एएफसी सोलिडारिटी कप फुटबल विजेता टोली स्वदेश फिर्ता ,विमानस्थलमा भव्य स्वागत

काठमाडौँ, १ मङ्सिर – मलेसियामा मङ्गलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली आज राति स्वदेश फर्किएको छ। नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीले स्वागत गर्नुभयो।
स्वदेश फर्किएलगत्तै नेपाली टोलीलाई एन्फाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्याली सहित गौशाला–बत्तिसपुतली-मैतीदेवी-पुतलीसडक–घन्टाघर–सहिद ढोका –नयाँ सडक– दरबारमार्ग–त्रिपुरेश्वर–थापाथली–कुपन्डोल–पुल्चोक–मङ्गलबजार–ग्वार्को हुँदै एन्फा कम्प्लेक्स लगेको छ।
विजेता टोलीलाई सरकारले जनही रु तीन तीन लाख दिने निर्णय मङ्गलबार नै गरेको छ। प्रतियोगिता अन्तर्गत नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। फाइनलमा भने मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो।
यससँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ। गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद ९साग०मा पनि विजेता बन्यो। ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ (फिफा) ले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन। बङ्गबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि (यु–२३) को टोलीलाई हराएको थियो। @रासस