कुलमान घिसिङको अप्रत्यासित चमत्कार !!

आजभोलि धेरै चर्चा र जनताको स्नेह प्राप्त गर्ने नाम हो विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ । कुलमान नेपाली जनताबीच एक चामत्कारिक व्यक्तित्वका रुपमा देखिनुभएको छ । अपार जलस्रोतको धनी राष्ट्र नेपालमा लोडसेडिङको प्रहारले त्रसित जनतामा एक आशाको किरणको रुपमा कुलमानको उदय भएको छ । कुलमान घिसिङको दक्षता, अनुभव र राष्ट्रप्रतिको इमानदारीले के देखियो भने नेपालको बेहाल सही व्यक्ति सही स्थानमा नपुग्नु नै रहेछ भन्ने कुरा प्रमाणित भएको छ । नेपालमा जुन दिन सही व्यक्तिलाई उचित सम्मानका साथ स्थान दिने परम्पराको निर्माण हुन्छ, त्यो दिनदेखि नेपाल स्वर्णिम युगमा प्रवेश गर्ने अवश्यम्भावी छ ।
पूर्ण रुपमा न भए पनि आज भारतले जुन उचाइ प्राप्त गरेको छ त्यसमा सही व्यक्तिलाई उचित स्थान दिने परम्पराका कारण सम्भव भएको हो । स्मरण रहोस् भारतका भूतपूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई रिजर्व बैङ्कको गभर्नरबाट अवकास पाएपछि उहाँको कार्यकुशलताको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री राजिव गान्धीले गैरराजनीतिज्ञ मनमोहन सिंहलाई भारतको अर्थतन्त्र सुधारका निमित्त टपक्क टिपेर अर्थमन्त्री बनाएका थिए । आज भारतको अर्थतन्त्रमा जेजस्तो बढोत्तरी देखिएको छ त्यसको सुरुवात गर्ने श्रेयका हकदार मनमोहन सिंहद्वारा अवलम्बन गरिएको आर्थिक नीतिका कारण नै सम्भव भएको हो ।
कुशल व्यवस्थापनका कारण लोकप्रिय बनेका कुलमान घिसिङको एक समय राम्राभन्दा हाम्राको परम्पराले अपमान सहनु परेको थियो । उहाँको अवमूल्यन गर्दै तत्कालीन एमाले कोटामा ऊर्जामन्त्री पद प्राप्त गर्न सफल राधा ज्ञावालीले ठाडो हस्तक्षेप गर्दै चिलिमे जलविद्युत् आयोजना सञ्चालक प्रमुखबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेकी थिइन् । खिलराज मन्त्रीमण्डलका ऊर्जामन्त्री उमाकान्त झाले पनि घिसिङलाई हटाउने निर्णय गरेका थिए तर त्यसको चौतर्फी विरोधका कारण हटाउने निर्णय फिर्ता लिनुपरेको थियो । चिलिमे जलविद्युत् आयोजनामा नियुक्तिपछि घिसिङले निष्कृय अवस्थामा रहेको उक्त आयोजनालाई गतिशील बनाउँदै सेयर विषयमा रसुवाबासीसँग रहेको विवाद समाधान गरे । यही कारण बजारमा चिलिमेको सेयरको मूल्य उच्चतामा पुगेको छ । चिलिमेको सेयर मूल्यलाई उच्चसम्म पु¥याउने श्रेयका हकदार कुलमान घिसिङ नै हुन् ।
घिसिङले प्राविधिक कार्यक्षमता तथा इमानदारीपूर्वक सुशासन प्रस्तुत गरेका कारण चिलिमे आयोजनाले अन्तर्राष्ट्रिय प्रमाण चिन्ह तथा लेखा परीक्षण अवार्ड प्राप्त गर्न सफल भएको छ । चिलिमे जलविद्युत् आयोजनाबाट घिसिङलाई हटाउने निर्णयप्रति प्राधिकरणमा कृयाशील रहेका पाँच ट्रेड युनियनले तात्कालीन एम.डी. रामचन्द्र पाण्डेलाई भेटी घिसिङको पदावधि थप्न आग्रह गरेका थिए भने कम्पनी सञ्चालक तुलसीराम ढकालले उत्कृष्ट कार्य गर्ने घिसिङको पदावधि नथप्नु दुर्भाग्यपूर्ण भएको अभिव्यक्ति दिएका थिए । घिसिङले चिलिमे सञ्चालक समितिमा उनको पदावधि थप गर्न एजेन्डासमेत पठाएका थिए । तर निर्वाचित ४ सदस्य सहित बहुसङ्ख्यक सदस्य घिसिङको पक्षमा भए तापनि पदावधि थप्ने विषय बैठकमा नराखी ४ वर्षे कार्यकाल पूरा भएको बहानामा घिसिङलाई फिर्ता बोलाउने निर्णय गरिएको थियो । सन् २००३ मा सम्पन्न २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना ८ वर्षसम्म कुनै प्रगति हुन नसक्दा चिलिमे जलविद्युत् कम्पनीको सञ्चालकको रुपमा प्राधिकरणले घिसिङलाई पठाएका थिए । उत्कृष्ट कार्य गर्दासमेत ऊर्जामन्त्री राधा ज्ञावालीले कुलमान घिसिङलाई पुरस्कृत गर्नुको सट्टा कुलमान घिसिङप्रति कठोर निर्णय गर्नुको कारण पुरातन मानसिकताको धङधङी नै मुख्य हो ।
नेपाल विकास हुन नसक्नुको मुख्य कारकतत्व कुशल व्यवस्थापन अभाव रहेछ भन्ने कुरा कुलमान घिसिङले प्रमाणित गरिदिएका छन् । नेपालको राजनीति, विकास, कानुनि राज्यको स्थापना गर्न कुलमान घिसिङ जस्तै होनहार राष्ट्रभक्त छानेर पदस्थापन गर्न सकिए नेपाल विकासशील राष्ट्रमा सूचीकृत हुन समय लाग्ने छैन । तर दुर्भाग्य राज्यको बागडोर सम्हालेर बसेका नेताहरु राष्ट्रभन्दा पार्टी ठूलो भन्ने मानसिकताबाट उठ्न नसक्नुको कारण नेपाल गरिब एवं निरिह राष्ट्रमा परिणत भएको छ । नेपाल सानो देश भए पनि कुनै कोणबाट गरिब एवं निरिह छैन । नेपाल गरिब एवं निरिह हुनुमा देश हाँक्ने नेताहरुको दरिद्र मानसिकता नै प्रमुख कारण हो । इमानदार र बहादुर नामले विश्व प्रसिद्धि प्राप्त गरेका नेपाली जनता ईश्वर प्रदत्त सम्पूर्ण कुरोले परिपूर्ण भएर पनि कहिलेसम्म निरिह एवं कमजोर भएर बस्ने ? नेपालका असफल तथा अदूरदर्शी नेताहरुले नेपाल राष्ट्रलाई कहिले पनि सबल बनाउन सक्दैनन् भन्ने कुरा क्रमशः प्रमाणित भएको छ । नेपाललाई समृद्ध एवं शक्तिशाली राष्ट्र बनाउन राष्ट्रभक्त नेपाली जनताले दरिद्र एवं दास मानसिकता बोकेका नेतालाई बहिष्कृत गरी राष्ट्रभक्त, इक्षाशक्तियुक्त, इमान्दार दूरदर्शी व्यक्तित्वलाई उचित सम्मानका साथ उचित स्थानमा पदस्थापन गर्नुपर्छ ।
डाँडाखर्क, दोलखा