दिदीको ससुराले बलात्कार गरेपछि ….

काठमाडौं, मंसिर २ – नुवाकोटकी २० वर्षीया सीता नाम परिवर्तन गत वर्ष दसैंको दिन कात्तिक ९ गते टीका लगाउन घर आउँदै गरेका दिदीका ससुराका लागि खाना तयार गर्दै थिइन्। परिवारका अरु सदस्य मामाघर गएकाले उनी घरमा एक्लै थिइन्।
दिदीका ससुरा घरमा कोही नभएका बेला टुप्लुक्क आइपुगे। सीता भान्छामा खाना पकाउन जाँदा ५५ वर्षीय ससुरा पनि पछ्याउँदै पुगे। त्यहाँ उनले सीताका संवेदनशील अंगमा छुने, टोक्नेमात्र गरेनन्, जबर्जस्ती करणीसमेत गरे। चिच्याउँदा दिदीका ससुराले मेरो मुख थुनेर मार्ने धम्की दिनुभयो, काठमाडौंमा भेटिएकी सीताले रुँदै भनिन् दिदीका ससुरा घरबाट बाहिर निस्केपछि मैले रुँदै मामाघरमा गएका आमाबुवालाई फोन गरेर सबै कुरा भनें। त्यति बेला सीता भर्खरै १९ वर्षमा टेकेकी थिइन्।
आफन्त र समाजका केही अगुवाले यो विषय सामसुम पार्न ससुरासँग मिलेर जान सुझाए तर एसएलसी दिएकी आँटिली सीतालाई यौन हिंसा चुपचाप सहन मनले मानेन र उनी उजुरी दिन जिल्ला प्रहरी कार्यालय पुगिन्।
तत्कालीन डिएसपीले उजुरी दर्ता गर्नुभन्दा पनि पैसा लिएर मिलाउन सुझाएपछि सीता छाँगाबाट खसेझैं भइन्। तर पनि उनले कसैको वास्ता नगरी बुवाआमाको सहयोगमा निवेदन दर्ता गराइन् अनि जिल्ला अदालतमा मुद्दा पनि दर्ता गराइन्।
सीतालाई तब निकै दुःख लाग्यो जब मुद्दाको फैसला पीडक ससुराकै पक्षमा भयो। ससुरा एमालेका नेता भएको र आर्थिक रुपले समेत बलियो भएकाले उनले मुद्दा जिते। सीताको परिवार आर्थिक रुपमा कमजोर भएकाले मुद्दाको पुनरावेदन गर्न सकेको छैन।
ुअहिले मलाई घरपरिवार र गाउँलेले समेत नकारात्मक दृष्टिले हेर्ने र कुरा गर्ने भएकाले घर जान सकेकी छैन। मानसिक तनावका कारण पढाइ पनि अघि बढाउन सकिएन, सीताले पीडा पोखिन्, महिला हिंसासम्बन्धमा काम गर्ने सरकारी तथा गैरसरकारी थुप्रै संस्था गाउँमा छन् तर सबै चुप छन्। उनले सोधिन्, मैले कहिले न्याय पाउने ? @ नागरिक