तामाङ वस्तीमा जागरण अभियान सञ्चालन गर्न सबै तयारी – मोहन गोले तामाङ

याम्बु – नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले तामाङ जागरण अभियानको लागि आफूले खुट्टा उचालि सकेको बताउँदै टेक्ने जमीन मागेका छन् । शनिबार घेदुङ हलमा उपत्यका स्थित विभिन्न तामाङ संघ÷संस्थाहरुसँगको अन्तरक्रिया कार्यक्रम मार्फत उनले यस्तो आग्रह गरेका हुन् ।
तामाङको वस्ती वस्तीमा जागरण अभियान सञ्चालन गर्नको लागि घेदुङले सबै तयारी पुरा गरेको गोलेले बताए । ‘हामीले खुट्टा उचालि सक्यौ, अब तामाङ वस्तीमा टेक्ने जमीन दिनुहोस्’, उनले भने– ‘म यहाँको भूगोलप्रति अलि अपरिचित छु, तपाईहरुले तामाङ वस्तीमा जाने बाटाहरु देखाई दिनोस्’ ।
भावुक मुद्रामा प्रस्तुत भएका गोलेले आफ्नो २ बर्ष मात्रै तामाङ वस्तीमा छिर्न पाए जालीफटाहाहरुको सातोपुत्लो उडाउने शक्ति निर्माण हुने दाबी गरे । यसको लागि घेदुङलाई सबैको साथ र सहयोग चाहिएको उनको आग्रह थियो ।
तामाङ जागरण अभियान अन्तर्गत सामाजिक÷साँस्कृतिक, राजनीतिक प्रशिक्षण दिने, घेदुङको संगठन निर्माण गर्ने र तामाङ घेदुङ र तामाङ समुदाय बीच एउटा नयाँ सम्बन्ध विकास गर्न चाहेको उनले प्रष्ट पारे । काठमाडौ उपत्यकाबाट १० किलोमिटर वरपर अझैपनि घेदुङको नाम नसुन्ने तामाङ गाउँहरु छन् भन्दा आफूलाई अचम्म लागेको उनको भनाई थियो ।
ताम्सालिङ क्षेत्रमा संगठन विस्तार गर्न नसक्नु नै प्रमूख कमजोरी रहेको उनले औल्याए । दुई बर्षमात्रै अभियान सञ्चालन गर्न सकियो भने तामाङ समाजमा भिन्न चेतनाको विकास हुने उनको दाबी थियो । उनले भने– ‘यसबाट तामाङहरु निदाएका बाघ रहेछन् भन्ने सकारात्मक सन्देश प्रवाह भई तामाङमाथि विभेद, शोषण गर्नेहरुको होसहवास् उड्नेछ’ ।
अध्यक्ष गोलेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेपछि संघ÷संस्थाका प्रतिनिधिहरुले क्रमशः आआफ्नो धारणा राखेका थिए । उनीहरुले अभियान सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको घेदुङका महासचिव बाबु घिसिङले बताए ।
कार्यक्रममा उपत्यकाभित्रका तामाङ वस्तीहरुमा तत्कालै तामाङ जागरण अभियान सञ्चालन गर्ने, पुष ११ गते काठमाडौंमा शक्ति प्रदर्शन सहितको बृहत् ताम्सालिङ भेला सम्पन्न गर्ने र सोनाम ल्होछार पर्वलाई भब्य रुपमा मनाउने निर्णय गरेको घेदुङले जनाएको छ । @ नेपाल तामाङ घेदुङ डट ओआरजी |