँ। हामीलाई पनि एक दुईजनाले भने तर हामीले गएर हेर्दा खेरी त्यो किसिमको प्रत्यक्षरुपमा सिमेण्टको, कंक्रिटको प्रयोग भएको हामीले पाएनौँ।”
क्षतिग्रस्त अन्य सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको द्रुत पुनर्निर्माणका लागि बौद्धनाथ एउटा गतिलो उदाहरण बन्न सक्छ। @ बीबीसीनेपाली |