भुटानका पत्रकारले फेसबुकमा पोष्ट सेयर गर्दा यसरी लगायो मुद्दा

मंसिर ४, काठमाडौं : भुटानमा एक पत्रकारलाई फेसबुक पोस्ट सेयर गर्दा मानहानीको मुद्दा परेको छ। पत्रकार नाम्गे जामलाई एक व्यापारीले मानहानीको आरोप लगाउँदै मुद्दा हालेका हुन्।
सरकारी भुटान प्रसारण सँस्थाकी पूर्वकर्मचारी जामले गत अगस्ट १० मा फेसबुकमा एउटा पोस्ट सेयर गरेकी थिइन्। एक २६ वर्षीय डाक्टर साचा वाङ्मोले व्यापारी एपी सोनाम फुन्ट्सोसँगको आफ्नो पारिवारिक सम्पत्ति विवादबारे लेखेको अनलाइन मागपत्र जामले आफ्नो फेसबुकमा मानवीय चासोको विषय भन्दै सेयर गरेकी थिइन्।
अगस्ट १२ मा जामले सेयर गरेपछि पोस्ट भाइरल बनेको र आफ्नो मानी हानी भएको भन्दै व्यापारी फुन्ट्सोले करिब २५ लाख भुटानी नल्ट्राम क्षतिपूर्ति माग गर्दै मुद्धा हालेका थिए। झण्डै ४० लाख नेपाली रुपैँयाबराबरको सो बिगो भुटानमा उच्चस्तरको कर्मचारीको वार्षिक तलबभन्दा १० गुणा बढी भएको जनाइएको छ।
यो मुद्धामा दोषी पाइएमा उनी क्षतिपूर्ति तिर्न नसक्दा ३ वर्षसम्म जेल पर्ने जनाइएको छ। उक्त मुद्धा चलेपछि भुटानमा प्रेस स्वतन्त्रताको अवस्थाको विषयमा चर्चापरिचर्चा सुरु भएको छ भने भुटानको मात्र नभई विश्वभरको पत्रकार जगत जामको पक्षमा उभिएका छन्।
सन् २००८ मा भुटानमा पहिलो चुनाव आम चुनाव भएको थियो, तर त्यसयता पटकपटक प्रेस स्वतन्त्रतामा लगाम कस्ने काम भएबाट प्रजातन्त्र खतरामा परेको जाम र उनका समर्थकहरुको भनाई छ। सामाजिक सञ्जालमा सक्रिय भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले भने आफू यस विषयमाथि ‘जीवन्त चर्चा’ गर्नुपर्ने पक्षमा रहेको र अदालतबाट ऐतिहासिक फैसला हुने आशामा रहेको बताएका छन्।
तर कुरा यतिमै टुंगिँदैन। भुटानका प्रधानन्यायधीश यही मुद्धाका एक पक्ष व्यापारी फुन्ट्सोका ज्वाईं हुन्। जामले सेयर गरेको अनलाइन मागपत्रमा न्यायपालिकामा नातावाद हावी रहेको आरोप पनि लगाइएको थियो। त्यसैले यो मुद्धा अझ पेचिलो बनेको छ। @ एजेन्सी